पुनः निर्वाचन हुँदैनः अध्यक्ष आङ्ला
धनकुटा । विवादका बीच नेकपा एमाले धनकुटाले गरेको प्रतिनिधि चयनलाई रद्ध गर्दै केन्द्रिय कार्यालयले पुनः मतदान गर्न निर्देशन पठाएको छ। अन्तर पार्टी निर्देशन १३ को निर्देशन विपरीत प्रतिनिधि छानिएको भन्दै केन्द्रले पुनः प्रक्रिया अघि बढाउन भनेको संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।
संगठन विभाग प्रमुख अधिकारीले परिपत्र गरेको निर्देशनमा भनिएको छ, ‘नेकपा (एमाले) एघारौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका सम्बन्धमा स्वच्छ, निस्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न पार्टी केन्द्रको अपानि–१३ ले निर्देशन गरेको भए पनि धनकुटा जिल्लाको निर्वाचनमा त्यस्तो नदेखिएकाले मंसिर १३ गते भएको त्यस जिल्लाको महाधिवेशन प्रतिनिधि निर्वाचन पूर्ण भएको महसूस गर्न सकिएन। तसर्थ प्रभावकारी माध्यामवाट सवै सदस्यलाई सूचना सम्प्रेषणगरी पालिकास्तरमा मतदान केन्द्र व्यवस्थापन गरी पाँच दिनभित्र पुनः निर्वाचन गर्न निर्देशन गरिन्छ ।’
निर्वाचन प्रक्रियामा सहयोग र सहजीकरण गर्नका लागि प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र राईलाई तोकिएको परिपत्रमा उल्लेख छ। गत १३ गते धनकुटामा भएको भएको प्रतिनिधि छनोटको निर्वाचनमा ४ हजार ६ सय ८८ मत खसेको बताइएको थियो। धनकुटामा ८ हजार २ सय ३६ पार्टी सदस्य रहेको बताइएको छ।
यता एमाले धनकुटा अध्यक्ष शिव आङ्लाले केन्द्रले पत्र पठाएपनि निर्वाचनको प्रक्रिया पुन अघि नबढ्ने बताएका छन्। उनले पार्टीको अनुशासन उल्लंघन गर्ने पक्षको पक्षमा आएको पत्रको जिल्ला पार्टीले कुनै पालना नहुने जिकिर गरे। उनले पार्टीको अनुशासन उल्लंघन गर्नेको लागि छानविन गर्न जिल्ला उपाध्यक्ष चिन्तन तामाङको संयोजकत्वमा कार्यदल गठन गरिएको जानकारी दिए।
एमालेको मंसिर २७ देखि २९ गतेसम्म काठमाडौं हुने ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटामा प्रतिनिधी छनौटमा सहमति जुट्न नसकेपछि केन्द्रिय सदस्य राजेन्द्र राई पक्षले मतदान प्रकृयाबाट एकलौटी प्रतिनिधि छनौट गरेको थियो। प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली पक्षले एकलौटी गरेको भन्दै मतदान प्रक्रिया बहिस्कार गरेको थियो।
मतदान प्रक्रियाबाट सबै राई पक्षका निर्वाचित भएका थिए। जसमा खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका थिए भने महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित भएका थिए। यस्तै युवातर्फ सरोज राई निर्वाचित भएका थिए भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएका थिए ।
निर्वाचन बहिस्कार गरेका प्रदेश सचिवालय सदस्य पराजुली पक्षका खुल्ला तर्फ निरेन तामाङ र मनोज राई उमेद्वार रहेका थिए भने महिला तर्फ मनकुमारी तितुङ र युवा तर्फ कमल कार्की उमेद्वार रहेका थिए। पराजुलीसहित उनका पक्षका नेताले राई पक्षले मनोमानी गरेर अघि बढाएको मतदान नमानिने बताउँदै आएका थिए। पराजुली पक्षले निर्वाचन बहिष्कार गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै मतपत्र च्यातेका थिए। उनीहरूले चाउचाउको कार्टुनमा मतदान गरिएको बताउँदै फर्जी मतदान गरिएको आरोप लगाएका थिए।
पराजुलीले सहमति गर्ने भनेर अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता लिन लगाई गुटगत मतदान गरिएको बताउँदै गुट तोड्न केन्द्रले निर्देशन गरेको जानकारी दिए। पहिले सहमतिको आधारमा ४ जना पराजुली पक्षका र ९ जना राई पक्षबाट प्रतिनिधी छनौट गर्ने सहमति पछि सोही अनुसार ४ जनाको मात्रै नाम राखेर अन्यको नामावली फिर्ता गरिएको पराजुलीले बताए। एकै जनाले पचास साठी मत हालेर गरिएको निर्वाचन केन्द्रले बदर ग¥यो अब निष्पक्ष प्रतिनिधी छनौट हुने अपेक्षा रहेको पराजुलीको भनाइ छ।
धनकुटामा असन्तुष्टमध्ये केन्द्रीय सदस्य शकुन्तला बस्नेत, नेताहरू चन्द्र बस्नेत, मञ्जु अधिकारी, बलदीप राई, निरेन तामाङ र तारा तितुङ लगायत रहेका छन्। मतदान भएको धेरै ठाउँमा फर्जि मत हालेर आफ्नो पक्षका नेतालाई मात्रै जिताएको पराजुली पक्षको आरोप छ।
धनकुटामा विवाद गरिरहेका नेताहरु राई र पराजुली दुवै एमाले अध्यक्ष केपी ओली पक्षका नेता हुन्। उनीहरुको विवाद केन्द्रको आधारमा नभइ जिल्लामै कसले प्रभुत्व जमाउने र को ओलीको नजिक देखिने भन्नेमा रहेको नेताहरुले बताउने गरेका छन्।
इतिहासलाई फर्केर हेर्ने हो भने पराजुली पक्ष सुरुबाटै ओली निकटका नेता हुन्। २०५४ सालमा एमाले विभाजन हुँदा राजेन्द्र राई बामदेव गौतमको नेतृत्वको मालेमा आवद्ध भएका थिए। राईसँगै शिव आङ्ला, निरन राई, चिन्तन तामाङ लगायतका नेताहरु माले बनेका थिएँ। २०५६ को आम निवार्चनमा एमालेलाई हराउन उनीहरुले ओली भनेको महाकाली संधिको रचैयता, राष्ट्रघाती हुन् भन्दै मत नै मागेका थिए। तर, मालेले उक्त निर्वाचनमा एक सिट पनि प्राप्त नगरेपछि एमाले र माले एकीकरण भएको थियो। तत्पश्चात् राईको टिम बामदेव गौतमसँगै झलनाथ खनालको टिममा लागेका थिए। झलनाथले ओलीलाई मौन समर्थन गर्दा बामदेवसँगै ओलीलाई साथ दिन पुगेका थिए।
तर पराजुली पक्ष भने २०४६ साल देखि नै ओली पक्षका नेताहरु हुन्। एमाले माले फुट पछि धनकुटामा एमाले बचाउँने समूहमा गोपाल गुरागाई, सकुन्तला बस्नेत, धर्मराज पौडेल, टिकाराम चेम्जोङ, दुर्गा लिंखा र इन्द्रमणी पराजुली लगायतका नेताहरु हुन्। अहिले गुरागाई, बस्नेत, चेम्जोङ र पराजुली एमाले मै रहेका छन भने पौडेल नेकपा एस हुँदै नेपाली कम्युनिष्ट पार्टीमा खुलेका छन्। यस्तै लिंखा नेकपा एस पछि अहिले कुनै पार्टीमा आवद्ध छैनन्।
त्यसो त यसअघिको जिल्ला अधिवेशनमा समेत राई र पराजुली पक्ष छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए, त्यसमा राई पक्षका पदाधिकारी सहित अधिकांश पदमा निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा ७ वटै स्थानीय तहका प्रमुख र उप्रमुखदेखि अधिकांश वडा जितेको एमालले प्रदेश र संघीय सांसदसमेत क्लिन स्वीप गरेको थियो। पछि २०७९ को स्थानीय तह निर्वाचनमा ४ वटा स्थानीय तहको प्रमुख र एक वटा स्थानीय तहको उपप्रमुखमा पराजित भएको थियो भने प्रदेश र संघीय सांसद भने जितेको थियो। आन्तिरिक विवादका कारण केही खुम्चिएको एमाले यो विवादले बिग्रिने अवस्थामा पुगेको नेताहरुको भनाइ छ ।







