मुम्बई । बलिउड अभिनेता सलमान खान यति बेला पान मसलाको विज्ञापनलाई लिएर कानुनी विवादमा फसेका छन् । सलमान खान विरुद्ध स्वास्थ्यको लागि हानिकारक पान मसलाको विज्ञापनमा काम गरेर सर्वसाधारणलाई पान मसला खाएर स्वास्थ्य बिगार्न प्रेरित गरेको भन्दै अदालतमा मुद्दा परेको हो ।
शुक्रवार सलमान खानका तर्फबाट उनका वकिल आशिष दुबेले अदालतमा यस विषयमा स्पष्टीकरण दिँदै सलमानले पान मसलाको विज्ञापन नगरेको बताएका छन् । सलमानले मसला नभएर अलैँचीको विज्ञापन गरेको ती वकिलले बयान दिएका छन् ।
बिग बोसको छायांकनका कारण सलमानले यो मुद्दाको बहस अदालतमा आफ्ना वकिललाई सुम्पेका थिए । वकिल आशिष दुबेले अदालतमा बहसको क्रममा भने,‘सलमान खानले गुट्खा वा पान मसलाको विज्ञापन गरेनन्। बरु, उनले चाँदीको चूर्ण लेपित अलैँचीको विज्ञापन गरे, जुन उत्पादन पान मसलाको श्रेणीमा पर्दैन ।’
उपभोक्ता आयोगले अलैँचीको विज्ञापनमा दिएको उजुरीले सलमानलाई ठुलो मानसिक असर परेकाले उल्टै क्षतिपूर्तिको माग समेत ती वकिलले गरेका छन् । वकिलले भने, ‘अभिनेता सलमान न त पान मसलाको निर्माता हुन, न त सेवा प्रदायक नै हुन् । त्यसैले यस मुद्दामा उनलाई संलग्न गराउनु कानुनी रूपमा अमान्य छ’, यस मुद्दाको अर्को सुनुवाइ ९ डिसेम्बरमा उपभोक्ता अदालतमा हुनेछ ।






