कलाकार किरण केसीले हस्तान्तरण गरे प्रहरी वृत्त

काठमाडौं । हास्यव्यंग्य अभिनेता किरण केसी आइतबार बिहान सात दोबाटो प्रहरी वृत्त ललितपुरको उद्घाटन समारोहमा निकै भावुक देखिए । गत २४ भदौमा जेनजी पुस्ताको आन्दोलनमा आगजनी गरेर सो प्रहरी वृत्तलाई जलाइएको थियो । आगजनी भएको दुई दिन पछि २७ भदौबाट सो वृत्तलाई नागरिक समाजबाटै पुन निर्माणको लागि अध्यक्षको जिम्मेवारी लिएका कलाकार केसीले पूर्ण निर्माण सम्पन्न गरेर आइतबार सो वृत्त प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सो वृत्तको पुन निर्माण भवनको आइतबार बिहान उद्घाटन गर्दै कलाकार किरण केसी ‘राता मकै’ले यो वृत्तको भवन निर्माण गरेर प्रहरीमा उत्साह जगाएको बताए । जलेर खरानी भएको वृत्त फेरी निर्माण गरिएको प्रसंगमा आफूले लेखेको गीतको केही हरफ समेत सुनाउँदै महानिरीक्षक कार्कीले नागरिक र प्रहरी साथी भएकाले एक अर्कामा हातेमालो गर्दै अघि बढ्नु पर्ने सुझाव दिए । सरकारसँग कत्ति पनि सहयोग नलिई आफ्नो अध्यक्षतामा भवन पुन निर्माण समिति गठन गरेर ९१ दिनमै तयारी गरी हस्तान्तरण सहित कलाकार किरण केसीको टिमले उदाहरणीय कार्य गरेको महानिरीक्षक कार्कीले बताए ।

कार्यक्रममा अग्रज हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफू दोस्रो पटक यो भवन उद्घाटन गर्न आएको बताए । कलाकार किरण केसीकै संयोजकत्वमा २०७० सालमा नागरिकबाट निर्माण गरेर हस्तान्तरण गर्दाको क्षण स्मरण गर्दै मदनकृष्णले भने,‘यो भवनलाई अबका दिनमा यसरी उद्घाटन गर्नु नपरोस् । यसमा नयाँ भवनहरू थप्दै अझ प्रगति होस भन्ने कामना गर्दछु’, उनले सामाजिक कार्यमा किरण केसी सधैँ अग्रणी रहने गरेको पनि बताए । लगातार तिन महिनासम्म खटेर प्रहरी वृत्तको भवन तयार गरेर कलाकार किरण केसीले हस्तान्तरण गर्दा आफूहरूलाई गर्व लागेको पनि उनले बताए ।
यस्तै अर्का हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले आफन्तलाई भेट्न बुटवल पुगेको बेला शनिवार एक्कासि किरण केसीको फोन आएपछि भेटघाट छाडेर यो वृत्त उद्घाटनको लागि काठमाडौँ आएको जनाए । जीवनमा जहिले पनि आफूलाई अप्ठेरो पर्दा अघि बढ्न हौसला दिने कलाकार किरण केसी विगत १२ वर्षदेखि प्रहरी सहित धेरै नागरिकको हौसला बन्न सफल भएको उनले जिकिर गरे । किरण केसीसँगको सहकार्यमा आफूहरूले पनि धेरै सामाजिक कार्यहरू गरेको स्मरण पनि कलाकार हरिवंश आचार्यले कार्यक्रममा सुनाए ।

सो भवन निर्माण गर्न सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद दिँदै कलाकार किरण केसीले त्यो प्रहरी वृत्त जल्दाको दिन आफू जीवनकै बढी दुखी भएको बताए । उनले कार्यक्रममा भने,‘यहाँको प्रहरी वृत्त र ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेर जलाएको खबर सुन्दा म निकै रोएँ । त्यो हेर्नका लागि दुई दिनसम्म जान पनि सकिन ।’

स्थानीय बासिन्दा तथा सामाजिक अगुवाहरूले फेरी यो भवन निर्माण गरेर प्रहरीलाई जिम्मा लगाउनु पर्छ भन्दै आफूलाई निर्माण समितिको अध्यक्ष बनाएपछि नागरिक समाजबाटै खर्च जुटेको उनले बताए । आफूहरुले सहयोग नमागेको र सरकारबाट कत्ती सहयोग नलिएको पनि उनले जानकारी गराए । नगद र जिन्सी गरेर यो ९० दिनको अवधिमा एक करोड ६८ लाख रुपैयाँ उठेको र सो रकमबाट सात दोबाटो प्रहरी वृत्त र सात दोबाटो ट्राफिक कार्यालय पुन निर्माण गरेर आफ्नो टोलीले हस्तान्तरण गर्न सफल भएको उनले बताए । पुन निर्माणको खर्च काटेर बचेको १ लाख ४ हजार रुपैयाँ पनि उनको समुहले कार्यक्रममा प्रहरीलाई हस्तान्तरण ग¥यो ।

दुवै प्रहरी कार्यालय निर्माणको लागि आर्थिक सहयोग गर्ने दाताहरूलाई सो कार्यक्रममा महानिरीक्षक कार्की सहित कलाकार मदनकृष्ण, हरिवंश, किरण केसीलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२