वीउको गुणस्तर र प्रमाणीकरणका लागि तालिमसहित प्रमाणपत्र

डडेल्धुरामा संचालन गरिएको तीन दिने वीउ उत्पादन तथा व्यवस्थापन तालिमका सहभागीहरु । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । खाद्यान्न बालीको वीउ उत्पादन एवं प्रमाणीकरण गरि बिक्रिका लागि किसान र व्यापारीहरुलाई आवश्यक तालिमसहित प्रमाणपत्र दिईदै छ । डडेल्धुरामा ठूलो मात्रामा आलुलगायत अन्य खाद्यबालीको वीउ उत्पादन गरि निर्यात गरिदै आए पनि हालसम्म गुणस्तर र प्रमाणीकरण हुने गरेको छैन । कानुनी रुपमा वीउको गुणस्तर, प्रमाणीकरण गरेर मात्रै बिक्रि गर्नु पर्ने भएपनि त्यसो हुन सकेको छैन ।

हालसम्म गैरकानुनी रुपमा प्राबिधिकको रहोबरका आधारमा व्यवहारिक तौर तरिकाले वीउ बिक्रि वितरण हुदै आएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई डडेल्धुराका कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेतले बताए ।

उनका अनुसार खाद्यबालीको वीउमा प्रमाणीकरण ट्याग, गुणस्तरसंगै बिक्रि गर्ने व्यवासायीको प्रमाणपत्र अनिवार्य हुनु पर्दछ । पछिल्ला वर्षहरुमा खासगरि डडेल्धुराबाट आलुको वीउ निर्यात हुदै आएको छ । तर कानुनी प्राबधान विपरित प्राबिधिकको रहोबरमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न व्यवहारिक रुपमा वीउ बिक्रि वितरण हुदै आएको छ ।

उनले भने, हामिले वीउ खरिद गर्दा पनि गुणस्तर, प्रमाणीकरण र व्यवसायीले आवश्यक तालिम लिई प्रमाणपत्र अनिवार्य हुनु पर्दछ । यसो हुन नसकेकोमा हाल किसान र व्यवसायीहरु लाई डडेल्धुरामा वीउ उत्पादन तथा व्यवस्थापनका लागि तीन दिने तालिम संचालन गरिएको छ ।

तालिममा सहभागीहरु लाई तालिम पश्चात परिक्षा संचालन गरि ४० पूर्णंक ल्याई पास भएपछि प्रमाणपत्र दिईने उनले जानकारी दिए । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वीउ विजन गुणस्तर नियन्त्रण केन्द्र र वीउ विजन प्रयोगशाला कञ्चनपुरसंगको समन्वयमा कार्यक्रम कार्यान्वयन एकाई डडेल्धुराको आयोजनामा तालिम संचालन गरि प्रमाणपत्र दिईन लागेको उनले बताए ।

प्रमाणीकरण बिनाको वीउ मरिसकेको हुने उल्लेख गर्दै उनले अबका दिनमा व्यवहारिक रुपमा वीउ बिक्रि गर्न नसकिने बताए । यहाँका किसानले उत्पादन गरेको आलुको वीउ ६ महिना शित भण्डारमा भण्डारण गरि वीउका रुपमा बिक्रि गरिदै आएको भए पनि प्रमाणीकरण नहुदा कानुन विपरितको कार्य भईरहेको उनले बताए ।

डडेल्धुरामा उत्पादित आलुको वीउको मूल्य प्रतिकेजी ६५ रुपियाँ तोके थियौ । उनले भने, गुणस्तरीय वीउका लागि तीनै तहका सरकारसंग समन्वय सहकार्य पनि गरिरहेका छौ । तर हालसम्म प्रमाणीकरण गर्न सकेका छैनौ । हामिले ५० प्रतिशत अनुदान दिदापनि बजारमा प्रतिकेजी २५–३० रुपैयाँमा आलु बिक्रि गरिदा किसान मर्कामा परेका छन । किसानलाई व्यवसायी बनाउन पनि प्रमाणीकरण आवश्यक रहेको उनले बताए ।

डडेल्धुरामा साधारणतया गुणस्तरीय र राम्रो आलु उत्पादन गरि निर्यात गरिदै आएपनि निरिक्षण, परिक्षण गर्न नसकिएको वीउ विजन प्रयोगशाला कञ्चनपुरका कृषि अधिकृत एवं निरिक्षक दिपकराज ओझाले बताए । प्रशिक्षकका रुपमा रहेका ओझाले कानुनी प्रक्रिया र ऐन नियम विपरित वीउ निर्यात हुदै गरेको भएपनि भविष्यमा चुनौती हुने जानकारी दिदै किसानलाई व्यवसायीक बनाउन प्रमाणीकरण गरि ट्याग लगाउन अनिवार्य र पहिचान हुने बताए । तालिममा सिकेको ज्ञानसिप सम्पतीका रुपमा स्थानपित हुने उनले बताए ।

गत वर्ष डडेल्धुरामा एक हजार २२२ हेक्टर क्षेत्रमाफलमा लगाईएको आलुको उत्पादन पछिको मूल्य ७१ करोड बढी पुगेको थियो । बर्खे र हिउदे गरि डडेल्धुरामा दुई सिजनमा आलुखेती गरिन्छ । बर्खे आलु ४०० हेक्टर र हिउदे आलु ७२२ हेक्टर क्षेत्रफलमा लगाईने गरेको तथ्यांक राष्ट्रिय कृषि आधुनिकिरण परियोजना कार्यान्वयन एकाई डडेल्धुराको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई