काठमाडौं । नेपाली तथा भारतीय चलचित्रमा नायक भएपछि त्यो नायकले राम्रोसँग नृत्य जान्नु पर्छ भन्ने मान्यता रहेको छ । तर नेपाली चलचित्रका केही अभिनेताहरूलाई राम्रोसँग नाच्न पनि आउँदैन । चलचित्र ‘टलक जंग भर्सेज टुल्के’बाट हालसम्म एक दर्जन चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेका अभिनेता खगेन्द्र लामिछानेले आफूलाई नृत्य गर्न पटक्कै न आउने बताएका छन् ।
हुन त कुनै समय अभिनेताहरू दयाहाङ राई देखि विजय बरालसम्म आफूलाई पटक्कै नाच्न आउँदैन भन्दै नृत्यबाट पन्छिन्थे । आज दयाहाङ र विजयले चलचित्रका गीतमा राम्रो नृत्य गर्छन् । आफ्ना ती साथीले राम्रो नाच्न सिक्दा पनि आफूले अझै नाच्न नजानेको अभिनेता खगेन्द्रको स्वीकारोक्ति छ ।
यिनै अभिनेताको यति बेला नयाँ चलचित्र ‘हर्ष’ रिलिजको तयारीमा छ । १२ मंसिरबाट रिलिज हुने यो चलचित्रको ‘सिट्ठी मारेर…’ गीतमा गरेको नृत्यका कारण यो साता अभिनेता खगेन्द्र निकै भाइरल बने । यो गीतमा उनले राम्रो नृत्य गर्न नसकेपछि उनको ठाउँमा चलचित्रको कोरियोग्राफर सुनिल क्षेत्री आफैँले नृत्य गरेका थिए ।
अभिनेता खगेन्द्रले अबका दिनमा यस्तो नृत्य गर्ने चलचित्रमा काम नगर्ने बताएका छन् । नृत्य’bout उनले राजधानीसँग भने,‘नाच्ने काम मेरो बसको हैन रहेछ । मैले पटक पटक कोसिस गर्दा पनि राम्रोसँग नाच्न सकिन् ।’
गत वर्ष खगेन्द्रलाई अभिनेता दयाहाङ राईले चलचित्र ‘महाभोज’मा डान्सको लागि प्रेरित गरेका थिए । दयाहाङले खगेन्द्रलाई सो चलचित्रको एउटा गीतमा नृत्य पनि सिकाए । त्यो प्रसंग सम्झँदै अभिनेता खगेन्द्रले भने,‘वास्तवमा यत्तिको नाच्नको लागि पनि मलाई दयाहाङजीले नै प्रेरणा दिएका हुन् र दयाहाङ मेरो नृत्यको गुरु पनि हुन् । चलचित्र महाभोजमा मलाई दयाहाङ र आर्यनले नै नाच्न प्रेरित गरेका थिए ।’
चलचित्रमा राखिएको गीतमा नाच्नै पर्छ भनेपछि आफूले आधा दर्जन भन्दा बढी चलचित्र छाडेको पनि अभिनेता खगेन्द्रले बताए । यदि आफूले राम्रो सँग नाच्न जान्ने हो भने अहिलेको अवस्थामा चलचित्रमा काम गर्न भ्याई नभ्याई हुने जिकिर गर्दै उनले भने,‘नयाँ चलचित्रमा प्रस्ताव आउँदा म सुरुमै नाच्नु पर्ने गीत छ की छैन भनेर सोध्ने गर्छु । यदि नाच्नु पर्ने गीत छ भने त्यो स्क्रिप्ट नै म हेर्दिन,’आफूले नृत्य नै गर्न नसक्ने भएपछि त्यो चलचित्रमा काम गर्न उचित नहुने उनको कथन छ ।
लामो समय नाटकमा काम गरेर चलचित्र अभिनयमा आएका खगेन्द्रलाई साथीहरूले नृत्य सिक्नकै लागि नृत्य प्रशिक्षण केन्द्रमा भर्ना पनि नगरेको हैनन् । तर उनले नृत्य सिक्ने कोसिस गरेनन् । आफू नृत्य कलाकार भन्दा पनि अभिनयमा केन्द्रित रहने योजनाकै कारण आफूले कहिल्यै नृत्य सिक्ने चेष्टा नगरेको पनि उनले बताए ।
अभिनेता खगेन्द्रको भनाइमा यदि दुई सातासम्म नृत्यमा अभ्यास गराइयो भने काम चलाउन नृत्य गर्न सक्छु भन्ने आँट चैँ उनीसँग रहेछ । तर चलचित्रमा काम गर्दा एक दुई दिन नृत्य सिकाएर नृत्य गराउनै हतार हुन्छ । नृत्य नजान्नेहरूले एक दुई दिनमा नाच्न नसक्ने भनाई खगेन्द्रको छ । त्यसैले नजानेर नराम्रो नाच्नु भन्दा चलचित्रको गीतमा ननाच्नु नै उचित हो भन्ने धारण उनले राजधानीलाई सुनाए ।
खगेन्द्रको भनाइमा उनले पहिलो पटक अशोक शर्माको चलचित्र ‘जय भोले’को एउटा गीतमा सामान्य नृत्य गरेका थिए । त्यो नृत्यको लागि उनलाई अभ्यास गर्न प्रशस्त समय दिएको थियो । त्यो गीतमा आफ्नो नृत्य आफैँलाई मन नपरेको यी अभिनेताले बताए । त्यसपछि उनलाई अर्को चलचित्र ‘मेयर साप’मा अभिनेत्री वर्षा राउतसँग जोडी बनाएर नृत्य गराइयो । चलचित्र ‘मेयर साप’मा पनि आफूले राम्रोसँग नाच्न नसकेको पनि खगेन्द्रले स्पष्ट पारे ।
यस्तै यस पटक चलचित्र ‘हर्ष’मा पनि उनले अभिनेत्री वर्षा राउतसँगै जोडी बनेर नृत्य गरेका छन् । निर्देशक एकता पौडेलसँग यो चलचित्रको गीतमा नृत्य छ की छैन भन्ने आफूले सुरुमा जानकारी नलिएका कारण नाच्न बाध्य हुनु परेको पनि उनले स्पष्ट पारे ।






