सुन्दरहरैंचा (मोरङ) । सुनसरीको इटहरी उप-महानगरपालिका-१२ स्थितबाट ठूलो परिमाणको लागू औषधसहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
फार्मेसी पसलबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले इटहरी-१२ का नसिव फार्मेसी संचालक ५० बर्षीय नसिव नारायण चौधरीको घर खानतलासी गर्दा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको प्रतिवन्धित औषधी ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको कोशी प्रदेश कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक तथा प्रवक्ता दिपक पोखरेलले जानकारी दिए।
उक्त परिमाणको लागू औषध बरामद भए सगै चौधरी र उनको श्रीमती सम्झना चौधरी समेतलाई पक्राउ गरिएको प्रदेश कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक तथा प्रवक्ता पोखरेलले बताए । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जनाएको छ।
प्रत्येक दिन कोशी प्रदेशका झापा,मोरङ र सुनसरीका जिल्लाहरुमा दर्जन भन्दा बढी लागूऔषध कारोबारी पक्राउ पर्ने गरेका छन्। कोशीमा अवैध लागू औषधको ओसार पसार गर्नेको संख्या बढेसँगै त्यो नियन्त्रण गर्न प्रहरीलाई चुनौती थपिएको छ।






