नेपालगञ्ज । नेपालगञ्जमा शनिबार सम्पन्न नेपालगञ्ज म्याराथनको ११ औं उपाधि फेरी पनि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । उनले उपाधिसँगै २ लाख नगद पुरस्कार समेत हात पारे ।
खड्काले निर्धारित ४२ किलोमिटरको दुरी २ घण्टा १५ मिनेट ८ सेकेण्डमा पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् । यसैगरी २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाल आर्मीकै सुशीलकुमार शाही दोस्रो तथा २ घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दुरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भएका छन् । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः १ लाख र ५० हजार पुरस्कार जितेका छन् ।
यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । उनी पाँचौं संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसँगै नगद ७५ हजार पुरस्कार हात पारेकी छन् ।
यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भएकी छन् । यस अघि नेपालगञ्जको बिपी चोकमा नेपालगञ्ज म्याराथनमा सहभागितका लागि विभिन्न विद्यालय प्रतिष्ठानबाट उपस्थिति जनाएका थिए ।
म्याराथन शुभारम्भ र समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङ, नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल, मिस नेपाल लुना लुइँटेल, नेपालगञ्ज म्यारथनका संस्थापक टीएस ठकुरी, प्रायोजक केएल दुगद ग्रुपका सिइओ प्रदिप छाछेड लगायतको उपस्थिति थियो ।
म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई ५ हजार नगद पुरस्कार दिइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।






