अंग्रेजी ल्याब : भाषा सिकाइसँगै विद्यार्थीको कला प्रस्फुटनको केन्द्र

धनकुटा । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयका लागि अंग्रेजी विषय सधैं ‘टाउको दुखाइ’ बन्ने गरेको छ । शिक्षक अभाव, सिकाइ सामग्रीको कमी र विद्यार्थीको कमजोर आधारले अंग्रेजी शिक्षण चुनौतीपूर्ण मानिन्छ ।

तर, धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीमा रहेको पुण्य माध्यमिक विद्यालयले यो धारणा बदल्दै अंग्रेजी विषय समस्या होइन, अवसर बन्नसक्ने उदाहरण प्रस्तुत गरेको छ । विद्यालयले ३ वर्षअघि सञ्चालनमा ल्याएको इंग्लिस ल्याब आज विद्यार्थीको अंग्रेजी सुधार गर्ने मात्र होइन, उनीहरूको सिर्जनशीलता र कलात्मक क्षमता उजागर गर्ने प्रभावकारी माध्यम बन्दै गएको छ ।

विद्यालय परिसरभित्र रहेको एक सुसज्जित कोठा अहिले विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । कोठाभित्र पस्दा विद्यार्थीले आफैं निर्माण गरेका विभिन्न कलाकृति, चार्ट, परियोजना कार्य, जीवनी, सजावटका सामग्री देख्न सकिन्छ । विशेष के छ भने ती सबै सामग्रीको परिचय, व्याख्या र प्रस्तुति अंग्रेजी भाषामै गरिएको छ । विद्यार्थी खाली समयमा ल्याबमा पुगेर आफूलाई आवश्यक पर्ने कुरा पढ्ने, अभ्यास गर्ने र नयाँ कुरा सिक्ने गर्छन् । त्यसैले यो कोठा प्रायः विद्यार्थीले भरिएको देखिन्छ ।

विद्यालयले सञ्चालनमा ल्याएको ल्याबले विद्यार्थीलाई अंग्रेजी सिकाइ तथा आफ्नो कला प्रस्तुत गर्न धेरै फाइदा पुगेको कक्षा ११ का विद्यार्थी निशान याम्फू राईले बताए । यस्तै, अंग्रेजी ल्याबले फुर्सदको समयमा अंग्रजी विषयलाई धेरै सहयोग गरेको कक्षा १२ की विद्यार्थी मालती लिम्बुले बताइन् । विशेषगरी, ल्याबले व्याकरण सिकाइमा सहजता भएको लिम्बुको भनाइ छ ।

विद्यालयका अंग्रेजी शिक्षक बद्री बजगाईंले ३ वर्षअघि यो अभ्यास सुरु गरेका हुन् । उनका अनुसार ल्याबमा अंग्रेजी भाषाका चारै सीप (सुन्ने, बोल्ने, पढ्ने, लेख्ने) र चारै पक्ष (व्याकरण, शब्द भण्डार, उच्चारण, प्रयोग) समेटिनेगरी शिक्षक तथा विद्यार्थीले तयार पारेका सामग्री राखिएका छन् ।

यहाँ पाठ्यक्रममा समावेश गरिएका सबै क्रियाकलाप प्रयोगात्मक अभ्यासमार्फत गराइन्छ । राष्ट्रिय विभूति, देश–विदेशका व्यक्तित्वदेखि गाउँपालिकाबाट राष्ट्रलाई योगदान पु¥याएका व्यक्तिसम्मको जीवनी विद्यार्थीले नै तयार पारेका छन् । ती सबै सामग्री अंग्रेजीमै प्रस्तुत गरिएको छ । सिकाइलाई रोचक, जीवन्त र व्यावहारिक बनाउने, अनि भाषालाई कलासँग जोडेर प्रयोग गर्ने उद्देश्यले यसको सुरुवात गरिएको शिक्षक बजगाईं बताउँछन् ।

यी क्रियाकलापले विद्यार्थीको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार ल्याएको विद्यालयको दाबी छ । विशेषगरी, कमजोर मानिने अंग्रेजी विषयमा सिकाइ उपलब्धि उल्लेख्य रूपमा बढेको छ ।

गत वर्षको एसईई परीक्षामा अंग्रेजी विषयमा ९४ दशमलव ७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गाउँपालिकाका अन्य विद्यालयभन्दा फरक सिकाइ शैली देखिएपछि हाल यस विद्यालयमा विद्यार्थीको चापसमेत बढ्दै गएको विद्यालयले जनाएको छ । अनुकरणका लागि अन्य विद्यालयका शिक्षकले समेत अवलोकन भ्रमण गर्ने गरेको विद्यालयका प्रधानाध्यापक युवराज कटुवालले बताए ।

विद्यालयले इंग्लिस ल्याबका अतिरिक्त राष्ट्रिय विज्ञान दिवसलगायतका अवसरमा विद्यार्थीले तयार पारेका सामग्रीको बृहत् शैक्षिक प्रदर्शनी र प्रतियोगितासमेत आयोजना गर्दै आएको छ । यसले विद्यार्थीको रुची, क्षमता पहिचान गर्न र विद्यालयको शैक्षिक गतिविधि सार्वजनिक गर्न सहयोग पु¥याएको कटुवालले बताए ।

ग्रामीण विद्यालयमा सीमित स्रोतसाधनबीच पनि पुण्य माध्यमिक विद्यालयको अंग्रेजी ल्याब सञ्चालनले सही सोच, सिर्जनशील अभ्यास र प्रतिबद्धताले कस्तो परिवर्तन सम्भव छ भन्ने उदाहरणीय बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

'प्रचण्ड’सँग लड्न खेममान खड्का उम्मेदार