कारागारबाट भागेर शृङ्लाबद्ध चोरी

पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार एकजना कैदीबन्दी पोखरामा केही दिनयताका शृङ्खलाबद्ध चोरीमा संलग्न भएको खुलेको छ ।

प्यूठान घर भई हाल पोखरा ३, नदीपुर बस्दै आएका २४ वर्षीय सुमित थापा मगर यस्ता व्यक्ति हुन्, जो विभिन्न मुद्दामा आठ पटकसम्म पक्राउ परेका थिए । पछिल्लो समय उनी कैद भुक्तानका लागि कास्की कारागारमा थिए । तर, जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अरु कैदीबन्दीसँगै उनी पनि भाग्न सफल भएका थिए ।

कारागारबाट छुटेयता पोखरामा एकपछि अर्को चोरीमा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित २ जनालाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार पोखरामा एकपछि अर्को चोरीका घटना बढ्न थालेपछि कार्यालयमा उजुरी परेको थियो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीसहित धादिङ घर भई हाल पोखरा–३, नदीपुर बस्ने २७ वर्षीय सुजन परियारलाई रामघाटबाट पक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा उनीहरुमध्ये सुमित यसअघि अभद्र व्यवहार, चोरी उद्योग, चोरी र केही सार्वजनिक अपराधसमेत गरी आठ पटकसम्म पक्राउ परेको खुलेको छ । त्यस्तै, अर्का सुजन पनि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।

दुबै प्रतिवादीलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान पक्राउ जारी रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी तथा डाँकासम्बन्धी कसूरमा ३ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रहरी अनुसन्धानमा उनीहरु करिब डेढ महिनामा फरक–फरक चार ठाउँबाट नगद तथा जिन्सी चोरी गरेको खुलेको छ । तीमध्ये सुमित चाहिँ सबै घटनामा संलग्न छन् ।

प्रहरीले तयार पारेको विवरणअनुसार २७ असोजमा पोखरा–१३, विपीमार्गस्थित पोखरा लक्ष्मी टे«डर्सभित्र काउन्टर टेबलको घर्रा फोडी ४१ हजार नगद चोरीमा सुमित संलग्न थिए । उनले राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, बिल बुक, नागरिकतासहितको ब्याग चोरी गरेको खुलेको छ ।

यसैगरी, ४ मंसिरमा पोखरा–४, आदर्श मार्ग सडक किनारमा पार्किङमा रहेको ग१४प १०२० नम्बरको होण्टा कम्पनीको पहेंलो कालो रङको डियो स्कुटरमा भने दुबै जना संलग्न रहेको पाइएको छ ।

६ मंसिरमा पोखरा–१७, ड्यामसाइडस्थित आरुस स्टोर्स प्रालिको ढोका फोडेर २ लाख ७३ हजार चोरी भएको थियो । उक्त चोरीमा पनि उनै सुमित संलग्न रहेको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

यसैगरी, १० मंसिमा पोखरा न्यूरोडस्थित एसबी वाइन सप अगाडि पार्किङमा रहेको ग१क २५९८ नम्बरको गाडीको लाइसेन्स, बिलबुक, एटिएम कार्ड, विभिन्न चेक र नगद ३५ हजार चोरीमा पनि दुबैजना संलग्न थिए ।

जेनजी आन्दोलनका कास्की कारागारबाट ७ सय ७३ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये अधिकांश फर्के पनि अझै १ सय ८० जना फरार सूचीमा रहेको कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । फरार हुनेहरुमध्ये जबर्जस्ती करणी, लागु औषधसमेतका गम्भीर प्रकृतिका कसूरमा जेल सजाय भोगिरहेकाहरु बढी रहेको शर्माले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता