छाला नृत्यसँगै ठाडो खेल ढुक्को खेलेर मनाइँयो चामासमैजी जाँत

समैजी देवताको जाँतका दिन चमा गाउँको गहुबारीमा लागेको मेलामा खेलिदै गरेको ठाडो खेल ढुस्को र मेला भर्नेहरुको घुईचो । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । लोप हुने अवस्थामा रहेको सुदूरपश्चिमको मौलिक कला संस्कृति हो ठाडो खेल । देवीदेवताको बखान, राजा रजौटा, वीर पुरुषहरुको गाथा र उहाँहरुको मायाप्रेमको कथालाई समेत ठाडो भाकामा गीत गाउदै गोलबद्ध भई पैतला अघिपछी सादै दायँबायाँ घुमेर हल्का बसेजस्तो गरि ठाडो खेल खेलिन्छ । खेल भनिए पनि यो खेलकुद प्रतियोगिता नभई डोट्याली भाषाको कला संस्कृती हो । ठाडो खेलमा ढुस्को, चैत र धुमारी पर्दछन । तर हाल ठाडो खेल गाउँका केही कुना कान्तरामा मात्रै सिमित बनेको छ ।

सुदूरपश्चिमको एउटा कला संस्कृती डेउडा तर्फ संसारभर रहेका नेपालीलगायत अरुहरु पनि आकर्षित भईरहको भएपनि ठाडो खेल भने लोप हुने अवस्थामै पुगेको छ । ठाडो खेललाई यहाँका देउताका विभिन्न पर्वहरुमा ग्रामिण भेगका बुढापाका गाउँलेहरुले मात्रै जीवन्त दिईरहेको देख्न पाईन्छ । डेउडा र छाला नृत्य भने नयाँ नयाँ प्रबिधिमासमेत उछाल मचाईनै रहेका छन । डेउडा भाकामा र्यापसमेत मिसाई प्रबिधि र आधुनिक जमनामैत्री बनाईदा ठाडो खेल बिलुप्त हुने अवस्था छ ।

देवताहरुको राजधानीका रुपमा लिईने नवदुर्गा गाउँपालिका ५ चमागड क्षेत्रमा समैजी, सिगास, कैलपाल देउतालगायत माता भगवतीको मन्दिर रहेका छन । यी सबै देउताहरुको पूजाआजामा दाईनदमाह, झ्याली, रुईसिंग बाजाका धुनमा सुदूरपश्चिमको मौलिक कला संस्कृती छाला, छलिया नृत्यको चौलौसंगै ठाडो खेलहरु पनि हुने गरेका छन । बुढापाकाहरुले मात्रै खेल्ने गरेको ठाडो खेलमा युवा सहभागिता हुन नसक्दा अबका केही वर्षमै बिलुप्त हुने निराशा छ ।

चमागडको समैजी मन्दिरमा मंसिर महिनाको दशमी तिथिमा भव्य रुपमा वर्षिक मेला लाग्छ । सप्तमीको दिन भगवती मन्दिरमा एक पाला पूजागरि दोस्रो दिन सिगास मन्दिरमा पूजा र तेस्रो दिन समैजी मन्दिरमा राती धम्यौली (देउताका धामिहरु काप्ने) चौलोसहित रतेडी मनाउने र दशमीका दिन दिउसोभरी छालासहित चौलो, ठाडो खेल (ढुस्को, चैत, धुमारी) खेलेर बेलुकी समैजी देवताको मुख्य बासस्थान रहेको चमागाड खोला नजिकको थपनामा बिषेश पूजाआजा गरि भोजन ग्रहण पश्चात पूजा सम्पन्न हुने प्रचलन रहिआएको समैजी देवताका पुजारी ज्योतिष ब्राहमण तपराज अवस्थीले जानकारी दिए ।

पुर्खादेखी आस्थाको धरोहरका रुपमा बिराजमान समैजीलगायत अरु देउताको दशमी तिथिका दिन हुने मुख्य मेला चमा गाउँको पाखो जमिनमा गरिएको गहुबाली खेती बारीमा हुने गरेको छ । हजारौ मानिसहरु सहभागी हुने भेलाको मुख्य चौलो छाला नृत्य र ठाडो खेल गहु लगाईएको बारीमै हुन्छ । पाखो बारीमा कात्तिक महिनामा छरिएका ठुला गह्रामा उम्रिएको स साना गहुका विरुवा फाँडिएर पुरै धुलाम्य हुने गरेको छ । तर यसै गह्रामा सबैभन्दा बढी गहु उत्पादन हुने जनविश्वास अहिले पनि प्रमाणित हुने गरेको पुजारी अवस्थीले बताए । देवताकै शक्तिले फाँडिएको गहुबालीले राम्रो उत्पादन दिने जनविश्वास हाल पनि प्रमाणित भईरहेको उनको भनाई छ ।

यहाँ मात्रै नभई वडा नं. ४ सिरोडको भुवा, वडा नं. ३ को चेल्पी गाउँमा रहेको नवदुर्गा माताको मेला पनि गहु बारीमै हुने गरेका छन । यी तीन वटै गाउँमा सिंचाईको व्यवस्था नहुदा आकाशे पानीको भरमा खेतीपाती हुदै आएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मिप्रसाद अवस्थीले भने, चौलौ, ठाडो खेल र गाँज नचाईने यी तीन वटै ठाउँका गह्रामा गरिएको गहुबाली खेती मेलाका दिन पूर्ण रुपमा फाँडिए पनि सबैभन्दा राम्रो फसल लिन सकिन्छ । यो देउताको शक्ति नभएर के हो त ? यस कारण पनि यहाँका स्थानीयहरुमा देउता प्रतिको आस्था झनै बढिरहेको उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने