काठमाडौं । निर्वाचन आयोगमा दर्ता रहेका १ सय २९ दलमध्ये ४० वटाले आफूलाई प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता गराएका छन् । दल दर्ताका लागि आयोगले ६ मंसिरसम्मको समय दिएकाले दलको संख्या थपिने सम्भावना अझै बाँकी छ । ३० नयाँ दल दर्ता प्रक्रियामा रहेका छन् ।
आयोगमा दर्ता भएका दलमध्ये ३७ दल प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्तामा आएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सूचना जारी गरेयता शुक्रबारसम्म ३७ दल दर्तामा आएको जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि भने जम्मा आठवटा दल दर्ता भएका छन् ।
४० दल प्रतिनिधिसभा निर्वाचनका लागि
विघटित प्रतिनिनधिसभाका नेकपा एमाले र नेपाली कांग्रेससहितका ठूला दलबाहेक केही साना दल र नयाँ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । आयोगले सूचना जारी गरेयताका पाँच दिनमा प्रक्रिया पूरा गरेर ३७ दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, आमजनता पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरू भने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा जाने तयारीमा रहेका छन् । पुराना दलहरूले आयोगमा बुझाउनुपर्ने विवरण र अद्यावधिकसम्बन्धी कागजातहरू आवश्यक पर्ने हुँदा त्यसको तयारीमा रहेका पाइएको छ ।
आयोगले यही १० मंसिरसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय निर्धारण गरेको छ ।
१५ पुसमा अन्तिम मतदाता नामावली
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार आयोगले मतदाता नामावली सार्वजनिकदेखि अन्तिम नामावलीसम्मका कार्यक्रम सार्वजनिक गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
५ मंसिर साँझ ७ बजेसम्म भौतिक रूपमा निर्वाचन कार्यालयबाट र मध्यरातसम्म अनलाइन प्रणालीबाट नामावली दर्ता गरेपछि आयोगले आवेदनउपर रुजु गरी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । आयोगले २० मंसिरमा वेभसाइटमार्फत मतदाता नामावली सार्वजनिक गर्नेछ भने २१ मंसिरलाई मतदाता नामावलीउपर दाबी विरोधका लागि समय छुट्याइएको छ । मतदाताको झुटा विवरण भए उजुरी दिने, दोहोरो नामावली भए हटाउन उजुरी दिने तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीमा भए उजुरी गर्न आयोगले अनुरोध गरेको छ ।
उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइ दिन आयोगले २८ मंसिरदेखि १ पुससम्मको समय छुट्याएको छ । २ देखि ५ पुससम्म निर्वाचन अधिकारीले त्रुटि हटाउने, संशोधन गर्ने तथा कानुनबमोजिमका काम गर्ने अवधि छुट्याइएको छ ।
अन्तरजिल्ला र दोहोरो नामको सुझाव आए जिल्लाबाट आयोगमा नामावली संकलन गरी दाबीविरोध हेरी अन्तिम नामावली १५ पुसमा सार्वजनिक गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।
महिला मतदातामा उत्साह कम
निर्वाचन आयोगले नयाँ मतदाता नामावलीका लागि दिएको समयमा झन्डै साढे ४ लाख नयाँ मतदाता थपिने देखिएको छ । ३० कात्तिकसम्मका लागि दिइएको समयमा मतदाताको सहभागिता उत्साहजनक ढंगले बढेपछि प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा आयोगले पाँच दिन थपेको थियो । आयोगले समय थप गरेपछि थपिएका मतदातामा महिला मतदाता भने तुलनात्मक रूपमा कम रहेका पाइएको छ ।






