विद्यालय एउटै, पढाउन एक ठाउँबाट अर्काे ठाउँ जान १५ मिनेट हिँड्नुपर्ने बाध्यता

बझाङ । थलारा गाउँपालिका–२ मा पर्ने शारदा मावि यस वडाभरिको सबैभन्दा ठूलो र विद्यार्थी संख्या पनि राम्रो भएको विद्यालय हो । तर, यस विद्यालयको भौतिक र आर्थिक अवस्था कन्तबिजोग रहेको छ ।

झन्डै ५ सय विद्यार्थी संख्या रहेको यस विद्यालयको भौतिक संरचना एकैठाउँमा नभएर अलगअलग दुई ठाउँमा निर्माण गरिएको छ । एउटा भवनबाट अर्को भवनसम्म विद्यार्थीलाई अध्यापन गराउन जान झन्डै १५ मिनेट समय लाग्छ । विद्यालयको नाम एउटै भए पनि विद्यालय भने दुई ठाउँबाट सञ्चालन हुने गरेको छ ।

शिशु कक्षादेखि ६ कक्षासम्म बासगडामा रहेको भवनबाट पठनपाठन हुने गरेको छ भने ७ देखि १२ कक्षासम्म सिमलचौकमा रहेका भौतिक संरचनाबाट पठनपाठन सञ्चालन भइरहेको छ । यस विद्यालयमा रहेका भौतिक संरचनाको अवस्था निकै नाजुक र कमजोर रहेका कारण अलग अलग भवनमा राखेर अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ ।

यो बाध्यात्मक परिस्थिति अहिलेको नभई १५ वर्ष पहिलादेखिको भएको यहाँ अध्ययनरत विद्यार्थीको भनाइ छ । एउटा कक्षाबाट अर्को कक्षा कोठामा पुग्नका लागि १५ मिनेट थप समय छुट्याउनुपर्ने बाध्यता रहेको शारदा माविमा अध्ययनरत छात्र लोकराज जोशीले बताए । उनले भने, ‘यो समस्याको सिकार मजस्ता विद्यार्थी मात्रै नभएर शिक्षकहरू पनि हुने गरेका छन् अझै विद्यार्थीभन्दा बढी समस्या शिक्षकले खेप्नुपरेको छ ।’

एउटा कक्षाकोठामा अध्यापन गराइसकेपछि अर्को कक्षाकोठामा जानका लागि १५ मिनेट पैदल यात्रा गर्नुपर्छ । यस विद्यालयमा शिक्षक शिक्षिकाको जनशक्ति पनि पर्याप्त मात्रामा छैन । शिशु कक्षादेखि १२ कक्षासम्म सबै शिक्षकले अध्यापन गराउनुपर्ने हुन्छ ।

शिक्षक शेरबहादुर खातीले भने, ‘यो समस्या हामीहरूका लागि दैनिकी बनेको छ, एउटै ठाउँमा सबै भौतिक संरचना नभएका कारण यसरी विद्यार्थीलाई अलगअलग राखेर अध्यापन गराउनुपरेको हो, विद्यालयको नाम मात्रै एउटै हो ।’

अचम्म के छ भने बाहिरबाट विद्यालयमा पुग्ने व्यक्ति कोही पनि यसलाई एउटै विद्यालय मान्न सहजै तयार हुँदैनन् । एउटा कक्षाकोठामा अध्यापन गरिसकेपछि हस्याङफस्याङ गर्दै दगुर्दै अर्को कक्षाकोठामा जानुपर्ने यहाँ अध्यापन गराउने शिक्षकहरू बताउँछन् ।

यो समस्या आजभन्दा १५ वर्षअघि २०६६ सालदेखिको भएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । २०१९ सालमा स्थापना गरिएको यो विद्यालयमा २०६६ सालभन्दा अघि बासगडामा सबै विद्यार्थीलाई एकैठाउँमा अध्यापन गराउने गरिएको थियो । २०६६ सालमा लगातार परेको मूसलधारे वर्षाका कारण विद्यालयको मुनिपट्टिबाट पहिरो गएपछि विद्यालयका भवन भत्किँदा यो समस्या आएको हो ।

यस विद्यालयमा अहिले ६ कोठे पक्की भवन निर्माण गर्ने हो भने समस्याको समाधान क्षणभरमै समाधान हुने देखिन्छ । यस विद्यालयमा वर्षाैंपहिला निर्माण गरिएका दुई–दुईकोठे चारवटा भवन अलपत्र अवस्थामा रहेका छन् ।

यी पुराना भवन अहिले प्रयोगविहीन अवस्थामा छन् । यदि, यी भवन भत्काएर तीन–तीनकोठे पक्की भवन निर्माण गर्न सकेको खण्डमा शिक्षक र विद्यार्थी कसैले पनि सास्ती खेप्नु नपर्ने प्रधानाध्यापक कर्णबहादुर खातीले बताए । उनले भने, ‘यो समस्याका ’boutमा हामीहरूले पटकपटक गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारसँग अनुनय विनय गर्दै आएका छौं, अहिलेसम्म कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।’

