दैलेख । जिल्लाको ठाटीकाँध गाउँपालिका–१ भैरवस्थानस्थित श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पहिलो घण्टी सकिनासाथ हातमा जर्किन र बोतल बोकेर कक्षाबाट बाहिर निस्कन्छन् । कसैको हातमा पुरानो जर्किन हुन्छ, त कसैको हातमा सानो ड्युका बोतल । विद्यालयमै पिउने पानी नहुँदा उनीहरू दैनिक १०–१५ मिनेट टाढाको बाटो हिडेर मुंग्रा धारासम्म पानीको जोहो गर्नका लागि जानुपर्ने बाध्यता छ ।
विद्यार्थीहरूले बिहानको पहिलो पिरियडमा पढेपछि पानी ल्याउन निस्कनुपर्ने बाध्यता रहेको सोही विद्यालयमा अध्यनरत विद्यँर्थी बताउँछन् । “विद्यालयमा पानी नहुँदा धारासम्म पुग्न १५ मिनेट लाग्छ, फर्किँदा अर्को घण्टी सकिसकेको हुन्छ,” विद्यालयका एक विद्यार्थीले भने ।
विद्यालयमा पिउने पानी मात्र होइन, शौचालयमा प्रयोग गर्ने पानी समेत छैन । “शौचालय छ, तर पानी नहुँदा प्रयोग गर्न नसकिने अवस्था छ,” प्रधानाध्यापक नरबहादुर रोकायाले भने । पानी अभावका कारण विद्यार्थीहरू खुला स्थानमै दिशापिसाब गर्न बाध्य छन्, जसले स्वास्थ्य जोखिम बढाएको उनले बताए ।

विद्यालयमा कक्षा १–५ सम्म १५२ विद्यार्थी भए पनि आधाभन्दा कम मात्र नियमित रूपमा विद्यालयमा आउने गरेका छन् । कक्षा कोठामा बालबालिका न्यून उपस्थिति हुनु र सिकाइमा निरन्तरता नहुनु पछाडिको एउटा मुख्य कारण विद्यालयप्रति पालिका र स्वयम अभिभावकको चासो नहुनु र अर्को शौचालय र पानीको समस्या रहेको शिक्षकहरू बताउँछन् ।
शिक्षक लिलाराम रेग्मीका अनुसार, यो सिजन खेतीपातीको सिजन भएकाले पनि विद्यार्थी उपस्थित दर झनै घटेको छ । “आज पढाएको कुरा भोलि आउँदैनन्, तीन–चार दिनपछि आउने विद्यार्थीले त पुरै बिर्सिसकेका हुन्छन्,” रेग्मीले भने ।
अर्कोतिर, अभिभावकले पनि विद्यालयप्रति पर्याप्त चासो नदेखाएको शिक्षकहरूको गुनासो छ । धेरै विद्यार्थी कापी–कलम नल्याएर विद्यालय आउने गरेको र घरायसी कामका कारण विद्यालय आउन छाड्ने गरेको पाइन्छ ।
सोही विद्यालयका शिक्षक विष्णु बोगटीका अनुसार, केही विद्यार्थी अभिभावकसँगै मजदुरीका लागि भारततिर जाने गरेका छन् । “भर्ना त गर्छन्, तर केही हप्तामै बालबालिकालाई लिएर अभिभावकले नै भारत लैजाने गर्छन् । जस्ले गर्दा पढाइ नै निरन्तर हुन सक्दैन,” उनले भने ।
अझ विद्यालयको आडैमा निर्माण गरिएको खोप केन्द्रको भवनले पनि विद्यालयको वातावरणमा थप चुनौती उत्पन्न गरेको शिक्षकहरूको भनाइ छ । खोप केन्द्रमा भीड बढे विद्यार्थीहरू त्यतै आकर्षित हुने, सरुवा रोग फैलन सक्ने जोखिम रहेको उनीहरूको तर्क छ ।
वडा नम्बर १ का अध्यक्ष चक्रबहादुर विकले विद्यालयको पानी समस्या समाधानका लागि पहल भइरहेको बताए । “ट्यांकी र पाइप त बनेका छन्, तर मर्मत नहुँदा चल्न सकेका छैनन् । समुदाय र विद्यालय मिलेर चासो देखाए पानी विद्यालयसम्म पुगोस् भनेर प्रयत्न भइरहेको छ,” उनले भने ।
२०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा आधारभूत सुविधा अभाव, अभिभावकको विद्यालयप्रति कम चासो, पानीको अभाव र कमजोर उपस्थिति—यी चार कारणले विद्यालयको सिकाइ प्रक्रिया दिनदिनै प्रभावकारी हुन नसकेको देखिन्छ । पानीकै अभावले बालबालिकाको नियमितता, स्वास्थ्य र सिकाइ तीनै पक्षमा प्रत्यक्ष असर पारिरहेको यो घटना दैलेखका धेरै विद्यालयहरूको साझा समस्या बनेको छ ।






