कीर्तिपुर । विनेद भण्डारीको अर्धशतकको मद्दतमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम राखेको छ । लगातार चार खेल जित्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाउने सम्भावना बलियो बनाएको हो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै प्लेअफको सम्भावना दरिलो बनाएको हो ।
लगातारको हारले प्लेअफ कठिन बन्दै जनकपुरलाई
लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर २ बलमा १ सय ४५ रन बनायो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६९ रन बनाए । ४९ बलको सामना गरेका भण्डारीले ५ चौका र ४ छक्का प्रहार गरे । उनी नटआउट रहे । यसैगरी, आरिफ शेखले ३९ रनको योगदान दिए । ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका आरिफ तिलक भण्डारीको बलमा रोहित पौडेलबाट क्याच आउट भए ।
यसैगरी, क्रिस लिनले १६ रन बनाउँदा जोश ब्रोन ९ रनमा आउट भए । हर्मित सिंहले अन्तिम बलमा छक्का प्रहार गर्दै ७ रनमा नटआउट रहे । बलिङतर्फ लुम्बिनीका लागि रुवेन ट्रम्पेलमन, तिलक भण्डारी र अभिशेष गौतमले समान १–१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव ४ ओभरमा १ सय ४३ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । ३६ बल खेल्दै ३ चौकाको मद्दतमा ३५ रन बनाएका उनी हेमन्त धामीको बलमा विनोद भण्डारीबाट क्याच आउट भए ।
यसैगरी, दिलीपनाथले २९ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतमा ३१ रनको योगदान दिए । उनी अविनाश बोहोराको बलमा विनोद भण्डारीबाटै क्याच आउट भए ।
डी आरसी सर्ट र सुमित महर्जनले समान १८–१८ रन जोड्दा गुलब्दिन नैवले ११ रन बनाए । यसैगरी, सन्दीप जोरा अविनाशकै बलमा ७ रनमै आउट हुँदा थोमी डार्सा र अभिशेष गौतमले समान ६–६ र बनाए । शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रम्पेलमन शून्य रनमा रनमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान ३–३ र हेमन्त धामीले २ विकेट लिँदा बी कुग्गेलेइजनले १ विकेट आफ्नो पक्षमा पारे ।
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
साविक विजेता जनकपुर बोल्ट्स लगातार ३ खेलमा पराजित भएको छ । एनपीएलको बिहीबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग जनकपुर २५ रनले पराजित भएको हो ।

यसअघिका खेलमा निरन्तर हार बेहोरेको पोखराका लागि हारको शृंखला रोकिएको छ भने जनकपुर पहिलो जितको खोजीमै रुमलिएको छ । पोखराको जितले प्लेअफको सम्भावना ब्युँताएको छ भने जनकपुरको निरन्तरको हारले प्लेअफ सम्भावना कठिन बन्ने संकेत गरेको छ ।
वाइने पार्नेलको अर्धशतकले पनि जनकपुरको हारको यात्रालाई रोक्न सकेन । वार्नेलले ३८ बलमा अर्धशतक हान्दै जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने ११औं खेलाडी बनेका छन् । पोखराले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ८ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि पार्नेलले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५० रनको योगदान दिए । उनी रिटायर्ड आउट हुन पुगे । यस्तै, २० बलको सामना गरेका सन्जय कृष्णमुर्तीले २ चौका र १ छक्का हान्दै २५ रन बनाए । १४ बलको सामना गरेका माज सदाकतको नाममा २० रन रह्यो । उनी सुमित बर्माको बलमा जिमी निसामबाट क्याच आउट भए । यस्तै, ललित राजवंशीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । रूपेश सिंह ७, शुभ कंसाकार र मयन यादवले समान ४–४ रन जोड्दा जन निकल इटनले २, अनिल साहले १ रन बनाउँदा आसिफ शेख भने शून्यमा पेभेलियन फर्किए ।
