काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) नयाँ नेतृत्व बोकेर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने देखिए पनि १५ वटा दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी भने नयाँ नेतृत्व’bout अन्योलमा छ ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व र सन्देशसहित मत माग्ने कांग्रेस–एमाले रणनीति
ताजा जनादेश लिनुअघि कांग्रेस र एमालेले आन्तरिक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्दै छन् । एमालेले २७ देखि २९ मंसिरमा र कांग्रेसले २६ देखि २८ पुसमा महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने महाधिवेशनमार्फत नयाँ पार्टी नेतृत्वलाई भन्दा निर्वाचनलाई प्राथमिकतामा राखेको बताएको छ । उसले २१ फागुनको निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने बताएको छ ।
नेकपाका नेता प्रकाश ज्वालाले पार्टीको अहिले सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित भएको बताए । २१ फागुनको निर्वाचन सफल बनाउने र निर्वाचनमार्फत पार्टीलाई पहिलो शक्ति बनाउनेगरी लागेको उनले बताए । पार्टीको महाधिवेशन ६ महिनाभित्रमा गर्ने बताउँदै ज्वालाले निर्वाचनअघि नेकपाको महाधिवेशन नहुने बताए ।
‘हाम्रो अर्जुनदृष्टि भनेको २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउने र निर्वाचनमार्फत पार्टीलाई पहिलो शक्ति बनाउने हो, अहिले हामी विभिन्न १५ वटा दल तथा समूह मिलेर निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश कार्यक्रम गर्दै छौं, प्रदेश एवं प्रमुख सहरमा यो कार्यक्रम सम्पन्न गर्दै जिल्ला, पालिकास्तरमै एकताको कार्यक्रम लिएर जादै छौं,’ ज्वालाले राजधानीसँग भने ।
अहिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचन र एकीकरणपछि बनेको नेकपाको सांगठनिक कार्य सम्पन्न गर्दै पार्टीलाई व्यवस्थित गर्नुमा लागेको ज्वालाले बताए । १९ कात्तिकमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ दलबीचमा पार्टी एकता गर्दै नेकपाको घोषणा भएको थियो । त्यसयता अन्य विभिन्न समूहहरूसमेत नेकपामा एकीकृत भएको छ । १५ भन्दा बढी दलहरू नेकपामा एकीकृत भइसकेका छन् ।
१९ कात्तिकमा नेकपाको घोषणा भएकाले वैशाखमा महाधिवेशन गर्नुपर्ने हुन्छ । पार्टी एकताको घोषणा गर्दै नेताहरूले ६ महिनाभित्रमा महाधिवेशन गर्ने सहमतिसमेत गरेका छन् । सोहीअनुसार नेकपाले वैशाखमा महाविधेशन गर्नेछ ।
नेकपामा नेता दीनानाथ शर्माले अहिले पार्टी एकता सन्देशसभाका साथै निर्वाचनलक्षित जनसभामा पार्टी लागेको जनाएका छन् । कतिपय दलका नेताहरूले निर्वाचनको विरोधमा अभिव्यक्ति दिँदैगर्दा नेकपा जसरी पनि निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा अडिग छ । कुनै पनि बहाना वा कारणले निर्वाचन रोकिन नहुने बताउँदै तोकिएकै मितिमा जसरी पनि निर्वाचन हुनुपर्ने शर्माले बताए ।
‘अहिले हामी पार्टी एकता सन्देशसभाका साथै चुनावी सभा पनि गरिरहेका छौं, विभिन्न पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टीको घोषणा भएपछि सांगठनिक कार्य टुंग्याउन बाँकी नै छ, त्यसलाई टुंगो लगाउँदै हामी निर्वाचनमा केन्द्रित आफ्नो गतिविधि बढाउँदै छौं, यो एकतासभा मात्रै नभई चुनावी सभा पनि भएकाले हामी निर्वाचनमा जुटिसकेको हो,’ शर्माले भने, ‘हामीले पार्टी एकताको सम्पूर्ण कार्य सम्पन्न गर्दै निर्वाचन सम्पन्न गरेरै महाधिवेशन गर्छौं, हाम्रो पार्टीको महाधिवेशन अहिले हुँदैन, निर्वाचनपछि हामी महाधिवेशन गर्छौं ।’
निर्वाचन र पार्टी एकताको सांगठनिक कार्य पहिलो प्राथमिकतामा रहेको बताउँदै उनले निर्वाचनपछि मात्रै महाधिवेशनमा लाग्ने बताए । पार्टी संगठनका साथै जनवर्गीय संगठनहरूलाई एकीकरण गर्दै अहिले सम्पूर्ण शक्ति निर्वाचनमा लागाउने पार्टीको नीति रहेको शर्माले बताए ।
कांग्रेसले गत सोमबारको केन्द्रीय कार्यसमितिको बैठकबाट १५औं केन्द्रीय अधिवेशन २६ देखि २८ पुस काठमाडौंमा गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि कांग्रेसले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सोहीअनुसार गतिविधि अघि बढाएको छ ।
उता, एमालेले २७ देखि २९ मंसिरमा काठमाडौंमा महाधिवेशन गर्दै छ । प्रतिनिधि छनोट गरिसकेको एमाले महाधिवेशन केन्द्रित कार्यक्रममा छ । पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यक्रमअनुसार एमाले त्यसको तयारीमा जुटेको छ । कांग्रेस र एमालेले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै निर्वाचनमा आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गर्नेछन् ।






