काठमाडौं । नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्य नयाँ चरणमा प्रवेश गरेको छ । ढाकामा सम्पन्न संयुक्त स्टियरिङ समितिको सातौं बैठकले दुवै देशबीच विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, लगानी संरचना निर्धारण तथा दीर्घकालीन ऊर्जा कूटनीति मजबुत गर्नेगरी ६ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार नेपालबाट बंगलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युत्का अतिरिक्त २० मेगावाट थप विद्युत् आवश्यक प्रक्रिया पूरा गरी आयात गर्ने ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले बताए ।
सुनकोशी–३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउनेछ । नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पञ्चगढ–ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न अध्ययन गर्नेछ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने भएको छ । सो सम्झौताअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्नेछ ।
नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्नेछ । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा त्यसपछि नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ ।
नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा जनगणतान्त्रिक बंगलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बंगलादेशको ढाकामा सम्पन्न भएको सहसचिव देवले जानकारी दिए ।
संयुक्त कार्यदलको बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा जनगणतान्त्रिक बंगलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अन्तिरिक्त सचिव केएम अली रेजाले सहअध्यक्षता गरेका थिए ।
सो बैठकमा नेपाल–बंगलादेशबीच विद्युत् व्यापार, जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने, अन्तरदेशीय विद्युत् प्रसारण लाइनहरूको निर्माण तथा व्यवस्थापन गर्ने लगायतका विषयहरूमा सहमति भएको हो ।
थप २० मेगावाट निर्यात
बंगलादेशले गत वर्षदेखि भारतको प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्दै आएको छ । यसपटक २० मेगावाट अतिरिक्त विद्युत् आयात गर्ने निर्णय भएको हो ।
यसले सुक्खा याममा पनि बंगलादेशले नेपालबाट विद्युत् लिने भएको छ । सँगै दीर्घकालीन खरिद समझदारीको आधार पनि तयार भएको छ । विद्युत् प्राधिकरणअनुसार आव २०८१–८२ मा नेपालले करिब १५ अर्ब रुपैयाँबराबर विद्युत् निर्यात गरेको थियो । निर्यात बजार विस्तारमा बंगलादेशलाई दोस्रो ठूलो गन्तव्यका रूपमा स्थापित गर्ने रणनीति सफल हुँदै गएको देखिन्छ ।
सुनकोशी–३ मा बंगलादेश सक्रिय
नेपालले वर्षौंदेखि अघि बढाउन नसकेको सुनकोशी–३ जलविद्युत् आयोजनामा बंगलादेशले लगानी मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरेर ‘लगानी प्रवेश प्रक्रिया’ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
पछिल्ला महिनामा बंगलादेशी स्वामित्वको नर्थ वेस्ट पावर जेनेरेसन कम्पनी नेपालका सरकारी र निजी क्षेत्रका बीच भएका अनौपचारिक छलफलले यस आयोजनालाई जीटुजी मोडेलमा अघि बढाउने संकेत दिएको सरकारी अधिकारीहरू बताउँछन् ।
त्रिपक्षीय व्यापार अनुमति पाएपछि सुनकोशी–३ को विद्युत् भारत हुँदै बंगलादेश पठाउन सकिने संरचना तयार हुँदै छ, जसका लागि भारतको नोडल एजेन्सीसँग प्रारम्भिक संवाद सुरु भएको मन्त्रालय स्रोतको भनाइ छ ।
बंगलादेश लैजान चार वैकल्पिक रुटको अध्ययन
बैठकले भारतको सिलिगुरी अलिपुरदुआर हुँदै बंगलादेशका चार सम्भावित सबस्टेसनसम्म विद्युत् निर्यातका लागि फिजिबिलिटी स्टडी सुरु गर्ने निर्णय गरेको छ । ती सम्भावित रुटमा बारापुकुरिया, पञ्चगढ–ठाकुरगाउँ, भेरामारा, कुशटिया छन् ।
ऊर्जा विज्ञहरूले यसलाई सार्क ग्रिडको व्यावहारिक ढाँचा भन्दै दीर्घकालीन क्षेत्रीय ऊर्जा एकीकरणका लागि निर्णायक कदम मानिरहेका छन् । समझदारीअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा संरक्षण, रुफटप सोलार, ईभी चार्जिङ स्टेसन विकासमा प्राविधिक सहयोग दिनेछ । दुवै देशका ऊर्जा विशेषज्ञबीच क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौं र ढाकामा पालैपालो सञ्चालन हुनेछन् ।
सन् २०३० सम्म बंगलादेशलाई ९ हजार मेगावाट अतिरिक्त ऊर्जा आवश्यक पर्ने प्रक्षेपण छ । नेपालमा सन् २०३२ सम्म १२ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन सम्भावना छ । यसले भारतसँगको नीतिअनुसार तेस्रो देशलाई विद्युत् बेच्न व्यावहारिक बाटो खुलेको छ ।








