एमाले महाधिवेशन : मतदान ४ बजेपछि, मतदान गर्न ४० मिनेट लाग्ने, नतिजा बुधबार मात्रै आउने

काठमाडौं । नेकपा (एमाले) को जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको परिणाम आउन ढिलाइ हुने भएको छ । मंगलबार बिहानका लागि तय गरिएको मतदान कार्यक्रम प्राविधिक कारणले पछि धकेलिएसँगै अन्तिम नतिजा बुधबार मात्रै सार्वजनिक हुने देखिएको हो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने भनिएको थियो । तर, विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण व्यवस्थित गर्न समय लागेकाले मतदान प्रक्रिया अपरान्ह ४ बजेपछि मात्र सुरु हुने भएको छ ।

एमाले महाधिवेशनमा विद्युतीय मतदानको जिम्मा पाएको ‘रामलक्ष्मण इनोभेसन प्रालि’ का अनुसार निर्वाचन आयोगबाट उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त गर्न ढिलाइ भएको थियो । सोमबार राति १ बजे मात्रै उम्मेदवारको अन्तिम सूची प्राप्त भएको र उक्त विवरणअनुसार मेसिनमा फोटो तथा तथ्यांक कोडिङ गर्ने काम भइरहेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए । उनका अनुसार सबै विवरण मेसिनमा प्रविष्ट (इन्ट्री) गर्न मंगलबार अपरान्ह ४ बज्नेछ ।

यसपटकको महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिँदै छ । महाधिवेशनमा देशभरबाट आएका भूगोल, गैरभूगोल, आयोजक, विभाग तथा मनोनीत गरी कुल २ हजार २ सय ६२ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन् ।

प्राविधिक पक्षका अनुसार एकजना मतदातालाई पूर्ण रूपमा मतदान गर्न कम्तीमा ३५ देखि ४० मिनेटको समय लाग्ने अनुमान छ । मतदान नै लम्बिने भएपछि एमालेको नयाँ नेतृत्वको औपचारिक नतिजा बुधबार दिउँसोपछि मात्रै आउने नेताहरूले बताएका छन् ।

आयो उम्मेदवारको अन्तिम नामावली
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको अन्तिम चरणमा प्रवेश गरेको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि अन्ततः अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच सीधा प्रतिस्पर्धा हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावली अनुसार, दुवै नेता आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसले महाधिवेशनको रौनकलाई थप तताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२