आगामी बजेटमा द्रव्ययज्ञ

द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञास्ठापरे
स्वाध्यायज्ञानयज्ञाश्च यतयः संशितव्रता : (गीता )
कसैले द्रव्ययज्ञ गर्छन्, कसैले तपस्यायज्ञ गर्छन् । कतिपयले योगरूपी यज्ञ र कसैले स्वाध्यायरूपी ज्ञानयज्ञ गर्छन् ।

यो छोटो लेख केही दिनभित्रै आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत हुन लागेको समय पारेर तयार पारिएको छ । शास्त्रीय सन्दर्भमा द्रव्ययज्ञको उद्देश्य परमात्माप्राप्ति या मोक्षका लागि निःस्वार्थभावले लोकसेवामा आफ्नो द्रव्य या धन खर्च गर्नु हो । यो लेखको सन्दर्भमा नेपाल सरकार यज्ञकर्ता र यज्ञ गर्नुको उद्देश्य नेपाली जनताको हित र कल्याण हो । यज्ञको अर्थ हो– देवताको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य । दान, धर्म र लोकोपकारका लागि गरिने कार्यलाई पनि यज्ञ भन्न सकिन्छ । सरकारका देवता जनता हुन् ।

द्रव्ययज्ञको अर्थ हो– यज्ञकर्ताले आफूसँग भएको द्रव्यलाई स्वार्थ, मोह, ममता, लोभ र आसक्तिबिना लोकसेवामा खर्च गर्नु । सरकारले गर्ने द्रव्ययज्ञमा जनतालाई आवश्यक पर्ने बाटोघाटो, सिँचाइ, खानेपानी, जलविद्युत्, कृषिविकास आदि पर्छन् । यसै गरी स्वास्थ्य, शिक्षा, आपूर्तिव्यवस्था, सञ्चार आदि जस्ता सेवामूलक क्षेत्रमा लगानी पनि सरकारले सम्पन्न गर्ने द्रव्ययज्ञ हो ।

व्यक्तिले गर्ने द्रव्ययज्ञमा निष्कामभावले आफूले न्यायपूर्वक आर्जन गरेको सम्पत्ति लोककल्याणमा खर्च गरिन्छ । यज्ञकर्ताले आफूले दान गरेबापत कुनै प्रशंसा, अभिनन्दन र प्रतिष्ठाको कामना गरेको हुँदैन । यस्तो यज्ञ सम्पूर्णतः निष्काम हुन्छ । सरकारी द्रव्ययज्ञको मूल उद्देश्य पनि लोककल्याण हो । व्यक्तिले आफ्नो परत्र सुधार्नका लागि निःस्वार्थ र निष्काम यज्ञ गर्दछ भने सरकारले गर्ने यज्ञको उद्देश्य परलोक सुधार नभई यसै लोकमा जनताको सेवा गरी यसै लोकमा यश र प्रतिष्ठा कमाउनु हो ।

सरकारी द्रव्ययज्ञमा सरकार (अमूर्त रूप) सकाम हुन्छ भने सरकारमा रहेका राजनीतिक, न्यायिक, प्रशासनिक, प्राविधिक, नियामक र सुरक्षा अधिकारीहरू (मूर्त रूप) निष्काम हुन्छन् । यस सन्दर्भमा सरकार सूक्ष्म रूपमा जनतासामु प्रकट हुन्छ । सरकारको सूक्ष्म या अमूर्त रूपलाई मूर्त आकार दिने काम राज्यको सर्वोच्च पदमा आसीन पदाधिकारीदेखि कार्यालय सहयोगीसम्मको हो । यसरी यस प्रसंगमा सरकार कारण हो भने सरकारी पदाधिकारी कार्य ।

संकटकालीन यज्ञको वेदीमा जीवनरक्षाका लागि भनेर छुट्याइएको द्रव्य कसैको स्वार्थी झोलीमा पुग्न नपाउने सम्यक प्रबन्ध मिलाऔं ।

