काठमाडौं । निजी क्षेत्रको मनोबल कमजोर र आर्थिक गतिविधि अपेक्षाअनुसार गति लिन नसकेको अवस्थामा पनि नेपालका बाह्य आर्थिक सूचकहरू भने उल्लेख्य रूपमा सुदृढ बन्दै गएका छन् ।
अर्थतन्त्रमा आशा र चुनौतीको लहर
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनासम्मको तथ्यांकले विदेशी विनिमय सञ्चिति, विप्रेषण, चालू खाता र शोधनान्तर सबैमा सुधार देखाएको छ भने मुद्रास्फीति न्यून बिन्दुमा झरेको छ । तर, यही अवधिमा कर्जा विस्तार र आन्तरिक माग सुस्त रहनुले अर्थतन्त्रमा मिश्रित संकेत देखिएको छ ।
विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा आइपुग्दा १४ दशमलव १ प्रतिशतले वृद्धि भई ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । हालको सञ्चितिले १७ दशमलव ४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकको अनुमान छ, जुन बाह्य क्षेत्रको जोखिम न्यून भएको संकेत हो ।
विदेशी विनिमय सञ्चितिको यस वृद्धिले अर्थतन्त्रलाई बाह्य झट्काबाट जोगाउन तयार भएको देखाउँछ । आयात धान्ने क्षमतामा आएको सुधारले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका बीच पनि मुलुकको भुक्तानी सन्तुलन सुरक्षित रहने विश्वास बढाएको छ ।
चालू खाता र शोधनान्तर दुवै बचतमा
चार महिनाको अवधिमा चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ बचतमा थियो । यसले वैदेशिक आम्दानी आयात खर्चभन्दा उल्लेख्य रूपमा बढी रहेको पुष्टि गर्छ ।
यसैगरी, शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँ बचतमा पुगेको छ, जुन गत वर्षको सोही अवधिको २ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । शोधनान्तर र चालू खातामा एकसाथ देखिएको सुधारले बाह्य क्षेत्रमा स्थायित्व आएको संकेत गर्छ ।
रेमिट्यान्सले दिएको मुख्य सहारा
अर्थतन्त्रका बाह्य सूचक बलियो हुनुको मुख्य कारण विप्रेषण आप्रवाह हो । चालू आवको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१ दशमलव ४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर ९ दशमलव ४ प्रतिशत मात्रै थियो ।
कात्तिक महिनामा मात्र १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा हेर्दा समीक्षा अवधिमा विप्रेषण २५ दशमलव ३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ठूलो रहनु र औपचारिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति बढ्नु रेमिट्यान्स वृद्धिका प्रमुख कारण मानिएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ दशमलव ३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८ दशमलव २ प्रतिशतले बढेको थियो ।
खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।
चार महिनामा पौन ३ लाखले लिए श्रम स्वीकृति
राष्ट्र बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४५ हजार ९ सय ७३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ । नयाँ र पुनः दुवै श्रम स्वीकृतिमा उल्लेख्य संख्या कायम रहनुले वैदेशिक रोजगारीमार्फत आम्दानी निरन्तर आउने देखिन्छ ।
मुद्रास्फीति न्यून, उपभोक्तालाई राहत
मूल्य स्थिरताका दृष्टिले पनि अवस्था सहज बन्दै गएको छ । कात्तिकसम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति १ दशमलव ११ प्रतिशतमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहमा मूल्य घट्दा समग्र मुद्रास्फीतिमा उल्लेख्य कमी आएको हो ।
तर, गैरखाद्य तथा सेवा समूहमा भने केही मूल्यवृद्धि देखिएको छ । शिक्षा, कपडा, जुत्ता–चप्पल र घरायसी सामग्रीको मूल्य बढ्दा गैरखाद्य समूहको मुद्रास्फीति खाद्य समूहभन्दा माथि रहेको छ । समग्रमा भने मूल्यवृद्धिको गति सुस्ताएकाले उपभोक्ताको क्रयशक्तिमा राहत पुगेको विश्लेषण गरिएको छ ।
व्यापार र राजस्वको अवस्था
चार महिनामा निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेको छ भने आयात १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । निर्यातमा आएको उच्च वृद्धिले उत्साह जगाए पनि आयात अझै ठूलो परिमाणमा रहेकाले व्यापार घाटा पूर्ण रूपमा घट्न सकेको छैन ।
सरकारी वित्ततर्फ हेर्दा यस अवधिमा नेपाल सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ३ खर्ब २६ अर्ब ५५ करोड रुपैयाँमा सीमित छ । खर्च र आम्दानीबीचको अन्तरले सार्वजनिक वित्तमा दबाब कायम रहेको देखाउँछ ।
बैंकिङ क्षेत्र : तरलता भए पनि कर्जा सुस्त
बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन ३ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेप वृद्धिदर १३ दशमलव ४ प्रतिशत पुगेको छ । तर, निजी क्षेत्रमा प्रवाहित कर्जा भने चार महिनामा केवल १ दशमलव २ प्रतिशतले मात्र वृद्धि भएको छ । यसले निजी क्षेत्र अझै लगानी विस्तारमा सतर्क रहेको संकेत गर्छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा माग कमजोर रहनुले आन्तरिक आर्थिक गतिविधि सुस्त रहेको देखाउँछ । वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ७ दशमलव ३८ प्रतिशत र निक्षेप ब्याजदर ३ दशमलव ७४ प्रतिशत रहेको छ, जसले कर्जा सस्तो बन्दै गए पनि जोखिमको मनोविज्ञान अझै हटिनसकेको संकेत गर्छ ।
अर्थतन्त्रको चुनौती र बाटो
समग्र तथ्यांकले नेपालका बाह्य सूचक मजबुत दिशामा अघि बढिरहेको देखाए पनि आन्तरिक माग, निजी लगानी र उत्पादनमा अपेक्षित गति आउन बाँकी छ । रेमिट्यान्स र विदेशी विनिमय सञ्चितिले अर्थतन्त्रलाई स्थिर आधार दिएको छ, तर दीर्घकालीन समृद्धिका लागि यी स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानीमा रूपान्तरण गर्न चुनौती बनेको छ ।






