बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला

पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि मिडियासँग कुरा गर्दै अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लाम । तस्बिरः रासस–एजेन्सी

ढाका । बंगलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई–अगस्टमा विद्यार्थी विद्रोहका क्रममा ‘मानवताविरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ –आईसीटी–१) ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ढाका ट्रिब्युनका अनुसार न्यायाधिकरणले हसिनालाई मानवताविरुद्ध अपराधका पाँचवटै अभियोगमा दोषी ठहर गर्दै उनको आदेश, उक्साहट र नियन्त्रणमा असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ । अदालतले हसिना, पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको र सक्षम पारेको ठहर गरेको हो ।

७८ वर्षीया शेख हसिना हाल भारतमा निर्वासनमा रहेकी छन् । उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो । असदुज्जमान पनि भारतमै रहेको विश्वास गरिन्छ । उनीहरू दुवै जनालाई फरार अभियुक्त घोषित गरिएकाले मुद्दा अनुपस्थितिमै अघि बढाइएको थियो ।

अदालतलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, ‘अभियुक्त शेख हसिनाले आफ्नै उक्साहटपूर्ण आदेशहरूमार्फत मानवताविरुद्ध अपराध गर्नुभयो र आरोप नं १ अन्तर्गत रोकथाम तथा दण्डात्मक कदम लिन असफल हुनुभयो ।’

विशेष न्यायाधिकरणले थप जनाएको छ, ‘आरोप नं २ अन्तर्गत उहाँले ड्रोन, हेलिकोप्टर र घातक हतियार प्रयोग गर्न आदेश दिनुभएको थियो, जसले मानवताविरुद्ध अपराधलाई आकार दियो ।’ बंगलादेश टेलिभिजनले मुख्य न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको ३ सदस्यीय बेन्चबाट फैसला प्रत्यक्ष प्रसारण गरेको थियो । बेन्चका अन्य २ सदस्यमा न्यायाधीश मोहम्मद सोफिउल आलम महमुद र न्यायाधीश मोहम्मद मोहितुल हक इनाम चौधरी रहेका थिए ।

एक मात्र हिरासतमा रहेका अभियुक्त, पूर्वप्रहरी प्रमुख मामुनलाई सोमबार बिहान अदालत ल्याइएको थियो । उनी यसअघि नै दोषी ठहर भइसकेका छन् र राज्यका साक्षी बनेका छन् । फैसलाअघि अदालत परिसर तथा वरिपरि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको थियो । केही पीडितका परिवारहरू त्यसै दिन अदालतमा उपस्थित भएर कडा सजायको माग गरेका थिए ।

आईसीटी–१ ले पाँचवटा अभियोगमा अभियुक्तहरूलाई दोषी ठहर गरेको छ । जसमा ढाकामा प्रदर्शनकारीहरूको सामूहिक हत्या, भीडमाथि गोली चलाउन ड्रोन र हेलिकोप्टर प्रयोग, विद्यार्थी कार्यकर्ता अबु सैयदको हत्या, आसुलियामा शव जलाएर प्रमाण नष्ट गर्ने र चन्खरपुलमा विद्यार्थीहरूको समन्वित हत्या समावेश छन् । मुद्दाको औपचारिक कागजात ८ हजार ७ सय ४७ पृष्ठका रहेका छन्, जसमा सन्दर्भहरू, जफत सामग्री तथा पीडितहरूको विस्तृत विवरण समावेश छ ।

हसिनाले १४ जुलाई २०२४ मा गणभवनमा पत्रकार सम्मेलनमार्फत गरेको उक्साहटपछि कानुन प्रवर्तन निकाय र सत्तारूढ दलका कार्यकर्ताहरूले विद्यार्थीहरूलाई लक्षित गरी व्यवस्थित आक्रमण गरेको अभियोजन पक्षको आरोप छ । ढाका ट्रिब्युनका अनुसार अदालतले हसिना, कमल र मामुनले यी आक्रमण उक्साएको, निर्देशन दिएको वा रोक्न असफल भएको, जसका कारण हत्या, हत्या प्रयास र यातनासहितका कृत्य फैलिएको थियो भनी मूल्यांकन गरेको छ ।

५ अगस्ट २०२४ मा ढाकाको चन्खरपुल क्षेत्रमा प्रहरीले गोली चलाउँदा ६ विद्यार्थीको मृत्यु भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी शीर्ष नेतृत्वमाथि परेको अदालतको निष्कर्ष छ । त्यही दिन आसुलियामा पनि ६ जनालाई गोली हानिएकामा पाँच जनाको शव जलाइएको र एक जनालाई जीवितै जलाइएको आरोप कागजातमा उल्लेख छ ।

प्रतिरक्षा वकिल मोहम्मद अमिर हुसेनले भने सबै आरोप झुठा र बनावटी रहेको दाबी गर्दै शेख हसिनाले कुनै पनि हत्याको आदेश दिएको प्रमाण नभएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार हिंसा ‘अलग समूह’ले गराएको थियो ।

शेख हसिना बंगलादेशबाट भागेर सन् २०२४ अगस्टदेखि नयाँदिल्लीमा बस्दै आएकी छन् । त्यहीँबाट उनले सबै आरोप अस्वीकार गर्दै आइरहेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह