सप्तरी । यहाँ स्थित खानेपानी संस्थान शाखा कार्यालयमा दुई दिन अघि जेनजी समुहका अगुवाहरुद्वारा लगाइएको ताल्चा स्थानीय प्रशासनले मंगलवार फुटाई दिएका छन ।
तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको देखेपछी स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) को निर्देशनमा ताल्चा फुटाइएको हो ।
आफुहरु संग कुनै छलफल नै नगरी ताल्चा फुटाइएको भन्दै आक्रोशित जेनजी समुहका युवाहरु जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेका छन । उनीहरुले बल प्रयोग गरी सहमती बिनै ताल्चा खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा प्रहरी विरुद्ध चर्काे नाराबाजी समेत गरेका छन ।
संस्थानको सेवामा सुधार तथा निमित्त कार्यालय प्रमुख राजाराम यादवको सरुवा रोक्नु पर्ने लगायतका माँग राखी जेनजी समुहका अगुवाहरुले २ दिन अघि संस्थानको राजविराज स्थित कार्यालयमा तालाबन्दी गरेका थिए ।
जसकारण संस्थानको दैनिकी कामकाज र सेवा प्रवाहमा समस्या भएको थियो । जेनजी समुहका अगुवा मो.मुस्तकिम आलमले एकतर्फी रुपमा आफुहरु संग कुनै समन्वय नगरी ताला फुटाउनु दमनको नीती भएको बताए ।
उनले प्रमुख जिल्ला अधिकारी पोखरेलले वार्ताका लागी बोलाउने भनी आश्वासन दिएकाले आफुहरुको माँग सम्बोधन न भए पुनः तालाबन्दी गर्ने जनाएका छन ।