आफूहरूको प्रदेश सरकारसँग वा संघीय सरकार कहीँ कसैसँग पनि पहुँच नभएका कारण १५ वर्ष बितिसक्दा पनि विद्यालयको समस्या जस्ताको तस्तै रहेको बताए ।

विद्यालयको प्रांगणसम्म पहिरो लागेको छ । प्रांगणको मुनिपट्टिबाट पहिरो गएको ठाउँमा तटबन्ध लगाएर ६ कोठे पक्की भवन निर्माण गर्न सकेको खण्डमा समस्याको समाधान हुने उनले बताए । ‘अहिले एक ठाउँबाट अर्को विद्यार्थी भएको ठाउँसम्म पुग्नै १५ मिनेट समय लाग्छ, विद्यार्थीलाई कसरी अध्यापन गराइरहनुपरेको छ भन्ने कुरा हामीहरूलाई र विद्यार्थीलाई मात्रै थाहा छ,’ शिक्षक मोहनबहादुर खड्काले भने ।

यस विद्यालयमा विद्यार्थीको संख्या ४ सय ७१ जना रहेको छ । वडा नम्बर २ का सबै जना विद्यार्थी यसै विद्यालयमा अध्ययन गर्न पुग्छन् । वडा नम्बर २ को काफल काँडा, थापागाउँ, बगाडा डाँडा, दंगाजी, डोरगाउँ, ऐडिबाडा, धमडा, बेरडी, तलगाउँ, भनाडा, खराल, तेडीमाडु, बेलतोला, काप्राबाट विद्यार्थी पुग्ने गरेका छन् ।

यस्तै वडा नम्बर १ का खराल, बेलतोला र तेडीमाडु गाउँबाट पनि विद्यार्थी यसै विद्यालयमा अध्ययन गर्न पुग्ने गरेका छन् ।

विद्यालयको नाम एउटै भए पनि विद्यार्थीको लाइन र हरेक क्रियाकलाप अलगअलग गर्नुपर्ने र विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दा पनि निकै समस्या हुने गरेको शिक्षक खड्काले बताए ।

यस विद्यालयमा उपयुक्त खेलमैदान पनि छैन । एउटै कक्षाकोठामा अध्यापन गराउनुपर्ने विद्यार्थीलाई भवन अभावका कारण अलग्गै अध्यापन गराउनुपर्ने समस्या छ । विद्यालयमा शौचालयसमेत छैन । पुरानो शौचालय भत्किने अवस्थामा छ । नयाँ शौचालय निर्माण गर्नसक्ने अवस्थामा पनि विद्यालय छैन । विद्यालयको आन्तरिक स्रोत केही पनि छैन ।

‘एक जना सहयोगीलाई मासिक १२ हजार रुपैयाँ दिएर राखेका छौं, उनलाई तलब खुवाउन पनि धौधौ परेको अवस्था छ,’ शिक्षक खड्काले भने । पहिरो र २०७८ सालमा गएको भूकम्पका कारण पुराना भवन काम नलाग्ने अवस्थामा पुगेका छन् । ती भवन त्यत्तिकै प्रयोगविहीन छन् । सरकारले रकमको व्यवस्था गर्नसकेको खण्डमा विद्यालयका भौतिक संरचना एकैठाउँमा निर्माण गर्न सकिने र यसबाट शिक्षकदेखि विद्यार्थीलाई ठूलो सहयोग पुग्ने शिक्षक खड्काले बताए ।

यी र यस्ता समस्याका कारण विद्यार्थी र शिक्षकलाई सामाजिक तथा मानसिक तनाव सिर्जना हुने गरेको शिक्षक अभिभावक संघका अध्यक्ष कालु खातीले बताए ।

यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम खड्काले विद्यालयको भौतिक संरचना निर्माणका लागि स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्म अनुनय विनय गर्दै आएको बताए । तर, अहिलेसम्म कुनै पनि निकायले चासो नदिएको उनको आरोप छ ।

विद्यालयमा गत वर्ष मात्रै चारकोठे भवन निर्माण भई प्रयोगमा आएको र अब पुराना भवनहरू भत्काएर एकैठाउँमा ६ कोठे २ भवन निर्माण गर्नसकेको खण्डमा सबै समस्याको समाधान हुने उनले बताए ।

यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफूहरूले पनि कार्यपालिकाको बैठकबाट र अन्य बैठकबाट पनि पटकपटक विद्यालयमा भौतिक संरचनाको माग गर्दै आएको बताए ।

थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले आफूहरूले प्रदेशमा नै पुगेर सरकारलाई पटकपटक यस विद्यालयको अवस्थाका रूपमा लिखित र मौखिक रूपमा जानकारी गराउँदै आएको बताए । तर, गाउँपालिकासँग निश्चित बजेट हुने भएकाले समस्या भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२