सरकारले माथिको श्लोकमा भने जस्तो तपयज्ञ, योगयज्ञ र ज्ञानयज्ञ गर्ने अधिकार राख्दैन । सरकारको काम भनेको आफूलाई प्राप्त द्रव्य कुनै भेदभावबिना लोक कल्याणमा खर्च गर्नु हो । सरकारको काम जनतालाई उपदेश र ज्ञान दिने होइन । सरकारको काम जनतालाई भौतिक र सामाजिक सुविधा दिने हो । यस्ता सेवाहरू पाएका जनता आफैं ज्ञान र योगमार्गमा लाग्दछन । आफ्ना न्यूनतम भौतिक आवश्यकताका लागि रातदिन चिन्तित व्यक्ति कसरी ज्ञानी हुन सक्छ ? सरकारका उच्च अधिकारीहरू निःस्वार्थ र निष्पक्ष कर्मी हुनसके भने मात्र यज्ञ सफल हुन्छ । जसरी एउटा द्रव्ययज्ञ गर्ने व्यक्तिको परम ल।य परमात्मा प्राप्ति हुन्छ ।

राज्यको धन कुनै हिनामिना नगरी लोकहित, जनसेवा र सार्वजनिक निर्माणमा खर्च गर्न सकियो भने सरकारको द्रव्ययज्ञ सफल भएको मान्न सकिन्छ । सरकारका परमात्मा जनता हुन् । सरकारले प्राप्त गर्ने भनेको जनताको खुसी र सन्तुष्टि हो । जनताको सन्तुष्टि भनेको वास्तविक रूपमा सर्वसाधारण जनताको सन्तुष्टि हो । सरकारको द्रव्ययज्ञसम्म पहुँच राख्ने या अन्य जनसाधारणले भन्दा ज्यादा यज्ञभाग पाउने व्यक्तिहरूको समूहको सन्तुष्टिलाई जनताको सन्तुष्टि भनेर व्याख्या गर्न मिल्दैन । जनता खुसी छन्, कोही दुःखी छैन, कोही परित्यक्त छैन र सबैले काम पाएका छन् भनेर कुनै सरकारी पदाधिकारीले गरेको घोषणा समृद्धि र जनताको सुखको मापदण्ड हुँदैन । तथ्यले प्रमाणित नगरेको घोषणा फगत आत्मरति मात्र हो । उच्च पदमा आसीन व्यक्तिले बारम्बार भावनामा बहकिएर दिने बयान र आत्मश्लाघाले गर्दा सत्य र असत्य बराबर हुन पुग्छ । सफलता पनि असफलता प्रतीत हुन सक्छ ।

सरकारको द्रव्ययज्ञ कस्तो छ भन्ने कुरालाई बाटोघाटो, नहर, कुलो, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारीको अवस्थाले मूर्त रूप दिन्छ । यसैको माध्यमबाट समृद्धि प्राप्त हुन्छ र जनता सुखी हुन्छन् । जनता सुखी हुनु भनेको नै सरकारको यज्ञ सफल हुनु हो र परमात्माप्राप्ति हो । जबसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर हुँदैन, जबसम्म नेपालका राजनीतिक नेतागण र उच्च पदस्थ अधिकारीहरू सरहको स्वास्थ्य सुविधामा सबै जनताको पहुँच सुनिश्चित हुँदैन, जबसम्म देशका समग्र जनताले आफ्नै मातृभूमिमा बसेर काम गरेर खाने वातावरण बन्दैन, तबसम्म सरकारलाई मक्ख पर्ने नैतिक अधिकार छैन ।

