काठमाडौं । पप गायक धिरज राई यो शुक्रवार १९ मंसिरमा आफ्नो एकल गीतहरू सहित ‘धिरज राई एकल कन्सर्ट’मा प्रस्तुत हुने भएका छन् । आफ्नो एकल प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको उनले मंगलबार सञ्चारकर्मीहरूलाई बताए ।

जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने एकल कन्सर्टमा आफ्ना डेढ दर्जन गीतहरू प्रस्तुत गर्ने तयारी भइरहेको पनि धिरजले बताएका छन् । २०५२ सालबाट गायनमा उत्रिएका उनको सांगीतिक करिअर ३० वर्ष पुगेको छ । यही खुसी साट्नको लागि आफू कन्सर्टमा प्रस्तुत हुन लागेको पनि उनले बताएका छन् ।
आफ्नो स्वरमा करिब पाँच दर्जन गीतहरू रेकर्ड गरेका धिरजले यो कन्सर्टमा ‘लुकी लुकी…’, ‘तिमी रुँदा…’, ‘मिस्ट्रियस गर्ल…’, ‘तिम्रा नयन…’, ‘सेक इट सेक इट…’ र ‘हिमाल नझुके सम्म…’, ‘सोई ढोले सोई…’ जस्ता चर्चित गीतहरू प्रस्तुत गर्ने भएका छन् ।
गायक धिरजले २०५२ सालमा आफ्नो स्वरमा पहिलो गीत ‘लुकी लुकी…’ बजारमा ल्याएका थिए । ‘द मूभ’ ब्यान्डबाट उनले सांगीतिक करिअर सुरु गरेका थिए । पहिलो गीत नै हिट भएपछि उनले गायनलाई निरन्तर रूपमा अघि बढाए । तरु त्यति बेला गीत गाएर जीवन चलाउन सजिलो थिएन । पेसाले ओभरसियर भए पनि त्यति बेला अँग्रेजी भाषाको ट्युसन बढाएर आफूले ओभरसियर पेसासँगै गायनलाई अघि बढाएको धिरजले बताए । पछि स्टेज कार्यक्रम धेरै पाउन थालेपछि उनले ट्युसन पढाउन छाडेका थिए ।
विगत एक दशक भन्दा लामो समय देखि ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश फैल्याउन २५ भन्दा बढी देशमा पुगेर कन्सर्ट गरेका उनी यो सन्देशलाई यस पटकको कन्सर्टमा पनि सुनाउने छन् । प्रत्यक्ष वाद्यवादन सहित यो एकल कन्सर्टमा आफू प्रस्तुत हुन लागेको उनले बताएका छन् ।
यो कन्सर्टको व्यवस्थापन ‘लायन्स क्लब अफ एभरेस्ट बुद्ध जन्मभूमि’ले गरिरहेको छ । कन्सर्टको आम्दानीबाट खर्च काटेर बचेको रकम ‘सृजनशील बाल सेवा परिवार’ गोठाटारलाई सहयोग गरिने आयोजक पक्षले जनाएको छ । यता धिरजले आफ्नो ३० वर्षको गायन यात्राको खुसी दर्शकसँग साट्दै कन्सर्टबाट उठेको रकम बालबालिकाहरूको अध्ययनमा सहयोग गर्न पाउँदा आनन्द मिल्ने सञ्चारकर्मीलाई बताए ।