पोखराका लागि विपीन खत्रीले ४ विकेट लिँदा सुमित महर्जनले २ विकेट तथा कप्तान कुशल भुर्तेल र जिम्मी निसमले समान १–१ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
पोखराका लागि सुमित महर्जनले सर्वाधिक ५० रन बनाए । नटआउट रहेका उनले २९ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । दिनेश खरेल ३८ रनमा अनिल साहको बलमा माज सदाकतबाट क्याच आउट भए । त्रितराज दास २९ रनमा रनआउट हुँदा आडम रोसिङ्टनले १७ बलमा २४ रनको योगदान दिए । डान डाउथवेथ ७ रनमा तथा जिमी निसम १ रनमा आउट भए । कप्तान कुशल भूर्तेल सन्जय कृष्णमुर्तीको बलमा शून्यमा रनमै आउट भए ।
जनकपुरका लागि सन्जय कृष्णमुर्तीले ३ विकेट लिँदा ललित राजवंशी र कप्तान अनिल साहले १–१ विकेट हात पारे ।
जारी अंक तालिकामा चार खेलको समाप्तिमा सुदूरपश्चिम ४ जितका साथ ८ अंक बटुल्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको विराटनगरको ६ अंक छ । चितवन र काठमान्डुको समान ४–४ अंक छ । कर्णाली, पोखरा र लुम्बिनीको २–२ अंक छ । जनकपुर अकविहीन छ ।
एनपिएलमा राम्रो खेलेर पनि राष्ट्रिय टिममा परिन्छ र ? : विनोद भण्डारी
सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले एनपीएलमा राम्रो खेलेर पनि राष्ट्रिय टिमको क्याम्पमा नपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
लुम्बिनी लायन्ससँगको जितमा बिहीबार अर्धशतक बनाएका विनोदले एनपीएलमा राम्रो खेल्दैमा राष्ट्रिय टिममा मौका पाइन्छ भन्ने कुनै विश्वास नरहेको बताएका छन् ।
गत सिजन आफूले राम्रो खेल्दा पनि क्याम्पमा पनि नपरेको उनको भनाइ छ । त्यसैले, एनपीएल विश्वकपको सेलेक्सन म्याच हो भन्न नसकिने उनले स्पष्ट पारे । उनले एनपीएल आईसीसी टी–२० विश्वकपको छनोट म्याच हो भन्न नसकिने बताएका हुन् ।
उनले ५० ओभर र टी–२० फरम्याट दुवैमा छनोट उस्तै भएकाले राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिममा पर्छु भन्ने नलागेको भन्दै व्यंग्य गरेका छन् । किनकि, पीएम कपमा उत्कृष्ट ५ मा प्रदर्शन गर्ने खेलाडी नै राष्ट्रिय टोलीमा नपरेको उनको भनाइ छ ।
‘हामी फाइनल पुग्नका लागि भनेर खेलेको भन्दा पनि राम्रो खेल्नका लागि मैदानमा उत्रिएका छौं, होटलदेखि ग्राउन्डसम्म एउटै सोच छ, राम्रो खेल पस्कने, ४ मा ४ जितेको छ, सजिलै छ,’ उनले भने, ‘यो विश्वकपका लागि छनोट गेम होइन, यहाँ राम्रो प्रदर्शन गर्दैमा टिममा पर्छ भन्ने ग्यारेन्टी छैन, गत संंस्करण एनपीएलमा राम्रो खेले पनि नेपाली टिममा परिनँ ।
चार खेलमा सबै चार जितेकाले टोलीको माहोल पनि राम्रो रहेको उनको भनाइ छ । सबै खेलाडीको माइन्ड सेटमा सकारात्मक बनिरहेको पनि उनी बताउँछन् । मैदान प्रवेश गरेपछि सबै राम्रो प्रदर्शन गर्न नै जाने हो ।
एनपीएलमा शुक्रबार (आज) पहिलो खेलमा पौने १२ बजे चितवन राइनोज र काठमान्डु गोर्खाज तथा दिउँसो पौने ४ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।