यो बेहोरा उल्लेख गरेर वर्तमान सरकारलाई दोषारोपण गर्न खोजिएको होइन । अपितु आधुनिक नेपालका हालसम्मका सबै सरकारहरू द्रव्ययज्ञमा सफल हुन नसकेको हुँदा सबैको दोष छ भन्न खोजिएको मात्र हो । यो सरकारमा काम गर्ने उत्साह छ । सरकार प्रमुखमा समृद्धिको हुटहुटी पनि छ । यसले केही न केही गरेको पनि छ । किन्तु द्रव्ययज्ञमा हवन गर्न भनेर छुट्याइएको केही चारु सरकारको आँखा छलेर कसैकसैले आफ्नो झोलामा खन्याएको आरोप पनि लागेको छ । यज्ञको पवित्र कामका लागि पर सारेको द्रव्यमा कसैको कलुषित लोलुपताको ग्रहण लागेको कुरा साँचो हो वा होइन भन्ने कुरा आगामी दिनमा प्रस्ट हुँदै जाला । तर, सरकारका हरेक कदमको आँखा चिम्लेर विरोध गर्नु र यो सरकारको पालामा जे जति भएको छ, त्यसको अति न्यून मूल्यांकन गर्नु सरकारका प्रति अन्याय हो । यसै गरी आफूले हासिल गरेको सफलता’bout ज्यादै अतिरञ्जित रूपमा प्रस्तुत हुनु पनि वर्तमान सरकारको ज्यादती हो । लोकतन्त्रमा सरकारले आफूले गरेका कामको विवरण प्रकाशमा ल्याउनु उसको हकभित्रको कुरा हो । किन्तु त्यसलाई अतिरञ्जित रूपमा प्रकाश पार्नु आफ्नै छवि धमिलो पार्नु हो ।

राज्यको धन लोकहित, जनसेवा र सार्वजनिक निर्माणमा लगाउन सकियो भने द्रव्ययज्ञ सफल हुनेछ ।

नवजात शिशुलाई आमाबाबुले पालनपोषण गर्छन् । पुत्रले मातापिताको सेवा गर्छ । त्यसै गरी लोकसेवा सरकारको कर्तव्य हो । आफ्ना वृद्ध आमाबाबुलाई सेवा गर्ने पुत्रले आफ्नो स्वाभाविक कर्तव्यको पालन गर्ने हुँदा सोबापत उसलाई कुनै धर्म र प्रतिष्ठा प्राप्त हुँदैन । तर, आमाबाबुको राम्रो हेरचाह नगर्ने पुत्रले समाजमा बदनामी बेहोर्नुपर्छ । त्यसै गरी सरकारले आफूलाई चुनेर शक्तिमा पु-याउने जनतालाई सामान्य सेवा गर्दा प्रतिष्ठा र प्रशंसा प्राप्त हुँदैन । जुन सरकार आए पनि क्रमशः हुँदै जाने स्वाभाविक कार्यका लागि प्रशंसाको आशा गर्नु र त्यो प्राप्त हुन सकेन भनेर मन मलिन पार्नुको कुनै प्रयोजन छैन ।

समृद्ध देशका सामान्य कार्यसम्पादन गर्ने सैनिक, कर्मचारी, शिक्षक आदि कसैले पनि पारितोक्षिक र प्रशंसा पाएको थाहा पाइएको छैन । विशेष रूपमा ख्याति र प्रशंसा पाउन कार्यसम्पादन पनि विशेष हुनु आवश्यक छ । सरकारका उच्च पदमा आसीन अधिकारीहरू जनताको हकमा द्रव्ययज्ञ र आफ्नो व्यक्तिगत जीवनको हकमा कर्म र ज्ञानयज्ञमा तल्लीन हुनु आवश्यक छ । सरकारका उच्च पदस्थ व्यक्तिबाट जनताले उपदेशको होइन, कर्मको अपेक्षा गरेका हुन्छन । जतिसुकै अनिकालको समयमा पनि जनतालाई नयाँ बाली भिœयाउँदासम्म कुरेर बस भन्ने अधिकार सरकारलाई हुँदैन ।

शास्त्रीय द्रव्ययज्ञमा आसक्तिरहित भावले आफ्नो द्रव्यलाई लोकसेवामा लगाउनुको उद्देश्य परमात्मामा एकरस हुनु र मुक्ति पाउनु हो । व्यक्तिका बन्धन भनेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य आदि हुन् । सरकारी अधिकारीको सन्दर्भमा बन्धन भनेका लोभ, स्वार्थ, दलवाद, गुटवाद र मित्रवाद आदि हुन् । यो प्रवृत्तिको बन्धन झन्झन् प्रबल हुँदै गयो भने प्रकटमा जस्ता कुरा गरे तापनि आफ्नो चेतना र अन्तःकरणले कहिल्यै माफ दिनेछैन । द्रव्ययज्ञमार्फत सरकारले मुक्ति या परमात्मा प्राप्ति गर्नु भनेको समृद्धि हो । जनताको सुख र खुसी नै वास्तविक समृद्धि हो ।

