अभिनेत्री शिल्पा शेट्टीविरुद्ध प्रहरीद्वारा एफआईआर दर्ता

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी फेरि एक पटक समस्यामा फसेकी छिन् । प्रहरीले बेंगलुरुमा रहेको उनको रेस्टुरेन्ट ‘बास्टियन’ विरुद्ध एफआईआर दर्ता गरेको छ । यो रेस्टुरेन्ट सहरको सेन्ट माक्र्स रोडमा अवस्थित रहेको छ ।

यो प्रकरणमा उनलाई प्रहरीले बयानको लागि समेत बोलाएको छ । नायिका शिल्पाको रेस्टुरेन्ट भएकै कारण सहर सुनसान हुँदा पनि ढिलोसम्म खोल्ने र सो क्षेत्रमा विवाद बढाउने काम गरेपछि स्थानीयले उनी विरुद्ध दिएको, उजुरीको आधारमा सोधपुछ गर्नु पर्ने अवस्था आएको प्रहरीको कथन छ ।

प्रहरीका अनुसार रेस्टुरेन्ट दर्ता गर्दा खुला गर्ने अनुमति लिएको समय भन्दा बढी खुला गरेर राति अबेरसम्म पार्टी आयोजना गर्दै टोलवासीलाई दुख दिएको र शान्ति सुरक्षाको नियमहरू उल्लंघन गरेको आरोपमा एफआईआरमा उल्लेख छ ।

बेलुका ११ बजे बन्द गर्ने अनुमति लिएर सञ्चालन गरिएका यो रेस्टुरेन्ट ११ डिसेम्बर बिहानीपख १ः३० बजेसम्म खुला राखेर ठुलो स्वरमा गीत बजाउँदै पार्टी गरेपछि प्रहरीले नायिका शिल्पासँगै रेस्टुरेन्टको व्यवस्थापन र कर्मचारीहरू विरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । सो रेस्टुरेन्टमा मध्यरात पछि ग्राहकबिच झगडा भएको भिडियोहरू सामाजिक सञ्जालमा आएपछि एक्सन लिनु परेको पनि प्रहरीले जनाएको छ ।

भाइरल भिडियोमा देखिएका एक व्यक्ति व्यवसायी र पूर्व बिग बोस प्रतिस्पर्धी सत्य नायडू हुन् । उनले नायिका शिल्पाको रेस्टुरेन्ट भन्दै अरूलाई दुव्र्यवहारसहित विवाद गरेको भिडियोमा देख्न पाइन्छ । तर उनले भुक्तानीको क्रममा सामान्य वाद विवाद भए पनि झगडा नभएको प्रतिक्रिया दिएका छन् ।

अभिनेत्री शिल्पा शेट्टीले यसलाई आन्तरिक समस्या भएको बताएकी छिन् । उनलाई यस अघि यस्तो चेतावनी दिँदा अटेर गरेपछि एक्सन लिनु परेको एक प्रहरी वरिष्ठ अधिकारीले बताएका छन् । अब यो मुद्दा अदालतमा जाने पनि ती प्रहरी अधिकारीको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२