राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणाली तथा समानुपातीक समावेशी प्रतिनिधीत्व हुने संसदको व्यवस्था सहितका २८ बुन्दे माग अघि सार्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टीको केन्द्रीय कार्यकारीणी समितीद्वारा घोषित आन्दोलनका कार्यक्रम अनुसार पार्टीले उठाउँदै आएका मुख्य माग तथा राष्ट्रिय मुद्दाहरु समेटेर जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अगुवाईमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
कार्यालय खुल्नासाथ बुधवार विहान १० बजे जिल्ला अध्यक्ष यादव, प्रदेश साँसद किरण कुमारी साह, मधेश प्रदेशका पूर्व सभामुख उपमा देव, जसपा नेता जगदेव यादव, शैलेश चौधरी, दिनेश कुमार यादव, लक्षमण यादव, विनोद यादव, किशोर यादव“केसी”, प्रभाकर यादव, अमुत साफी, नववित झा, शम्भु यादव, महिला नेतृ रमिला देवी साह, पुनम यादव, आशा साह सहित ठूलो संख्यामा जसपा नेता–कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापनपत्र मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, समानुपातीक समावेशी प्रतिनिधीत्व हुने संसदको ब्यवस्थाका साथै संविधान संशोधन वा पुनरलेखन गरी राष्ट्रिय समस्याको समाधान, राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन (१०+१) हुने गरी राज्यको पुर्नसंरचना गरिनु पर्ने माग अघि सारिएको छ ।
यस्तै जनसंख्याको आधारमा प्रतिनिधीत्व हुने व्यवस्था, दलित र महिलाका लागी छुट्टै आरक्षित संसदीय–प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था, राष्ट्रियसभालाई प्रादेशिक जनसंख्याका आधारमा समानुपातीक समावेशी हुने गरी हाउस अफ नेशनललाईटिज बनाईनु पर्ने, स्थानीयतहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राखेर गैर–दलिय आधारमा निर्वाचन, राजनीतिक नियुक्तीहरुमा भागवण्डा अन्त्य गरी योग्यता, क्षमता र अनुभवको आधारमा समानुपातीक समावेशी हुनेगरी नियुक्ती, विगतमा भएका आन्दोलनका वेला गठन गरिएका न्यायीक छानवीन आयोगहरुको प्रतिवेदन सार्वजनिक लगायतका २८ बुन्दे माँग ज्ञापन पत्र मार्फत अघि सारिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ पोखरेलले तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाइ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।






