लस एन्जलस् । हलिउड चलचित्र निर्माता एवम् अभिनेता रोब रेनर र उनकी श्रीमती मिशेल रेनरलाई नेपाली समय अनुसार आइतबार बेलुका घरमा मृत भटिएको थियो । यी दुईको हत्या भएको अनुमानमा उनीहरूको छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
लस एन्जलस प्रहरी विभागले घटनामा हत्या भएको आशंका गर्दै यी दम्पत्तिको ३२ वर्षीय छोरा निक रेनरलाई पक्राउ गरेको छ । उनले आमाबाबुको हत्या गरेको आशंकामा हिरासतमा लिइएको प्रहरीले जनाएको छ । यो समाचारले संयुक्त राज्य अमेरिका र विश्वभर अहिले सनसनी मच्चाएको छ ।
रोब रेनर र उनकी श्रीमतीको शव आइतबार दिउँसो लस एन्जलसको ब्रेन्टवुड क्षेत्रमा रहेको रेनर परिवारको घरबाट बरामद भएको थियो । सुरुमा, प्रहरीले घटनालाई हत्याको रूपमा अनुसन्धान गर्न थाल्यो, यद्यपि त्यतिबेला कुनै पनि संदिग्ध व्यक्तिको पहिचान हुन सकेन । पछि, परिवार र अनुसन्धानसँग नजिकका स्रोतहरूको आधारमा प्रहरीले छोरा निक रेनरमाथि नै शंका गरेको हो ।
प्रहरी रेकर्ड अनुसार, निक रेनरलाई आइतबार राति करिब ९ः३० बजे पक्राउ गरिएको थियो । प्रारम्भिक अनुसन्धानपछि सोमबार मात्र औपचारिक रूपमा हत्याको आरोप लगाइएको हो । लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले पत्रकार सम्मेलनमा यो घटनालाई अत्यन्तै दुखद रुपमा बताए, यसले परिवारलाई मात्र नभई सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको भनाई उनल राखे ।
प्रहरी प्रमुख जिमले भने, ‘हाल, निक रेनरलाई आधिकारिक रूपमा आरोप लगाइएको छैन, तर अनुसन्धानकर्ताहरूले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा हस्तान्तरण गर्ने तयारी गरिरहेका छन् ।’ निकको जमानत सुरुमा ४४ मिलियन अमेरिकी डलर तोकिएको भए पनि पछि खारेज गरेर उनलाई लस एन्जलसको ट्विन टावर्स सुधार केन्द्रमा जमानत बिना राखिएको पनि प्रहरी प्रमुखले जनाएका छन् । किनकी निक रेनरले सार्वजनिक रूपमा लागूपदार्थको कुलतसँग संघर्ष गरिरहेको स्वीकारेका छन् ।
हलिउड निर्देशक तथा अभिनेता रोब रेनरले आफ्नो अघिल्लो श्रीमतीबाट सन्तान नभएपछि एक छोरी, ट्रेसी रेनरलाई पनि धर्मपुत्रीको रुपमा लिएका थिए । अघिल्लो पत्नीसँग सम्बन्ध बिच्छेद भएपछि उनले मिशेल रेनरसँग विवाह गरेका थिए । रोब र मिशेल रेनरका दुई छोरा निक र जेक रेनरसँगै छोरी रोमी रेनर छन् । निकले आफ्ना बुबा, रोब रेनरद्वारा निर्देशित २०१५ को चलचित्र ‘बीइङ चार्ली’को सह–लेखक भएर काम गरेका थिए । तर उनी त्यसपछि लागू पर्दाथको लतबाट बाहिर निक्लन सकेका थिएनन् ।
यो घटनापछि रेनर परिवार शोकमा छ । परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि उनीहरू यो अपूरणीय क्षतिबाट स्तब्ध छन् । यस्तो अवस्थामा यस घटनाको अनुसन्धानपछि आधिकारिक सबै विवरण आउन दिन पनि उनीहरुले अनुरोध गरेका छन् । निकले बुबा आमाको हत्या किन गरेको भन्दै अन्तराष्ट्रिय मिडियामा समाचार आउन थालेपछि उनीहरुले सत्य तथ्य घटना बाहिर आउँदासम्म पर्खिदिन विज्ञप्ति मार्फत अनुरोध गरेका हुन् ।