आज समस्त संसार महासंकटमा छ । यस जगत्का ‘मै हुँ’ भन्ने सरकार र सरकारी पदाधिकारीहरू हायलकायल भएर आसन्न दुर्भाग्यको प्रतीक्षा गर्न वाध्य छन् । एक से एक वैज्ञानिकहरू विवश भएर समय बलवान रहेछ भन्दै समयकै मलम कुरेर बसेका छन् । यस्तो विषम परिस्थितिबाट नेपाल अछुतो रहन सक्ने सम्भावना छैन । सरकार अहिले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिनको पूर्वसन्ध्याको नजिक छ । हरेक दिन परिवर्तन भइरहने विश्व आर्थिक परिवेश, आन्तरिक कठिनाइ र घट्दो आम्दानीका कारण विद्वान् अर्थमन्त्रीलाई बजेट निर्माण गर्न अवश्य नै कठिन भइरहेको छ । सरकारलाई राम्ररी थाहा छ, आगामी बजेटको धेरै आलोचना हुनेछ । विपक्षी दल मात्र होइन, सत्तारूढ दलभित्रबाटै पनि बजेट’bout प्रचुर मात्रामा असन्तुष्ट स्वरहरू गुन्जिनेछन् ।

यी अवश्यम्भावी परिणामका बीच सरकारको प्रमुख प्राथमिकता वर्तमान संकटमा केन्द्रित हुनु आवश्यक छ । मानौं, एउटा सिकारी मृगको सिकार गर्न हिँडेको छ । सिकारीसँग सीमित गोली मात्र छ । किन्तु सिकारीको सामुन्ने अकस्मात् बाघको झुन्ड आइपुग्छ । यस्तो अवस्थामा पनि सिकारी पीठ फर्काएर पलायन गर्दैन । उसले आफूसँग भएको हतियारको समुचित व्यवस्थापन गर्छ । यस्तो अवस्थामा सिकारी आक्रामक नभई रक्षात्मक बन्छ । यस्तो बखत आएपछि उसको मूल उद्देश्य आफ्नो जीवनरक्षा हुन्छ । उसले आफूले सिकार गर्न चाहेका स्याल र मृग बिर्सन्छ । आज हाम्रो सरकारको अवस्था पनि त्यही सिकारीको जस्तै छ । यस्तो दुस्साध्य समयमा सरकार मुख्य रूपमा सावधान हुने भनेको जनताको जीवनरक्षाका लागि हो ।

अहिले सरकार पूर्णतः रक्षात्मक अवस्थामा बस्नुपर्छ । यो असामयिक र अव्यावहारिक सपना देख्ने समय होइन । समस्याहरू सतहभरि छताछुल्ल छन् । यो संकटको बखतमा गहिराइमा डुबुल्की लगाउन र आकाशमा उड्न सक्ने परिस्थिति छैन । अहिले उच्च उडानका सपनाहरू कपोलकल्पना मात्र साबित हुने निश्चित छ । बाँचियो भने बाटा बरु अलि पछि खनौंला । रेल नभएर आजै ज्यान जाने अवस्था छैन । बरु नयाँ विद्यालय नखोलौं । नयाँ मोटर नकिनौं । सार्वजनिक खर्च घटाऔं । बाटाघाटा विद्युत् सेवा आदि चालू हालतमा राखी बाँकी समग्र स्रोत संकट व्यवस्थापन र कृषिमा लगाऔं । राज्यसँग भएको सीमित स्रोतलाई दुरुपयोग हुन सक्ने अवस्थाबाट जोगाऔं । संकटकालीन यज्ञको वेदीमा होम गर्न अर्थात जीवनरक्षाका लागि भनेर छुट्याइएको द्रव्य कसैको स्वार्थी झोलीमा पुग्न नपाउने सम्यक प्रबन्ध मिलाऔं । यही नै वास्तविक र इमानदार द्रव्ययज्ञ हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग