अनुकूल काम नगरेको भन्दै पशुपति क्षेत्र विकास कोषवाट कर्मचारी फिर्ता

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कार्यवाहक सदस्यसचिव सुभाषचन्द्र जोशीको व्यक्तिगत स्वार्थका कारण पशुपति क्षेत्र विकास कोषका आर्थिक र प्रशासनिक गतिविधि भद्रगोल बन्न थालेका छन् ।

कोषमा कार्यरत कर्मचारीले स्वार्थअनुकूल काम नगरेको भन्दै कावा सदस्यसचिव जोशीले ४५ दिन नपुग्दै कर्मचारी फिर्ता पठाइदिएका छन् । आफैंले माग गरी महालेखा नियन्त्रक कार्यालयबाट काज सहयोग पाएका लेखा अधिकृत रवीन्द्रबहादुर धामीले स्वार्थअनुकूल काम नगरेकै कारण उनलाई ४५ दिन नपुग्दै फिर्ता पठाइएको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यवाहक सदस्यसचिवको अर्को कर्तुत

जोशीले गत १५ मंसिरमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा पत्र लेख्दै कर्मचारीको काज फिर्ता गरिदिएको जानकारी गराएका छन् । कोषका धेरै कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका कारण निलम्बनमा छन् । निमित्त लेखा प्रमुखसमेत हाल निलम्बनमा रहेका कारण लेखा व्यवस्थापन सञ्चालन भएको थिएन ।

कोषमा लेखा व्यवस्थापन गर्न कर्मचारी नभएपछि कार्यवाहक सदस्यसचिव जोशीले महालेखा नियन्त्रक कार्यालयमा सहयोगका लागि लेखा अधिकृत काजमा सहयोग मागेका थिए ।

महालेखा नियन्त्रक कार्यालयले गत ३१ असोजमा लेखा अधिकृत धामीलाई कोषबाटै पारिश्रमिक र सुविधा दिनेगरी काजमा खटाएको थियो । धामीले कोषको लेखा व्यवस्थापनका क्रममा सिस्टम बनाउन र व्यवस्थापकीय सुधारका काम थालेपछि जोशीले अनुकुल काम गर्न दबाब दिन थालेका थिए । जोशीको दबाब बेवास्ता गरेपछि उनले काज फिर्ताको पत्र लेखेका हुन् ।

जोशीले आफूअनुकूल ठेकेदारलाई बिनाकागजपत्र र कार्य सम्पन्न नभए पनि आफू जिम्मेवारी रहनेगरी भुक्तानी गरिदिन दबाब दिएको र लेखा अधिकृतले नमानेपछि उनी रुष्ट बनेको स्रोतको दाबी छ । आफू सिस्टम बनाउन र व्यवस्थापन गर्न काजमा आएको गैरकानुनी रूपमा भुक्तानी दिन नसकिने भन्ने जानकारी दिएपछि उनलाई काज फिर्ता गरेको कोषकै पदाधिकारीको दाबी छ ।

जोशीको नियुक्तिका विषयमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । कोषका कार्यकारी निर्देशक हुनका लागि पशुपति क्षेत्र विकास कोष, कर्मचारी सेवा सर्त तथा सुविधासम्बन्धी नियमावली २०४५ को नियम ९४(ख) अनुसार कम्तीमा स्नातकोत्तर पास र अधिकृत द्वितीय श्रेणीसरहको पदमा १५ वर्ष प्रशासनिक अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

निजी कलेजको सुपरिवेक्षणमा काम गरेको मात्र अनुभव भएका जोशीसँग यो योग्यता नपुग्ने भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन भइरहेको छ ।

संस्थालाई गैरप्रशासनिक व्यक्तिले सञ्चालन गर्दा धेरै समस्या आउने र पशुपतिनाथको संस्थामा पशुपतिनाथकै गरिमा घटाउने तŒवप्रति आफू चिन्तित भएको पनि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यहरूको भनाइ छ । ‘कोष स्वशासित संस्था हो, परिषद्को निर्णय नभई लेखा अधिकृत सदस्य सचिवले राख्नै सक्दैनन् अझ अन्तबाट काजमा ल्याउने भन्ने नै कोषको नियममा छैन, तर कोषका कर्मचारी अभावका बेलामा काम टारौं न त भनेर ल्याएको चनि चुप बसेकामा जोशीले पुनः फिर्ता पठाउँदा हामी पनि अचम्ममा परेका छौं,’ कोषका एक सदस्य भन्छन् ।

कार्यकारी निर्देशकका हैसियतमा कोषको कार्यवाहक सदस्यसचिव बनेका जोशीले पदको दुरुपयोग गर्दै सदस्य सचिव चढ्ने गाढी परिवारका सदस्यलाई दिएपछि उनीविरुद्ध कोष हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी परेको छ ।

कावा सदस्यस्यसचिव भएपछि उनले सदस्यसचिवले चढ्दै आएको बा१झ ८१०२ नम्बरको स्कार्पियो गाडी श्रीमतीलाई जिम्मा लगाएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै कोषदेखि अख्तियारसम्ममा उजुरी परेको छ । श्रीमती र परिवारका आफन्तले दुरुपयोग गर्दै आएको सो सवारी गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीमा आन्दोलनकारीले जलाइदिइसकेका छन् ।

भंैसेपाटीमा गाडी जले पनि जोशीले गौशाला प्रहरी वृत्तमा गाडीको मुचुल्का तयार पार्न खोजेपछि कोषका पदाधिकारी र प्रहरीले नमानेपछि हालसम्म गाडीको अवस्था भने अज्ञात छ । प्रहरीले भने आन्दोलनमा जलेका गाडीको लिस्टमा पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सो गाडी नभेटिएको बताएको छ ।

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव प्रशासनिक पद हो । जसले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्र गर्ने अधिकार राख्छ । तर, जोशीले कोषको समन्वयन र सहमतिसमेत नलिई आफुखुसी निर्णय गर्ने गरेको भन्दै कोषका पदाधिकारी नै असन्तुष्ट छन् ।

एकपछि अर्को विवादमा मुछिएका जोशीलाई नै पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव बनाउन प्रधानमन्त्री कार्यालयका कर्मचारीदेखि पर्यटन मन्त्रालयका सचिवसम्मले लबिइङ गरिरहेको स्रोतको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने