भोजपुर । भोजपुरका किसानका गाई, भैंसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ । नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न यहाँ कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो ।
नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले बताए । ‘गाई भैंसीमा नश्ल सुधार गर्नको लागि कृतिम गर्भधान सेवा प्रदान गरिरहेका छौँ’ प्रमुख दाहालले भने,‘सेवा केन्द्रसँगै किसानको गोठसम्म पुगेर सेवा प्रदान गरिरहेका छौँ ।’
यहाँका धेरै किसानहरु पशुपालनमा लागेका भएपनि गाई,भैंसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन् । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गराउने उद्देश्यले सेवा सुचारु गरिएको केन्द्रको भनाइ छ ।
कृतिम गर्भधान गराउँदा नश्ल सुधारसँगै साढेबाट सर्ने रोग न्यूनिकरणमा सहयोग पुग्ने प्रमुख दाहालहको भनाइ छ ।
कृतिम गर्भधानले पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित हुनमा सहयोग पु¥याउने विज्ञ केन्द्रले जनाएको छ।






