काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अदालत अवहेलनाको मुद्दामा सर्वोच्च अदालतले मंसिर ७ गते पेसी तोकेको छ ।
गत कात्तिक १६ गते सर्वोच्च अदालतले सरकारले विदेशी राजदूतहरू फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर त्यसको भोलिपल्ट, कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई पुनः फिर्ता बोलाएको भन्दै अधिवक्ता प्रेमराज सिलवालले अदालतको आदेश अवहेलना भएको दाबी गर्दै रिट दायर गरेका थिए ।
सिलवालले दायर गरेको सोही रिटको प्रारम्भिक सुनुवाइका लागि मंसिर ७ गतेको मिति तय भएको सर्वोच्च अदालतले जानकारी दिएको छ । सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मंसिर ७ गते अदालतले मुद्दामा प्रारम्भिक सुनुवाइ गर्नेछ ।






