सेन्सरको दोष देखाउँदै तीन दिनमै उतारियो ‘लडाइँ पहिचानको’

काठमाडौं । शुक्रवार ५ मंसिरबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ कोसी प्रदेशमा आइतबारबाटै उतारिएको थियो । बाँकी प्रदेशमा पनि यो चलचित्र सोमबारबाटै हटेको छ । मंगलवार देशभरका सबै चलचित्र घरबाट उत्रिसकेको यो चलचित्र हेर्न दर्शक नआएका कारण हटाउनु परेको चलचित्र घर सञ्चालकले बताएका छन् ।

तर चलचित्र निर्माण पक्षले भने सेन्सर बोर्डको अनावश्यक हस्तक्षेपका कारण चलचित्रको प्रदर्शन स्थगित गर्नु परेको बताएको छ । निर्माण कम्पनी ‘भीम लामा फिल्म्स’ले एक प्रेस विज्ञप्ति जारी गर्दै राज्य पक्षबाट भएको अनावश्यक हस्तक्षेपसँगै सेन्सर बोर्डको कडाइका कारण चलचित्रको प्रदर्शन रोक्नु परेको जनाएको छ । उनीहरुले सेन्सर बोर्डलाई दोषी देखाएका छन् ।

चलचित्रका निर्देशक भीम लामासहित निर्माताहरू रामजी विष्ट, दिलु सुब्बा र उमेश तामाङले संयुक्त विज्ञप्तिमार्फत सेन्सर बोर्डको कार्य प्रति असन्तुष्टि पनि जनाएका छन् ।

यो चलचित्रमा कोसी प्रदेशलाई नाम परिवर्तन गरेर लिम्बुवान प्रदेश नाम राख्नु पर्ने भन्ने आन्दोलनको मुद्दा उठाइएको थियो । सेन्सर बोर्डका एक सदस्यले राजधानीसँग गरेको कुराकानीमा राष्ट्रिय अखण्डता र सार्वभौमताको विषय बाहेक अरू विषयमा सेन्सर नगरिएको बताए । तर यो चलचित्रका लेखक तथा निर्देशक भीम लामाले चलचित्रको मूल कथावस्तुमा महत्त्वपूर्ण दृश्यहरू काटेर पहिचानको मुद्दालाई नै मेट्ने काम भएको दाबी गरेका छन् । मूल मर्म नै मर्ने गरी दृश्यहरू काट्न लगाइएपछि आफूहरूले चलचित्र प्रदर्शन स्थगन गर्न बाध्य भएको लामाको कथन छ । उनले ५ मंसिरमा रिलिज मिति तय भएकाले निर्धारित मितिमा चलचित्रलाई रिलिज गरिएको तर चलचित्रले पहिचानको मुद्दा नबोकेको टिप्पणी दर्शकबाट आएपछि रोक्नु परेको बताएका छन् ।

निर्माण पक्षका अनुसार यो चलचित्र करिब १ करोडको लगानीमा निर्माण भएको थियो । चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङसहित करिश्मा मानन्धर, धीरेन शाक्य, प्रेम सुब्बा, जेनी घिसिङ, सुरवीर पण्डितलगायतको अभिनय छ । यो चलचित्रलाई निर्माण टिमले केही दृश्य छायांकनमार्फत थपेर पुन सेन्सर गराई फेरी दर्शकमाझ ल्याउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह