काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले सत्ताच्युत गरेपछि अन्तर्राष्ट्रिय विवाद र विभाजनको अवस्था उत्पन्न गरेको छ । अमेरिकाले भेनेजुएलाको सैन्य अड्डामा भीषण आक्रमण गरेर वर्तमान राष्ट्रपतिलाई संगीन अभियोग लगाएर नियन्त्रणमा लिएको घटनालाई हेर्ने विश्व नजर विवादित देखिए पनि यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा भने प्रभाव पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछिको बहस
भेनेजुएलामा अमेरिकी हस्तक्षेपले विश्वका शक्तिशाली राष्ट्रहरूले यसको समर्थनदेखि कडा आलोचनासम्मको प्रतिक्रिया जनाएका छन् । यो घटनापछि भेनेजुएलाको आन्तरिक शासन व्यवस्था अस्थिर छ । नागरिक पनि विभाजित छन् भने प्रशासनिक संयन्त्रसमेत दबाबमा छ । ट्रम्प प्रशासनको उद्देश्य अमेरिकाद्वारा निर्दे शित संक्रमणकालीन शासन र अर्थतन्त्र पुनर्निर्माण देखिएको छ ।
मिसन ‘इन्धन’
मादुरोलाई सत्ताबाट हटाएर देशबाहिर लगिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । उनले पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको बताए ।
यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौंदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कंग्रे्रेसको स्वीकृति बिना गरिएको यो सैन्य कारबाहीको कानुनी वैधतामाथि कानुनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् । मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो ।
उनीहरूलाई ‘नार्को–आतंकवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । मादुरोलाई म्यानहट्टनस्थित अमेरिकी लागूऔषध नियन्त्रण प्रशासन (डीईए) कार्यालय लगिएपछि उनलाई हिरासतमा राखिएको छ । भेनेजुएलाकी उपराष्ट्रपति डल््सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेकी छिन् ।
भेनेजुएलाको कानुनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा राखिन् । ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागूऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण संक्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताए ।
देशभित्र विरोधका स्वर
मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो । ‘सबै जना डराएका छन्, धेरै परिवार सुत्न सकेनन्,’ काराकासका बासिन्दा नोरिस प्रादालाई उद्धृत गर्दे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसन’bout छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । अमेरिकी कंग्रेसका दुवै दलका केही सांसदहरूले कंग्रेसको स्वीकृतिबिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानुनी आधार र क्षेत्रीय स्थिरता’bout स्पष्ट जवाफ माग गरेका छन् ।
ब्राजिलले सैन्य आक्रमणलाई ‘अस्वीकार्य सीमा उल्लंघन’ र भेनेजुएलाको सार्वभौम अधिकारको खण्डन भनेको छ । उसले संयुक्त राष्ट्र सुरक्षा परिषद् बैठक बोलाउन आग्रह गरेको छ । संयुक्त राष्ट्र संघका प्रमुखले गहिरो चिन्ता व्यक्त गर्दै यस किसिमको एकातर्फी सैन्य हस्तक्षेपले अन्तर्राष्ट्रिय नियम र शान्ति प्रक्रियामाथि खतरनाक सन्देश पठाउने चेतावनी दिएका छन् ।
चीन र रुसले यसलाई कडा रूपमा निन्दा गरेको छ र भेनेजुएलाको सार्वभौमिकता रक्षा गर्न तथा विदेशी हस्तक्षेपविरुद्ध बहुपक्षीय समाधान खोज्न जोड दिएका छन् । चीनको विदेश मन्त्रालयले भेनेजुएलामाथिको आक्रमण र धरपकडको निन्दा गरेको छ । क्यानडालगायतका पश्चिमी देशहरूले भने यो घटनालाई लिएर ‘समर्थन न आलोचना’को नीति लिएका छन् ।
नेपाल भारतलगायतका देशका वामपन्थी दलहरूले यसलाई ‘साम्राज्यवादी आक्रमण’ र ‘मुनरो डक्ट्रिन’को पुनरावृत्ति भन्दै कडा निन्दा गरे पनि ती देशहरूले भने औपचारिक रूपमा प्रतिक्रिया दिइसकेका छैनन् । मध्य एवं दक्षिण अमेरिकी नेतृत्व भने शान्तिपूर्ण राजनीतिक समाधान र वार्तालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
अब के होला ?
भेनेजुएलाको भावी सम्भावित राजनीतिक परिदृश्यका ’bout पनि अनुमानहरू हुन थालेका छन् । अमेरिकी नियन्त्रणमा संक्रमणकालीन शासन सुरु हुने विषयलाई सबैभन्दा सम्भावित विकल्पका रूपमा लिएका छन् । अर्को विकल्पका रूपमा अमेरिकाको समर्थनमा संक्रमणकालीन सरकार गठन गर्ने मादुरो पक्षका शीर्ष नेताहरू हटाउने र उनीहरूलाई मुद्दा लगाउनेसम्मको अमेरिकी तयारी छ ।
धेरैले अब अन्तर्राष्ट्रिय संस्थाको निगरानीमा चुनावको मिति घोषणा हुनसक्ने विकल्पका विषयमा पनि चर्चा गरिरहेका छन् । भेनेजुएला समर्थित देशले भने मादुरो समर्थक सेना र जनमिलिसियामार्फत अमेरिकी कदमको सशस्त्र प्रतिरोध गराउने गृहकार्य पनि गरिरहेको बताइएको छ ।






