काठमाडौं । नेपाली चलचित्र ‘मुगलान’को नयाँ गीत ‘पुन्टु पियारी’को भिडियो सोमबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ ।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी १० पुसबाट नेपालमा रिलिज हुँदै छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यो लोक लयमा आधारित गीत सार्वजनिक गरेको यसको निर्माण पक्षले कार्यक्रममा बतायो ।
हरि गिरी (बिमर्शी)को रचना र संगीत रहेको यो गीतमा हरि र शान्ति श्री परियारको स्वर छ । गीतको एरेन्ज, मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका हुन् ।
चलचित्रका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले गीतको भिडियोमा नृत्य गरेका छन् । युना डिजिटल युट्युब च्यानलमार्फत भिडियो रिलिज गरिएको छ ।
आशिष ढकाल निर्देशित यो चलचित्रमा प्रभात र स्मारिकासँगै श्री शिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन, रश्मि भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायतको अभिनय छ ।






