भोजपुर । भोजपुरका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका ८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युत्को पहुँचमा जोडिएका छन् । भौगोलिक रुपमा विकट मानिने यो स्थानमा वडाको सकृयतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।
विद्युत् विस्तारको शुन्य अवस्थाबाट काम शुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले जानकारी दिए ।
‘यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ’वडाध्यक्ष राईले भने,‘यहाँ शुन्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पु¥याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।’
केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखीको टुकीबत्तीको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए । पुस्ताँैबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाई रहेको अवस्थामा विद्युत्को केन्द्रीय लाईन विस्तारले सहजता भएको उनले जानकारी दिए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ ।
‘हाम्रो ठाउँका प्रायः सवै स्थान बिजुली पुगेको छ’उनले भने,‘विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।’
दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाईन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ।
‘विद्युत नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ’ उनले भने ‘विद्युत् विस्तारपछि हामी धेरै खुसी छाँै । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रुपमा पठनपाठन गर्न पाएका छन् ।’






