खेलकुद विधेयक पारित

काठमाडौं । संघीय संसद्बाट खेलकुदसम्बन्धी विधेयक (राष्ट्रिय खेलकुदको विकास विधेयक २०७६) पारित भएको छ । संघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा)बाट पारित भएको विधेयक बुधबार प्रतिनिधिसभामा भएको संशोधन स्वीकार गर्दै राष्ट्रिय सभाबाट पुनः पारित भएको हो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले बधबार प्रतिनिधिसभामा भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनेर राष्ट्रिय सभामा पेस गरेको विधेयक सर्वसम्मतिले पारित गरेको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । पारित विधेयकअनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकार सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ ।

सदस्यसचिवको एकल अधिकार कार्यकारी समितिमा सार्ने, राखेपजस्तै संयन्त्र प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्नेलगायतका प्रावधान समेटिएको छ । कार्यकारी समितिमा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेलकुद परिषद्का सदस्यहरूमध्येबाट परिषद् अध्यक्ष (खेलकुदमन्त्री)ले मनोनित गरेका दुई जना, परिषद्ले मनोनित गरेका दुई जना सदस्यका रूपमा रहन्छन् । खेलकुद परिषद्को प्रशासन महाशाखा प्रमुखले सचिवको जिम्मेवारी पाउनेछन् ।

यस्तै, राखेपको सदस्यसचिव बन्नका लागि स्नातक उत्तीर्ण गरी खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । यसैगरी, राखेपको हाल रहेको २३ सदस्यीय बोर्डलाई ३७ सदस्यीय बनाउने र परिषद्मा प्रदेशस्तरका खेलकुदसम्बन्धी संरचनाका प्रमुखदेखि नेपाली सेना, नेपाल प्रहरी र निजी क्षेत्रका प्रतिनिधिलाई समेत सदस्यका रूपमा राख्ने व्यवस्था थपिएको छ ।

विश्वविद्यालयहरूको खेलकुद विभागका प्रमुख, खेलकुद मन्त्रालयको महाशाखा प्रमुख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, ओलम्पिक कमिटीलगायतको सहभागिता सुनिश्चित गरिएको छ । यसैगरी, नेपालमा पहिलोपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा गरिएको छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय स्तरको खेलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकाहरूले अन्तर्राष्ट्रिय खेलाडीको मान्यता पाउनेछन् ।

नेपालभित्र राखेपले आयोजना गरेको कुनै पनि राष्ट्रिय स्तरको खेलमा सहभागी खेलाडी राष्ट्रिय खेलाडी हुनेछन् । भलिबल नेपालको राष्ट्रिय खेल नै हो विधेयककमा समावेश गरिएको छ । यस्तै, खेल मिलेमतो गरी खेलको परिणामलाई प्रभावित पार्ने वा पार्न निर्देशन दिने व्यक्तिलाई तीन वर्ष कैद र ५० हजारसम्म जरिमाना हुनेछ । कुनै रकम लेनदेन गरेको भए जफत हुनेछ । प्रतिबन्धित औषधि सेवन गरेर खेलमा सहभागी भए पहिलोपटक १० हजार त्यसपछि ५० हजारसम्म जरिमाना हुने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी