काठमाडौं । नेपाल सरकारका वर्तमान मुख्य सचिव एकनारायण अर्याल पर्सी मंगलबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । उनी ५८ बर्ष उमेर हद पूरा गरी अवकाशमा जान लागेपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ । नेपालको २९ औं मुख्य सचिवका लागि सिंहदरबारमा उच्चपदस्थ कर्मचारीहरुको दौडधुप बढेको छ ।
रक्षा सचिव सुमन अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरि पुष्कर, खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र केन्द्रीय तथ्यांक विभागका प्रमुख तथ्यांक अधिकृत मधुसूदन बुर्लाकोटी मुख्य सचिवको दौडमा छन् । जेष्ठतामा १ नम्बरमा रहेका कारण रक्षा सचिव सुमन अर्यालको नाम अगाडि देखिन्छ । तर उनी मुख्य सचिव बनेमा केवल ८ महिनामात्रै पदमा रहनेछन् ।
त्यस्तै, बुर्लाकोटी र बज्राचार्य दुवै पक्षबाट सक्रिय लबिङ भइरहेको बुझिएको छ । विशेषगरी महिला प्रतिनिधित्वका कारण प्रमिलादेवी शाक्य बज्राचार्यको नाम पनि चर्चामा छ । तर उनी प्राविधिक पृष्ठभूमिबाट आएकी हुन् ।
निजामती सेवा ऐन २०४९ ले मुख्य सचिव नियुक्तिमा जेष्ठता र कार्यकुशलता दुबै आधार मान्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । झण्डै १ लाख कर्मचारीको केन्द्रीय कमान्ड सम्हाल्ने मुख्य सचिव पदलाई राजनीतिक प्रशासकीय संयोजनको संवेदनशील शीर्ष पदका रूपमा हेरिन्छ ।






