काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १० मा पर्ने पुरानो बानेश्वरमा टोलको नामकरण नै गर्ने पीपलबोट १ सय २० देखि १ सय ५० वर्ष पुरानो हो । नापीका कर्मचारीसमेत रहेका स्थानीय ८० वर्षीय राजेन्द्र मरहठ्ठाका अनुसार उनी सानो हुँदा यहाँ सानो बाटोको छेउमा रहेको यस पीपलको रूख स्थानीयले शनिबार पूजा गर्ने र जल चढाउने अलि ठूलै रूख थियो । बाटो तथा घर भवन बढ्दै अहिलेको व्यस्त सडक र कंक्रिटको जंगलको बीचमा पुरानो सभ्यता र संस्कृति बोकेको पीपलको रूखले विकासको मोडलमा वातावरण संरक्षणको बेग्लै मोडल बनाउन घचघच्याइरहेको देखिन्छ ।

सहरका बीचमा हरियाली देख्नै नपाइने अवस्था हुँदा पनि पुरानो बानेश्वरको घना बस्तीबीचको यस पीपलबोटले सौन्दर्य र स्वच्छताको अनुभूति दिलाएको वडा नं १० का सदस्य नरोज अर्याल बताउँछन् । आफू ४६ वर्षको भएका अर्यालले पनि बच्चा बेलामा पीपलबोट सडकमै देखे । ‘पीपलको बोटलाई दायाँ पारेर मानिस हिँड्थे, अर्कोतिरबाट सवारीसाधन, तर अहिले सडक विस्तारपछि बीचमै पीपलबोट छ, हामी स्थानीयले जोगाएका छौं,’ अर्यालले भने ।
हरेक शनिबार पूजा गर्ने र पीपलको बोटमा जल चढाउनेहरूको भीड नै हुँदा अलिक व्यवस्थापनमा समस्या हुन थालेपछि यसमा रेलिङ राख्ने र सौन्दर्यीकरणका लागि वडाबाट बजेट विनियोजन गरेरै काम गरिरहेको जनप्रतिनिधिहरू बताउँछन् । पुरानो बानेश्वरमा मात्र नभइ सडक यातायातका क्रममा सार्वजनिक सवारीसाधनले पीपलबोट भन्दै यात्रु ओराल्ने र चढाउने स्टेसनहरूमा यस्तै महत्वपूर्ण सभ्यता र इतिहास बोकेका पीपलका रूखहरू रहेका छन् ।
काठमाडौंको व्यस्त सडकको बीचमा रहेको यो पीपलबोट यस्तो एक्लो उदाहरण भने होइन । धोबिखोला कोरिडोरमा अनामनगर छेउमा रहेको अर्को पीपलको बोट पनि स्थानीयको संरक्षणमा रहेको प्रेरणादायी पीपलबोट हो । भौतिक पूर्वाधार निर्माणका क्रममा सडक आसपासका रूख काट्नेदेखि डोजर चलाएर रूख बिरुवा नास गर्ने अभ्यासलाई चुनौती दिइरहेका राजधानी काठमाडौंका स्थानीयले देखाएको मोडललाई अन्यत्र पनि सिक्न सक्नुपर्ने वडा नं १० का सदस्य अर्याल बताउँछन् । ‘एउटा रूखले यो आकार बनाउनमा सय वर्षभन्दा बढी समय लागेको छ, केही मिनेट जाम हुने भन्दैमा यस्ता रूख डोजर लगाइयो भने हाम्रो सभ्यता र संस्कृतिमै डोजर लाग्छ, अर्को पुस्तासम्मलाई वातावरण जोगाउने संस्कृति र सभ्यता सिकाउन पनि यस्ता रूख जोगाउनुपर्छ,’ अर्यालले भने ।

सहरी सौन्दर्यीकरणका लागि ग्रीनबेल्ट निर्माण र साना बिरुवा रोप्ने होडबाजी बढिरहेको पछिल्लो समयले केही वर्षअघि मात्रै सडक किनारका बिरुवामाथि डोजर लगाइएको कुरुप विकासे मोडल सम्झाइरहेको वातावरण संरक्षणकर्मीहरू बताउँछन् । उपत्यकाको चक्रपथ विस्तार तथा अन्य सडक विस्तारमा पीपल तथा अन्य धेरै वर्ष पुराना वातावरणीय दृष्टिले मूल्यवान् रूखहरू विनाश भएको वातावरणकर्मीहरू बताउँछन् ।
सहरी हरियाली र सौन्दर्यीकरणमा पुराना रूख वनस्पतिको संरक्षणले अर्थ राख्ने ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन बताउँछन् । काठमाडौं उपत्यकाको सहरी हरियाली प्रवर्धनमा नयाँ बिरुवा रोप्ने र आकर्षक ग्रीनबेल्ट निर्माण गर्नेसँगै पुराना बिरुवा संरक्षणलाई पनि महŒव दिइनुपर्नेमा महर्जनले जोड दिए ।

ललितपुर महानगरपालिका वडा नं ५ को सप्तपाताल पोखरीको पुनरुत्थान तथा जीर्णोद्धारका क्रममा २५ देखि ३० वर्षको कपुरको रूख जोगाउन गरिएको प्रयासले पनि वातावरणमैत्री विकासको मोडल देखाएको छ । पोखरीको बीचमा रहेको कपुरको रूखलाई जोगाएरै पुनर्निर्माण गर्दा नयाँ पोखरीको बीचमा रहेको २५ देखि ३० वर्षे कपुरको रूखले पर्यटकीय आकर्षण थप्ने नगरप्रमुख महर्जन बताउँछन् ।
‘ललितपुरको सहरी हरियाली प्रवर्धनसहितको ग्रीन ब्लु कम्बिनेसन र अर्बान ब्युटिफिकेसनमा सप्तपाताल पोखरीको बीचमा जोगाइएको कपुरको रूख नमुना हो,’ महर्जनले भने । वातावरणमैत्री सहर बनाउन भन्दै सडक बढारेर मात्र नभइ प्राकृतिक रूपमा रहेका सभ्यता र संस्कृतिका रूपमा रहेका महत्वपूर्ण वनस्पति र पानीका स्रोतको संरक्षणले विकासको दिगोपन सुनिश्चित गर्ने महर्जन बताउँछन् ।






