यस्तो छ ‘जेरी अन टप’ र ‘परान’को व्यापार

काठमाडौं । पछिल्लो समय रिलिज भएका नेपाली चलचित्रहरूमा अहिलेसम्म व्यापारिक हिसाबले अनमोल केसीको ‘जेरी अन टप’ नै माथि छ । २९ असोजमा रिलिज भएको यो चलचित्रले २९ कात्तिक शनिवार रातीसम्म नेपालमा कुल १२ करोड ७ लाख ३७ हजार २४६ रुपैयाँको व्यापार गरिसकेको छ । यो वर्षको नेपाली चलचित्रको सबैभन्दा बढी व्यापार यो नै हो । यो चलचित्रलाई हालसम्म पैसा तिरेर ३ लाख ८५ हजार ९२८ जना दर्शकले हेरिसकेको छन् । सुयोग गुरुङको निर्देशनमा तयार भएको यो चलचित्र अझै चौथो सातामा ४० वटा भन्दा बढी चलचित्र घरमा घरमा प्रदर्शन भइरहेको छ ।

गत २९ असोजदेखि यो शनिवार राति अन्तिम सोसम्म प्रदर्शन भएका नेपाली चलचित्रहरूको बक्स अफिस रिपोर्ट चलचित्र विकास बोर्डले सोमबार दिउँसो सार्वजनिक गरेको हो । सो रिपोर्ट अनुसार ‘जेरी अन टप’ले एक महिनामा नेपालबाट १२ करोड ७ लाख रुपैयाँको व्यापार गरेको हो । यो चलचित्रमा अनमोलसँगै जसिता गुरुङ, भुवन केसी, आँचल शर्मा, केदार प्रसाद घिमिरे (माग्ने बुढा), उषा खड्गी लगायतको मुख्य भूमिका छ ।

चलचित्र ‘जेरी अन टप’लाई अर्को नेपाली चलचित्र ‘परान’ले पछ्याइरहेको छ । गत १४ कात्तिकमा रिलिज भएको दीपक आचार्य (काकु) निर्देशित चलचित्र ‘परान’ले शनिवार २९ कात्तिक रातीसम्म आफ्नो व्यापार १० करोडको नजिक पु¥याएको छ । यो चलचित्रले १६ दिनमा चलचित्र घरमा ९ करोड ८६ लाख ९४ हजार ७६४ रुपैयाँको व्यापार गरेको छ । यो अवधिमा ‘परान’लाई ३ लाख ४७ हजार १७५ जना दर्शकले टिकट काटेर हेरिसकेका छन् । नीर शाह, महेश त्रिपाठी, पूजा चन्द, प्रवीण खतिवडा, केकी अधिकारी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘परान’ रिलिज भएको पहिलो हप्ता जम्मा ८६ वटा सो पाएको थियो । तेस्रो सातामा आइपुग्दा ‘परान’को सोहरू बढेर तीन सय भन्दा माथि पुगेको छ । यो चलचित्र अहिले दैनिक हाउस फूल देखिएको छ । पहिलो भन्दा दोस्रो हप्ता राम्रो व्यापार गरेको यो चलचित्रको तेस्रो सातामा आउँदा व्यापार झनै बढेको छ ।

यस्तै उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी २’ले रिलिज भएको ९ दिनमा शनिवार रातीसम्म चलचित्र घरमा ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँको व्यापार गरेको छ । यो चलचित्र पनि पाँच करोड व्यापारको नजिक पुगेको छ । सो अवधिमा यो चलचित्रलाई १ लाख ६२ हजार दर्शकले टिकट काटेर हेरिसकेका छन् । दुई वर्ष अघि रिलिज भएको ‘जारी’ले वर्षकै सर्वाधिक व्यापार गरेको थियो । तथापि दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा घिमिरे आदि अभिनीत ‘जारी २’को व्यापार पहिलो हप्ताको तुलनामा दोस्रो साताबाट घटेको छ । रिलिज भएको बेला यो चलचित्रले मुलुक भर करिब ३०० वटा सो पाएको थियो भने दोस्रो सातामा चलचित्रको सोमा केही कटौती भएको छ ।

यस्तै २१ कात्तिकमै रिलिज भएको अर्को नेपाली चलचित्र ‘मन बिनाको धन’ले ९ दिनमा चलचित्र बक्स अफिसमा २ करोड ४३ लाख ३५ हजार ५८७ रुपैयाँको व्यापार गरिसकेको छ । रिलिज भएको पहिलो दिन देशभरका चलचित्र घरमा ६७ वटा सो यो चलचित्रले पाएको थियो । तर यो चलचित्र दोस्रो हप्तामा आइपुग्दा ‘मन बिनाको धन’को सो बढेर १५० भन्दा बढी पुगेको छ । अशोक दर्जी, निता ढुंगाना, सरोज खनाल, रमेश विश्वकर्मा, बिना राउत, भोलाराज सापकोटा लगायतको अभिनय रहेको टंक बुढाथोकीको यो चलचित्रलाई शनिवार बेलुकासम्म ९० हजार ५२६ जना दर्शकले टिकट काटेर हेरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की