खोटाङ । खोटाङमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अति संङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास रहेको पुष्टि भएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामेरा ट्र्याप गर्दा कालो सालकको बसोबास रहेको प्रमाणित गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडानम्वर–१२ जालपा र वडानम्वर–११ खार्मी तथा रावाबेँसी गाउँपालिकाको वडानम्वर–६ हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामेरा ट्र्याप प्रविधिमार्फत सर्वेक्षण गर्दा कालो सालकको बसोबास रहेको पुष्टि भएको जनाइएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसोबास रहेको अभिलेखीकरण गरिएको छ ।
एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिकासंङ्कट नजिकका र दश प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्वीर कैद गरिएको छ । कालो सालक फेला पर्नुलाई यस क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका कार्यकारी निर्देशक जीवन राईले बताए ।
अध्ययनका क्रममा अति सङ्कटापन्न अवस्थाका कालो सालकसहित संवेदनशील अवस्थाका चितुवा, थार र ध्वाँसे चितुवा, सङ्कट नजिक पुगेको आसामी बाँदर र घोरल तथा कम चासोका रतुवा मृग, गँगटे न्याउरीमुसा, ढेंडु, सानो सुँगुरे भालु, ठूलो निरबिरालो, चरी बाघ, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रोको बसोबास रहेको प्रमाणित भएको जनाइएको छ । स्थानीय वन्यजन्तुको अवस्था पहिचान र अभिलेख राख्दै यस क्षेत्रको जैविक विविधताको महत्वलाई उजागर गर्नका लागि क्यामेरा ट्र्यापिङ गरिएको कार्यकारी निर्देशक राईले जानकारी दिए ।
सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्यजन्तुको अनुगमन र संरक्षणका लागि आफैले क्यामेरा ट्र्यापिङ गर्ने क्षमता अभिवृद्धि गराउन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढीको जालपा, खार्मी र रावाबेँसी गाउँपालिको हौँचुरका विभिन्न सामुदायिक वनहरूमा १३ वटा क्यामेरा ट्र्यापिङ गरिएको थियो । एनसीएससीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा सालक संरक्षण तथा क्यामेरा ट्र्याप गरिएको नतिजा गत शनिबार जालपामा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरेको हो ।
कार्यक्रममा सहभागी वक्ताहरुले जिल्लामा चोरीशिकारीको बिगबिगी बढेकाले लोपोन्मुख जीवजन्तुको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जिल्लामा हुने चोरीशिकार नियन्त्रण गर्नका लागि सम्बन्धित निकायले कडाइका साथ कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।






