उदयपुर । उदयपुर र दक्षिणी खोटाङबीच पहिलोपटक सीधा यातायात सञ्चालनमा आउने भएको छ ।
दुई जिल्लाबीच सीधा यातायातमा बाधक बनेको सुनकोशी नदीको बंशिलाघाटमा पहिलोपटक बेलिब्रिज निर्माण सुरु गरिएपछि उदयपुर र दक्षिणी खोटाङबीच सीधा यातायात सञ्चालनमा आउने भएको हो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१ बंसिलाघाट र खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने सुनकोशी नदीको बंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो । ५१ दशमलव ८१ मिटर लामो र ४ दशमलव १ मिटर चौडाइ भएको बेलिब्रिज पुस महिनाको पहिलो सातासम्ममा जडान सम्पन्न गर्नेगरी काम थालिएको निर्माण कम्पनीले जनाएको छ ।
कोशी प्रदेश सरकारको लगानीमा दुई जिल्ला जोड्ने सुनकोशी नदीमा बेलिब्रिज निर्माण गर्न गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपैयाँमा बेलिब्रिज जडान गर्नेगरी कामको जिम्मा लिएको हो । नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी जडान सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर बिनम दाहालले जानकारी दिए ।
चौदण्डीगढी नगरपालिकास्थित बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द थापाले हिउँदको ६ महिना मात्रै पनि उदयपुर र खोटाङबीच सीधा यातायात सञ्चालन हुनसके दुवै जिल्लाका स्थानीय, व्यापारी–व्यवसायीलगायतलाई ठूलो राहत हुने बताए । अध्यक्ष थापाले बंशिलाघाटमा पहिलोपटक बेलिब्रिज लगाएर उदयपुर र खोटाङलाई जोड्ने कामले स्थानीय व्यापारीहरूमा खुसी छाएको बताए ।
अहिले बेलिब्रिज जडान गर्न लागिएको ठाउँ सुनकोशी नदीको बंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँको लागतमा ३३ महिनामा पुल निर्माण सम्पन्न गर्नेगरी १ मंसिर २०७९ मा कालिका–वेदान्सी जेभीले सम्झौता गरेको थियो । तर, पुल निर्माणको कार्यमा चरम ढिलासुस्ती भएपछि स्थानीय जनताको मागअनुसार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज जडान गर्न थालेको हो ।
पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग बेल्टार बजारबाट १९ किलोमिटरमा बंसिलाघाट पुग्न सकिन्छ । सो बेलिब्रिज जडानपछि खोटाङका पूर्व दक्षिण भेग र भोजपुरका पश्चिम दक्षिणलाई सहज हुने विश्वास लिइएको छ ।






