पोखरामा दाइँ महोत्सव

पोखरा । पर्यटनमा टेवासहित परम्परागत कृषि प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्ले शनिबार पोखरा–१९, चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव गरेको छ । महोत्सव अवलोकन गर्न पुगेका विदेशी पर्यटक भने निकै रमाए । उनीहरुले नेपालको परम्परागत खेती प्रणालीको निकै चाख मानेर हेरे ।

दाइँ वास्तवमा कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढंगले नै गोरुको सहायतामा धानको पराललगायत माड्ने कार्यलाई बुझिन्छ । मूल रूपमा धान झारी सकेपछि बाँकी रहेको धान समेत झार्ने र कुन्यू लगाइएको पराल खलामा बिच्छ्याएर त्यसमाथि गोरुलाई लहरै दाम्लो वा डोरीले बाँधेर दाइँमा घुमाउने गरिन्छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परालको कुन्यू चढेर कार्यक्रम उद्घाटन गरेका थिए । उनले यस्तो महोत्सवबाट कृषकलाई कृषि पेसामा लागिरहन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले महोत्सवबाट पर्यटन प्रवद्र्धनसहित कृषकलाई प्रोत्साहन एवं नयाँ पुस्तालाई परम्परागत कृषि प्रणाली’bout जानकारी मिल्न टेवा मिल्ने बताए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महानगरले पोखराको पहिचान बोकेको जेठोबुढो लगायत धान ब्राण्डिङ गरिरहेको बताए । उनका अनुसार रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकलाई महानगरले मल, बिउमा अनुदान दिने गरेको छ ।

यसपालि सबैभन्दा धेरै धान फलाउने कृषकलाई महोत्सव अवसरमा सम्मानसमेत गरियो । पोखरा महानगरको निरीक्षण र मूल्यांकन आधारमा उत्कृष्ट धान उत्पादनक कृषक छनोट गरिएको हो । जसमा पोखरा १९ का फवेन्द्रप्रसाद गुरुङले पाँच सय मुरी धान फलाएकोमा उनलाई १० हजार प्रदान गरियो ।

यस्तै, एक सय मुरी धान उत्पादन गर्ने वडा १९ कै कृषक मिलन गुरुङलाई सात हजार र ९८ मुरी धान उत्पादन गर्ने पोखरा २३ का कृषक बालकृष्ण भण्डारीलाई पाँच हजार प्रदान गरियो ।

यसैगरी गोरुपालक कृषक जीवन बास्तोलालाई छ हजारसहित सम्मान गरियो । दाइँ महोत्सव आकर्षण बढाउन धान चुट्ने, गुन्द्री बुन्ने, परालको भारी बाँध्नेलगायत प्रतियोगिता पनि भए ।

धान चुट्ने प्रतियोगितामा कृषक श्याम भुजेल प्रथम भए । जीवनाथ सुवेदी दोस्रो र विष्णुप्रसाद पौडेल तेस्रो भए । उनीहरुले क्रमशः नगद तीन हजार, दुई हजार र एक हजार प्राप्त गरे ।

परालको भारी बाँध्ने प्रतियोगितामा अग्निधर गौतम र भीम विक, नवीन र अभिषेक बास्तोला तथा कुलबहादुर भुजेल र तारानाथ गौतमको जोडीलाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्रदान गरियो ।

गुन्द्री बुन्नेमा लक्ष्मी देवकोटा र लक्ष्मी बास्तोलाको जोडी, सीता गौतम र विष्णु गौतमको जोडी तथा लक्ष्मी अधिकारी र अञ्जना अधिकारीको जोडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार प्रदान गरियो ।

पोखरा महानगरपालिकाले सघाएको महोत्सवको स्थानीय व्यवस्थापन चुरुङ्गा टोल विकास संस्थाले गरेको स्थानीय संयोजक उमनाथ गौतमले बताए ।

आयोजक परिषद्का प्रथम उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक हरिबहादुर भुजेलले महोत्सवमा आयोजकले अपेक्षा गरेभन्दा बढी दर्शक आएको बताए । परिषद्कै आयोजनामा हुने रोपाइँ महोत्सवको २१ औं संस्करण पूरा भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल