हतारमा काजकिरिया गर्दा मृत्यु दर्तामा समस्या

लमजुङ । बेपत्ता भएकी ८० वर्षीय वृद्धको परिवारजनले राम्रोसँग खोजतलास नगरी काजकिरिया गर्दा मृतकको मृत्यु दर्ता गर्न कठिन भएको छ । सुन्दरबजार नगरपालिका–१ कुन्छ निवासी ८० वर्षीय जीवनाथ गौलीको मृत्युदर्तामा समस्या भएको हो ।

एक्लै, लौरोको सहाराबिना राम्रोसँग हिँडडुलसमेत गर्न नसक्ने ती वृद्ध गत ४ भदौमा बिहान घरबाट निस्केर हिँडेका थिए । तर, त्यसको पर्सिपल्टै ६ भदौमा परिवारजनले काजकिरियाको काम गरेका थिए । यतिबेला भने उनको मृत्यु दर्ता गर्न वडा कार्यालयले नमानेर कठिन भएको परिवारजनको भनाइ छ ।

४ भदौमा घरमै श्रीमतीलाई अटो रिक्सा मगाउन लगाएर वडा कार्यालय गएर आउँछु भनेर गौली हिँडेको तर कुन्छा भन्ज्याङबाट गाडी चढेर लमजुङकै प्रवेश नाका पाउँदी बजारमा ओर्लिएर त्यहाँ रहेका आफन्तजनसँग भेटघाट गरी अपराह्न ४ बजेसम्म बसेर हिँडेपछि घरमा नफर्किएको उनकी श्रीमती कोषकुमारी गौलीले बताइन् । ‘तर, गाउँघरका मान्छेले भोलिपल्ट खोजेझैं गरे र पर्सिपल्ट मस्र्याङ्दी नदी किनारमा उहाँको लौरो टोपी आदि फेला परेपछि उनी छैनन् भन्ने ठहर गरी गाउँलेकै सल्लाहमा ६ भदौदेखि काजकिरिया सुरु गरियो,’ गौलीकी श्रीमती कोषकुमारीले भनिन् ।

श्रीमान् आजका दिनसम्म फर्केर नआएको तर अब त मृत्युदर्ता गर्नुप¥यो भनेर वडा कार्यालयमा जाँदा वडा कार्यालयले प्रहरीले बूढालाई बेपत्ताको सूचीमा राखेको छ, मृत्यु दर्ता गर्न मिल्दैन भनेर आफूहरूलाई फिर्ता पठाइदिएको श्रीमती कोषकुमारीले जानकारी दिइन् ।

उनका अनुसार त्यो रेकर्ड कुन्छा क्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय भेटेओडार, लमजुङमा रहेको छ । ‘प्रहरीले मृत्यु भएको भन्ने पत्र लेखेर नदिँदासम्म वडा कार्यालयले मृत्यु दर्ता नगर्ने भयो, हामी अन्योलमा छौं,’ कोषकुमारीले भनिन् । ८० वर्षीय गौली यो समाचार तयार गर्दासम्म घरमा फर्केका छैनन् भने उनको शव पनि फेला परेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु: हितेन्द्रदेव शाक्य