ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गरेको छ । पालिकामा सुन्तला खेतीबाट वार्षिक ५ करोडबढी रुपैयाँको हुँदै आएको छ । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिक रूपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरूले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

ताप्लीको ओख्ले, लेखगाऊँ, पीपलभञ्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा ५ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिए । २०५० सालदेखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्न थालिएको ओख्लेका ज्ञानबहादुर ठकुरी बताउँछन् ।

‘अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला जोन क्षेत्र बन्न सफल भएको छ,’ ठकुरीले भने ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लामा अहिले झन्डै २ सय ५८ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । ताप्ली गाउँपालिकाका विभिन्न क्षेत्रमा मात्रै १ सय ८० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको ज्ञान केन्द्रले जनाएको छ । सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको छ ।

ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धना मगर केही वर्षयता यस क्षेत्रमा वार्षिक झन्डै २ हजार ४ सय मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखाको तथ्यांकले देखाएको बताइन् । उनले भनिन्, ‘अन्य अन्नबाली उत्पादन पर्याप्त हुँदैन, सुन्तलाका लागि नै यो क्षेत्र उपयुक्त छ ।’

गाउँपालिकाले जनताको आर्थिकस्तर उकास्न सुन्तला जोन क्षेत्र घोषणा गरी घरघरमा सय बोट सुन्तला हुर्काउने अभियान सञ्चालन गरेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विकले बताए । उनले भने, ‘ताप्ली गाउँपालिकालाई कृषिको माध्यमद्वारा समृद्ध बनाउने अभियानमा हामी लागेका छौं, विगतमा परम्परागत रूपमा गरिँदै आएको खेतीलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै उन्नत खेती गर्न लागेपछि उत्पादन र आम्दानीमा पनि वृद्धि भएको छ ।’

ताप्ली पीपलभञ्ज्याङका बीर्खबहादुर राई यस क्षेत्रमा व्यावसायिक सुन्तला उत्पादन गर्ने कृषकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउँछन् । किसानको बोटमा नै सुन्तला प्रतिकिलो ८० देखि सय रुपैयाँसम्ममा बिक्री हुने गरेको किसान बताउँछन् । सुन्तलाको बजारीकरणमा कुनै समस्या नरहेको उनीहरू बताउँछन् ।

उत्पादित सुन्तला खरिद गर्न गाउँगाउँमा व्यापारीहरू आउने गरेकाले बजारीकरणको कुनै समस्या नरहेको किसान बताउँछन् । मकै, कोदो उत्पादन गर्दै आएको बाखोबारीमा सुन्तला खेतीबाट झन्डै पाँचगुणा बढी उत्पादन हुन थालेपछि किसान हर्षित भएका छन् । सुन्तला खेतीलाई धेरै मेहनत गर्न नपर्ने र एकपटक लगाएपछि वर्षाैंसम्म उत्पादन दिने भएकाले सुन्तला खेती किसानको पेन्सन जस्तै भएको उनीहरू बताउँछन् । वार्षिक रूपमा यहाँका किसानले कम्तीमा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

इलामका दुई क्षेत्र २७ उम्मेद्वार