पोखरा । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रसाद अर्यालविरुद्ध कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
पोखरामा सोमबार तमु ह्युल छोेज धिं गुरुङ राष्ट्रिय परिषद् कास्कीले उनको सम्मानमा आयोजना गरेको विशेष कार्यक्रममा सो असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले तत्कालीन समयमा कानूनी सल्लाहकारका रुपमा अर्यालले सही सल्लाह नदिएको आरोप लगाए । उनले विगतको आन्दोलन, नेतृत्व चुनिने प्रक्रियामा उत्पन्न विवाद, कानूनी सल्लाहकारहरूको भूमिकालगायत विषयमा स्पष्ट धारणा राखेका थिए ।
गृहमन्त्री अर्याललक्षित टिप्पणी गर्दै उनले भने, ‘हामीलाई सही सल्लाह नदिएको कारण आज देश अपेक्षित परिवर्तनको दिशामा जान सकेन । त्यो सल्लाह (तत्कालीन कानूनी सल्लाहकार अर्याल) ले देशको परिवर्तनप्रति रहेको हाम्रो आशा मा¥यो ।’ उनले जेनजीको रगतमाथि टेकेर अर्याल गृहमन्त्री बनेको पनि आरोप लगाए ।
‘हिजो हामीलाई अगाडि–पछाडि गरेर सल्लाह दिने गृहमन्त्री ओमप्रकाश अर्याल आज यो मिलेन, त्यो मिलेन भनेर फाइदा लुटे,’ उनले अगाडि भने, ‘त्यो बेला उहाँले भन्न सक्नुहुन्थ्यो, तपाईँहरूको माग पूरा हुन सक्दैन, संविधान संशोधनबिना यो सम्भव छैन । तर त्यो भन्नुभएन । राजनीतिलाई पद र अवसरको नाङ्गो खेल बनाएर युवाको भरोसा तोडियो ।’
‘अब कसलाई विश्वास गर्ने ? सबै एक्सपर्ट भनाउँदाहरु कोही मन्त्रीको लागि आउँछन्, कोही पदको लागि आउँछन्,’ उनले भने, ‘सल्लाहकारहरु यति सेल्फिस छन् कि आज गृहमन्त्रीको पदमा बसिराख्नु भा’छ ।’
गुरुङले आफू र आफ्नो टिमले आन्दोलनका क्रममा भोगेको कठिनाइ पनि स्मरण गरे । ‘कफ्र्युमा पनि अगाडि बढ्यौं । देश डुब्न नदिन, भविष्य बचाउन युवा पुस्ताले नेतृत्व ग¥यो,’ उनले भने, ‘छ दिनसम्म एक थोपा पानी, एक चिम्टी भात पनि खाइएन । सिटामोल खाएर लडिरह्यौँ । देशका लागि, नयाँ सोचका लागि, परिवर्तनका लागि हामीले त्यागेको पद कुनै सामान्य कुरा होइन । आफूहरुले देशका लागि प्रधानमन्त्रीदेखिका सबै सम्भावित पद त्यागेको दाबी गरे ।
बालेन शाह र हर्क साम्पाङले फोन नउठाएपछि युवापुस्ताले प्रधानमन्त्रीका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको उनले खुलासा गरे । उनले समृद्ध देश हेर्न पाइयोस् भनेर आन्दोलन गरिएको दोहो¥याए । ‘हाम्रो देश समृद्ध हुन सक्थ्यो । विश्वले सम्मान गर्न सक्थ्यो, त्यो गुमाउनुपरेको’ भन्दै उनले गुनासो गरे ।
गत २३ भदौमा सत्तामा रहेकाहरु नै ‘आतंककारी’ हो भन्दै उनले १७-१८ वर्षका बच्चाहरु आतंककारी हुन नसक्ने बताए । उनले व्यङ्ग्य गरे, ‘१७-१८ वर्षका बच्चाहरु आतंककारी रे । बन्दुक बोक्नेहरु, भ्रष्टाचार गर्नेहरु चाहिँ देशप्रेमी ?’
सम्मान कार्यक्रममा परिषद्ले सुदनको सामाजिक चेतना र राजनीतिक सक्रियतालाई ‘युवा पुस्ताको आवाज प्रतिनिधित्व गर्ने प्रभावशाली पहिचान’ भनी सम्मानपत्र प्रदान गरेको थियो ।






