काठमाडौं । देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालन गरेपछि धेरै वटा चलचित्र घरमा बक्स अफिस सञ्चालन गर्ने प्राविधिकको अभाव भएको थियो । जसका कारण देशभरका धेरै चलचित्र घरमा बेला बेलामा बक्स अफिसको कारोवारमा समस्या देखिने गरेको थियो ।
यस्ता चलचित्र घरले आफूहरूलाई बक्स अफिस चलाउन उपयुक्त प्राविधिक चाहियो भनेर चलचित्र विकास बोर्डसँग माग गर्दै आएका थिए । कतीपय चलचित्र घरले त बक्स अफिस सञ्चालनमा प्राविधिक नभएको भन्दै टिकट बिक्रीको हिनामिना समेत गरेका थिए । सोही समस्यालाई मध्यनजर राख्दै चलचित्र विकास बोर्डले मोफसलका चलचित्र घरमा बक्स अफिस सञ्चालन तथा चलचित्र विकास शुल्क अभिमुखीकरण प्रशिक्षण सुरु गरेको छ । चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित यो प्रशिक्षण सुरु गरेको बोर्डले जनाएको छ । बोर्डले देशभरका चलचित्र घरलाई लक्षित गरेर विभिन्न चरणमा यो प्रशिक्षण सञ्चालन गर्ने भएको छ । जस मध्ये बोर्डले पहिलो चरणको चलचित्र विकास शुल्क अभिमुखीकरण पश्चिम नेपालबाट सुरु गरेको छ । यो तालिम १ मंसिरबाट सुरु भएको हो । पहिलो चरणको प्रशिक्षण आईतबार राती सम्पन्न गरेर टोली मंगलबार काठमाडौँ आईपुगेको छ ।
लुम्बिनी प्रदेशबाट सुरु भएको पहिलो चरणमा बागमतीको चितवनबाट सुरु गरेर लुम्बिनीका आधा दर्जन सहर, कर्णाली प्रदेशको सुर्खेत लगायतको सहर, सहित सुदूरपश्चिम प्रदेशको आधा दर्जन गरी २६ वटा चलचित्र घरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ । प्रत्येक चलचित्र घरबाट दुई देखि पाँच जनासम्मले यो प्रशिक्षण लिएको बोर्ड सदस्य गणेशप्रसाद सुवेदीले राजधानीलाई बताए ।
यस’bout सदस्य सुवेदीले भने,‘चलचित्र घरमा बिहान ६ बजेदेखि राती १२ बजेसम्म पनि प्राविधिकहरू खट्नु पर्ने हुन्छ । बक्स अफिस एवम् विकाश सुल्क प्रणालीमा एउटै कर्मचारीलाई १८ घण्टासम्म खट्न गाह्रो हुने भएकाले एउटा चलचित्र घरका दुई÷तीन जना प्राविधिक हुनुपर्छ भन्ने हाम्रो सुझाव थियो’, सोही सुझाव अनुसार सिंगल थिएटरले दुई जना र मल्टिप्लेक्सले पाँच जनासम्म प्राविधिकलाई प्रशिक्षणमा खटाएको पनि बोर्ड सदस्य सुवेदीले जानकारी गराए ।

सदस्य सुवेदीका अनुसार सो प्रशिक्षणमा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टल प्रयोग कसरी गर्ने भन्ने विधि, डाटा भण्डारण, डाटा सुरक्षा सहित अभिलेखन, आर्थिक प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, कार्य प्रणालीलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने उपाय जस्ता विभिन्न विषयमा विस्तृत प्रशिक्षण दिइयो ।
उनीहरूलाई बोर्डबाट सदस्य गणेश प्रसाद सुवेदीसहित प्राविधिक प्रवीण पाण्डे, अधिकृत दिनेश बानियाँ, एष्टर इनोभेसन प्रा.लि.का प्रशिक्षक सेरफ लामाको टोलीले प्रशिक्षण दिएको थियो । क्युएफएक्स चेनका चलचित्र घरमा प्राविधिकहरूलाई प्रशिक्षण दिँदै आएका सेरफले यस पटकको प्रशिक्षणबाट मोफसल चलचित्र घरका प्राविधिकहरूलाई बक्स अफिस सञ्चालन गर्न अब निकै सहज हुने बताए ।
बोर्ड सदस्य सुवेदीको अनुसार अब बोर्डले गण्डकी प्रदेशसँगै बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यका लगायतका जिल्लाहरूमा यो प्रशिक्षण आयोजना गर्नेछ । गण्डकी र बागमती प्रदेशको प्रशिक्षण सम्पन्न गरेपछि बोर्डले मधेस प्रदेश र कोसी प्रदेश गरेर दुई चरणमा यो प्रशिक्षण सम्पन्न गर्ने भएको छ । त्यसको लागि यी प्रदेशका चलचित्र घरलाई प्रशिक्षणको लागि प्राविधिकहरू तयार गरेर राख्न समेत पत्राचार गरिसकेको बोर्डले जनाएको छ ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार बोर्डले यो कार्यक्रममार्फत देशभरका सबै चलचित्र घरलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापनमा दक्ष बनाउँदै छ । जसबाट चलचित्र क्षेत्रलाई आर्थिक पारदर्शिता, राजस्व संकलन तथा संरक्षण र सुशासनका दिशामा अगाडि बढाउने भरपर्दो आधार तयार हुने विश्वास व्यक्त गर्दै उनले भने,‘चलचित्रको मुख्य आम्दानी भनेकै बक्स अफिसमा टिकट बिक्रीबाट हुने भएकाले डिजिटल प्रणाली अन्तर्गत बक्स अफिसमा दक्ष प्राविधिक हुनै पर्छ । दक्ष प्राविधिकको अभावले धेरै चलचित्र घरका बक्स अफिस सञ्चालनमा गाह्रो भयो भनेपछि हामीले देश भरका चलचित्र घरमा प्राविधिक जन्माउन पनि यो प्रशिक्षण सुरु गरेका हौँ ।’
अध्यक्ष डिसीका अनुसार नेपाली चलचित्र क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बोर्डले यस आर्थिक वर्षलाई ‘दक्ष चलचित्रकर्मी, चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरेको छ । गत चलचित्र दिवसको अवसर पारेर घोषणा गरिएको यो अभियानअन्तर्गत बोर्डले आफ्नै प्रमुख आयस्रोतमा बक्स अफिस एवम् चलचित्र विकास शुल्कलाई डिजिटल र अभिलेखकृत रूपमा व्यवस्थापन गर्न बनाइएको ‘चलचित्र विकास शुल्क पोर्टलको व्यापक अभिमुखीकरण तथा तालिम’ गरेको पनि डिसीले राजधानीलाई बताए ।






