काठमाडौं । ‘कागले कान लग्यो भन्दैमा कागको पछाडी दौडिने कीआफ्नो कान छाम्ने’ यो उखान निकै चलेको छ । आज दिनभर मुलधारका अनलाइनहरुको समाचार शिर्षक बुटवलमा भेन्टिलेटरमा उपचाररत गुल्मीका कोरोना संक्रमितसंग सम्बन्धित रह्यो । अधिकांश अनलाइन पोर्टलहरुले जिउँदै व्यक्तिलाई मृतक भनेर घोषणा गर्नसम्म भ्याए । प्राय समाचारको हेडिङ बन्यो,‘ संक्रमित मृतकको संख्या तीन पुग्यो ।’
एउटाले जे लेख्यो त्यहि कपि गर्दै अनलाइनमा समाचार हाल्ने होडबाजी छ अनलाइन पत्रकारितामा । त्यसैले पनि मानवीयता नै हराएका समाचारहरु सामाजिक सञ्जालमा रगिंए । मृतक पुष्टि नहुँदै समाचार प्रकाशन भएपछि आफन्तहरु छटपटाए, हतोत्साहित समेत भए । स्रोतको हवाला दिँदै बनाइएका समाचारहरुले लाइक र सेयर त पाउलान् तर, विश्वास भने जित्न गाह्रो हुन्छ ।
आफन्तहरु ती समाचारहरुले दिगदार भए अनि निराशाका शब्दहरु पोखे । मृतकका आफन्तले राजधानीसंगको कुराकानीमा भने, ‘मैले चार दिनदेखि राम्रोसंग खाना खाएको छैन । झन नमरेकोलाई मरेको भनेर निराश मात्रै पैदा गरिदिए मिडियाले ।’ समाचार आएपछि भकाभक सामाजिक सञ्जालमा व्यक्ति पिच्छे स्ट्याटस पनि आयो मृतकको संख्या तीन भन्दै ।
प्राय सञ्चारमाध्यमहरुले प्रदेश नम्बर पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बराललाई स्रोतको हवाला दिएका छन् । पत्रकारका अगुवाहरु भन्छन्, ‘अस्पतालको विज्ञप्तिनै आधिकारीक हो ।’ सत्य, तथ्य र निष्पक्षलाई पक्रेर अघि बढ्नुपर्ने पत्रकार आचारसंहितामा उल्लेख छ । मृतकको समाचार लेख्दा पुष्टि गर्ने दरिलो माध्यम नहुँदासम्म कपि पेस्ट गरेर समाचार उत्तेजनाको भरमा कसैले पनि सम्प्रेषण गर्न नहुने हो । ढिलो सूचना दिने तर, सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने सम्बद्ध निकायहरु बताउँछन् । मृत्यु जस्तो संवेदनशील विषयमा मन्त्री, मेयरलगायत हचुवाको भरमा बोल्नु हुँदैन अर्कोतर्फ मिडियाले पनि समाचारमा कोड गर्दा आधिकारीक व्यक्तिलाई नै पक्रनुपर्छ । हचुवामा लेख्दा हावा खानु स्वभाविक हो ।
मन्त्रीलाई पुष्टि नभएको सुचना कसले दियो ? यो विषय छानविन हुनैपर्ने आवाज उठ्न थालेको छ । समाचारको स्रोत विश्वसनिय हुनुपर्ने सम्बद्ध निकायहरु बताउँछन् । सवा १२ बजे क्रिमसन अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु सत्य नभएको बतायो ।
यस्तै स्वास्थ्य मन्त्रालयले बेलुकी सवा चार बजे पत्रकार सम्मेलनमा आरटी पिसीआर परीक्षण गर्न १५ हजार लाग्ने भनेर आएको समाचार तथ्यहिन भएको भन्दै भ्रमपुर्ण समाचार सम्प्रेषण गरे कानुन बमोजिम कारबाही गर्ने भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पटकपटक भ्रमपुर्ण समाचार सम्प्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानुन बमोजिम कडा कारवाही गरिने समते यसै विज्ञप्ति मार्फत् जानकारी गराउँछौं ।’
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारलाई हतोत्साहित गर्ने तरिकाले विज्ञप्ति जारी भएको बताए । उनले भने, ‘समाचारमा आएका विषयमा चित्त नबुझेमा राज्यको छुट्टै अंग प्रेस काउन्सिल छ । समाचार गलत प्रकाशन वा प्रसारण भएमा संशोधन गर्ने, खण्डन गर्ने निश्चित प्रकृया छ ।’ उनले कारबाही गर्छु भन्दै विज्ञप्ति निकाल्नु गलत अभ्यास हाबी भएको हुनसक्ने बताए । पत्रकार महासंघ एशोसिएट प्रदेशका महासचिव डिबी खड्काले स्वास्थ्य मन्त्रालयको हैसियत उजुरीकर्तासम्म रहेको बताए । उनले भने, ‘नियामक निकाय प्रेस काउन्सिल र अदालत छ । स्वास्थ्य मन्त्रालयले कारबाही गरिने भनेर भन्न मिल्दैन ।’