धनगढी । सुदूरपश्चिम प्रदेशमा होटल तथा आतिथ्य क्षेत्रप्रति लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । प्रदेशको राजधानी धनगढीमा पछिल्लो समय साना आवासगृहदेखि ठूला तारे होटल निर्माणसम्मको गतिविधि तीव्र हुँदै गएको छ । यसले यहाँको पर्यटन व्यवसायले नयाँ फड्को मार्न लागेको संकेत दिएको छ ।
धनगढीमा चहलपहल बढेसँगै होटल व्यवसाय विस्तार पनि अभूतपूर्व गतिमा अघि बढिरहेको छ । विगतमा एक पनि तारे होटल नभएको धनगढीमा अहिले लगातार दुई तारे होटल निर्माण अन्तिम चरणमा पुगेका छन् । नैनादेवी मन्दिर नजिक निर्माणाधीन ‘होटल सनलाइट’ ले आगामी वैशाखदेखि चारतारे होटलका रूपमा सेवा सुरु गर्ने तयारीलाई अन्तिम रूप दिँदैछ ।
होटलका सञ्चालक कलम बमका अनुसार, क्यासिनो बारसहितको अत्याधुनिक चारतारे होटल सञ्चालनले धनगढीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ । ‘हामी प्रदेशकै मानक बढाउने होटल सेवा ल्याउँदैछौं । सेवा सुरु भएपछि यहाँको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपिनेछ,’ उनले बताए । यसैगरी, धनगढीकै प्रतिष्ठित चौलानी ग्रुपले पुरानो भवन हटाएर आधुनिक पाँचतारे होटल निर्माण कार्यलाई तीव्रता दिएको छ । सुदूरपश्चिममा पहिलोपटक उच्चस्तरीय सेवा दिने लक्ष्यसहित गरिएको यो लगानी प्रदेशको दीर्घकालीन पर्यटन सम्भावनासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
नेपालकै अग्रणी होटल ब्रान्ड ‘सिद्धार्थ ग्रुप’ ले केही दिनअघि धनगढी चौराहाबाट सेवा प्रारम्भ गरेसँगै प्रतिस्पर्धी वातावरण झनै तीव्र भएको छ । त्यस्तै, करिब १० करोड रुपैयाँको लगानीमा निर्माण भएको नेचुरा रिसोर्ट पनि आइसकेको छ । प्राकृतिक वातावरणमा आधारित आधुनिक हस्पिटालिटी सेवा दिने उद्देश्यसहित रिसोर्ट तयार पारिएको सञ्चालक मदन भट्टले जानकारी दिए ।
होटल व्यवसायीहरुले धनगढी प्रदेशको राजधानी भएकाले यहाँ उच्चस्तरीय होटल अनिवार्य रहेको बताएका छन् । होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयका अनुसार धनगढीमा पछिल्ला वर्षहरूमा साना देखी ठूला होटलमा लगानी तीव्र रूपमा बढिरहेको छ । ‘राजनीतिक स्थिरता र शान्ति–सुरक्षा कायम भए पर्यटन क्षेत्रले अझै तीव्र गतिमा प्रगति गर्छ,’ पाण्डेयले भने । संघका अनुसार सुदूरपश्चिममा हालसम्म होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । यसका माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५० हजारभन्दा बढी स्थानीयले रोजगार पाए गरेका छन् । विशेषगरी भारतीय पर्यटकलाई लक्षित गर्दै धनगढीमा होटल निर्माणमा लगानी बढिरहेको उनीहरू बताउँछन् ।
तर, भारत–नेपाल सीमानाका केही बिन्दुहरूमा सहज आवागमन नहुनु र धनगढीमा राति १० बजेभित्रै बजार बन्द गर्नुपर्ने प्रशासनिक निर्देशनले पर्यटन व्यवसायले अपेक्षित फाइदा उठाउन नसकेको होटल व्यवसायीहरूको गुनासो छ । उनीहरूका अनुसार रात्रीकालीन गतिविधिमा रोकावटले भारतीय पर्यटक आकर्षणमा कमी ल्याएको छ । लगातार बढिरहेको लगानी र उच्चस्तरीय होटलहरूको विस्तारले धनगढी तथा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
होटलको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र
प्रदेशमा सञ्चालनमा रहेका होटलहरूको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले नमुना छनोट गरी गरेको अध्ययन अनुसार आव २०८१÷८२ मा होटलको अक्कुपेन्सी न्यून रहेको पाइएको छ । राष्ट्र बैंकले १० होटल छनोट गरी अध्ययन गरेको थियो ।
यो प्रदेशमा बढी पाहुना भारतीय पर्यटक रहेको पाइएको छ । कुल १६ हजार ९२५ विदेशी पर्यटक सुदूरपश्चिम प्रदेशको भ्रमणमा पुगेका थिए । जसमा भारतीयसहित १६५ चिनियाँ र तेस्रो मुलुकका १ हजार ४११ पर्यटक यस प्रदेशको भ्रमणमा पुगेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा यो आवमा पर्यटक आगमनमा भारी गिरावट आएको देखिएको छ ।
तथ्यांक अनुसार भारतीय पर्यटक २८ प्रतिशत, चीनबाट आउनेहरू ७१ प्रतिशत र तेस्रो मुलुकका पर्यटकको संख्या ६५ प्रतिशतले घटेको छ । धार्मिक, पुरातात्विक, पर्यटकीय पूर्वाधारको विकास र प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटकको आगमन गर्न यो प्रदेश चुकिरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।






