काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतामा एक नम्बरमा रहेका नायब महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई नेपाल प्रहरीको २७औं महानिरीक्षक नियुक्त गरेको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनका ब्याची तीन अतिरिक्त महानिरीक्षक (एआईजी)ले मंगलबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश लिने भएकाले सरकारले ज्ञवालीलाई डीआईजीबाट सिधै प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।
प्रहरी नियमावली २०७२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नभएको खण्डमा डीआईजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूमुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ । सोही आधारमा सरकारले ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो । आईजीपीमा बढुवा भएका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहिरहेको अवस्थामा पाँच महिना मात्र नेतृत्वमा रहनेछन् ।
सेवा अवधि परिवर्तन नभएको अवस्थामा उनी आगामी २४ असारसम्म प्रहरी नेतृत्वमा रहनेछन् । नवनियुक्त महानिरीक्षक ज्ञवालीले २५ असार २०४७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । प्रहरी महानिरीक्षक खनाल २९ माघ २०४६ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनको नाम वैकल्पिक उम्मेदवारका रूपमा निस्किएको थियो ।
वैकल्पिकमा नाम निस्केकै कारण खनालभन्दा पाँच महिनापछि सेवा प्रवेश गर्न पाएकाले आईजीपी बन्न उनलाई भाग्यले जुराएको हो । त्यसबेला उनीसँगै तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय वैकल्पिक उम्मेदवारका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
ज्ञवाली महानिरीक्षक बनेसँगै ज्ञवाली अहिले वरिष्ठतामा पहिलो नम्बरका डीआईजी बनेका छन् । उपाध्याय भने डीआईजीको सूचीमा अलि पछाडि नै छन् । उनी डीआईजी बढुवाका बेला ९१ औं टोलीका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि परेका थिए, जसका कारण उपाध्याय महानिरीक्षकको दौडबाट टाढै थिए ।
तीन एआईजी र १८ डीआईजीको पनि अवकाश
प्रहरी महानिरीक्षक खनालसँगै एआईजीहरू पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले पनि मंगलबार राति १२ बजेपछि अनिवार्य अवकाश पाएका छन् । उनीहरूसँगै १८ प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले पनि अवकाश पाएका छन् । अवकाश पाउने डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति छन् ।
शान्ति सुरक्षा र कानुन कार्यान्वयन पहिलो काम
नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कानुन कार्यान्वयनमा दत्तचित्त भएर प्रहरी संगठनलाई अगाडि बढाउने बताएका छन् । गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा नै आफ्नो विशेष जोड रहने उनले बताए । आईजीपी बनेपछि संक्षिप्त कुरा गर्दै उनले भने, ‘गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम लागू गर्न कुनै कसर बाँकी रहने छैन,’ उनले भने । उनले समाजमा शान्ति सुरक्षा कायम गर्नु आफ्नो प्राथमिकताको विषय हुने बताए । उनले समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी संगठन हरतहरले लाग्दै आएको र आगामी दिनमा पनि लाग्नेमा जोड दिए ।
२८ अंकको संयोग
२८ असोज २०२२ मा साविक वादीकोट गाविस–९, प्यूठानमा जन्मिएका ज्ञवालीसँग अंक २८ को विशेष सम्बन्ध देखिन्छ । २८ गते जन्मिएका उनको एसएसपीदेखि आईजीपीसम्मको बढुवा २८ गते नै हुनु रोचक संयोग नै मान्नुपर्छ । २८ असार २०७३ मा एसएसपीमा बढुवा भएका उनी २८ असोज २०७५ मा डीआईजी बनेका थिए । डीआईजीबाट सिधै आईजी बनेका उनलाई यो बेला पनि २८ गते नै सुखद क्षण बन्न पुग्यो ।