मुलुककै नमूना पालिका बनाउन पर्साको ठोरी जुर्मूराउँदै

वीरगन्ज । मधेशमा मात्र नभई देशमा नै नमूना पालिका बनाउन पर्साको ठोरी गाउँपालिकाले पालिकाका नागरिकसँग सुझाव संकलन गरेको छ । राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगले तोकेका १७ सूचकाँक कार्यान्वयनमा मधेश प्रदेशकै पहिलो पालिका पर्साको ठोरीले मुलुकमा नै नमूना पालिका बन्ने तर्फ पालिकालाई अगाडी बढाउन नागरिकको पनि सुझाव संकलन गरेको हो ।

स्थानीय तह संस्थागत क्षमता (लिजा) तर्फ पनि प्रदेशमा दोस्रो पर्साको ठोरी गाउँपालिकाले पालिकाको समृद्धि र नमूना पालिकाका लागि चुस्त सेवा प्रदान गर्ने तर्फ खरो उत्रे छ । राज्यले निर्धारण गरेका सबै सूचकाँक पूरा गर्ने तर्फ पनि अझ अब्बल रहँदै जनमुखी सेवा प्रदान र पालिकाको समृद्धिका लागि कमजोरी भए सच्चाउन तत्परता देखाएर खुल्ला सार्वजनिक सुनुवाई पनि गरेको छ । आफ्ना कमजोरी पहिल्याउन पालिका आफै सार्वजनिक सुनुवाई गर्न प्रायः मधेश प्रदेशमा अग्रसर हुँदैनन् । तर पर्साको ठोरीले जनताको समृद्धि र हित अनि पालिकाको प्रतिष्ठाका लागि सकृय भएर अगाडी बढ्ने छनक देखाएको छ ।

मूलुकमै नमूना पालिका बनाउन पालिकास्तरका नागरिकको पनि भावना समेट्ने उद्देश्यले खुल्ला सार्वजनिक सुनुवाई गरिएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । शिक्षा तर्फ कक्षा १२ सम्म पूर्णरुपमा निशुल्क शिक्षा प्रदान गर्दै आएको ठोरी गाउँपालिका पर्सा जिल्लाको पहिलो साक्षर घोषित पालिका पनि हो । ठोरीले स्वास्थ्य र पर्यटनतर्फ पनि पालिकालाई १ नम्बरमा ल्याउने गरी थप कार्यसम्पादन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । नागरिकको सेवा प्रदान र पालिकाको समृद्धिमा कुनै कसर बाँकी नराख्ने गरी कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयात्मक कार्य र पालिकाका नागरिकको पनि सुझाव थप प्रभावकारी ठानी आमरुपमा नै सुझाव संकलन गर्दै अगाडी बढ्ने प्रयास रहेको उनको तर्क छ ।

मधेश प्रदेश अन्तर्गतका पालिकाहरुमा रातु पहाड, सेतु पहाड जस्ता भौगोलिक मोहकताले भरिपूर्ण ठोरीले बार्षिक लाखौं आन्तरिक र भारतीय पर्यटकको पनि मन खिचिरहेको छ । यसलाई अझ सौन्दर्यीकरण र पर्यटकमैत्री वातावरण बनाई पर्यटन प्रवद्र्धनबाट ठोरीको समृद्धिको जग पनि अझ बलियो बनाउन प्रदेश र संघ सरकारसँगको समन्वय पनि तिव्र पार्दै अगाडी बढेको पालिकाका अध्यक्ष श्रेष्ठले पनि दावी गरे ।

यता जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालयले नागरिकता, राष्ट्रिय परिचय पत्र बनाउने जस्ता सुशासनका सामान्य काममा पनि पालिकाका नागरिकसँग १ हजारदेखि ९ हजारसम्म अवैध रकम लिएर हैरान पारेकोमा भने प्रशासन कार्यालयहरुलाई सुध्रिन उनले सुझाव पनि दिए । केही दिन अगाडी टोलका टेक बहादुर र गोरेरामका छोरीहरु ईलाका प्रशासन कार्यालय सुपौलीमा जाँदा एक–एक हजार घुस दिएपछि मात्र काम बनेको कुरा उनले सार्वजनिक सुनुवाईमा नै खुलासा गरिदिए । जिल्ला प्रशासन कार्यालय पर्साको पनि आयोजनमा गरिएको कार्यक्रममा उनले प्रशासन कार्यालयका रवि भन्ने कर्मचारीले सर्जमिन गर्ने बिषयमा पनि ९ हजार दिएपछि नपर्ने भनी सेवाग्राहीसँग अवैध रकम असुल्ने गरेको पनि अध्यक्ष श्रेष्ठले सर्वाङ्ग पारिदिए । यो कुरामा अधिकाँश सेवाग्राहीको समर्थन रह्यो ।

स्वास्थ्यतर्फ प्रदेशको छैठौं र जिल्लाको पहिलो ठोरीलाई अझ अब्बल बनाउन स्थानीय नागरिकको सुझाव छ । सूचकाँकमा मधेशका अरु पालिकाभन्दा अब्बल ठोरीलाई अझ एक नम्बरमा नै टिकिराख्न रणनीतिक योजनासहित कार्य गर्न स्थानीय शिक्षक नारायण लामा, धर्मेन्द्र चौरसिया, महेन्द्र उपाध्यायलगायतका नागरिकको सूझाव पनि छ । हेमकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले ठोरीले धेरै कुरामा राम्रो काम गरेको छ । तर ठोरीलाई यतिले मात्र नपुग्ने हुँदा चितवन, काठमाण्डौ र मकवानपुरको दाँजोमा शिक्षाको गुणस्तर लगायतमा पुग्ने गरी अगाडी बढ्नु पर्ने सुझाव दिए ।

सर्वसाधारणको भावनालाई अझ प्राथमिकतामा राख्दै ठोरीले यसैवर्षभित्र यहाँको मानीवस्तीमा ताल संरक्षण गरी पोखराको फेवा तालकै शैलीमा वडा नम्बर ४ र ५ मा मन्दिर सहितको ताल निर्माणको कार्य गर्ने ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरीले खुलासा गरे । यसको अलावा वडा नम्बर २ मा इको टुरिज्म पार्क र लाल पहाडमा चिल्ड्रेन पार्क मात्र नभई ठोरीमा यसैबर्ष भित्र आइटी कलेजको पनि काम अगाडी बढाइसकिएको पनि उनले बताए ।

ठोरी–४ का वडाध्यक्ष मानबहादुर थिङ्गको सभापतित्वमा भएको कार्यक्रममा ठोरीको उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार गुप्ता, वडा नम्बर २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा, नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान उपाध्यक्ष युवराज खड्का लगायतले पनि सबै सम्पादित काम राम्रैमात्र नहुन सक्छन्, त्यसलाई सुधार्न आम नागरिकको सुझाव आवश्यक पर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने