सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका – ६ मा अपाङ्गता भएका दुई जनालाई व्हीलचेयर वितरण गरिएको छ।
गणेश लीला आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा सुन्दरहरैंचा डिपु टोल निवासी मान बहादुर राई र हाम्रो टोल विकास संस्थाका टंक बहादुर श्रेष्ठलाई ह्वील चेयर वितरण गरिएको कार्यक्रमका अध्यक्ष तथा समाजसेवी मान बहादुर श्रेष्ठले जानकारी दिए। अध्यक्ष तथा समाजसेवी श्रेष्ठ तथा धन बहादुर याम्फु राईको पहलमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेबाट प्राप्त व्हीलचेयर वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि इन्जिनियर खड्ग बहादुर बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्ष रुपमा भेटेर ह्वीलचियर हस्तान्तरण गर्ने अवसर जुराइ दिएकोमा समाजसेवी श्रेष्ठ र इन्जुरी संघ कोशी प्रदेशलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा समाजसेवी राजेश मास्केले व्हीलचेयरको प्रयोगले अपाङ्गता भएका व्यक्तिको जीवनको गुणस्तरमा सुधार ल्याउन अत्यन्तै सहयोगी हुने र यसका लागि स्थानीय तहहरूले पनि आवश्यक व्यवस्था मिलाउनु पर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा समाजसेवी मान बहादुर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको जीवनाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले व्हीलचेयर सहयोग गरिएको बताउदै आगामी दिनहरूमा सुन्दरहरैंचा – ६ मा रहेका अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि व्हीलचेयर उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे।
ह्वील चेयर पाएपछि हर्षित हुदै मान बहादुर राईले भने ‘आफ्नौ दैनिक जीवनलाई सहज बनाउने सबैलाई धन्यवाद “अब मेरो दैनिकी अझै सहज हुनेछ,हिड्डुल गर्न पनि सहजता आउने छ।” समाजसेवी श्रेष्ठकै पहलमा गणेश लीला आधारभूत स्वास्थ्य केन्द्र,सव- वन कार्यालय, लाटीझोडा र गछिया प्रहरी चौकी स्थापना भएको थियो।









