भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुरलाई सफा, सुन्दर र स्वच्छ नगरको रुपमा विकास गर्न नागरिकहरुमा नागरिक भावनाको विकास गर्नुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभाको बिहीबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
भक्तपुरलाई स्वच्छ नगर बनाउन नगरका सडक, गल्ली र चोकहरु सबै सफा राख्नुपर्छ भन्दै उनले भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषण फाल्ने उद्योगहरुलाई पायक पर्ने ठाउँमा स्थानान्तरण गर्न पहल गर्नुपर्ने उनको भनाई छ ।
भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणसँगसँगै पर्यटन उद्योगको विकासमा पनि जोड दिनुपर्ने बताउँदै उनले भक्तपुरको विकास निर्माणको काम उपभोक्ता मोडलबाटै अगाडि बढाउनु उपयुक्त हुने बताए ।
जनताको समस्या सम्बोधन गरी देको मिवा आवास योजनालाई छिटै सम्पन्न गर्नेतर्फ नगरपालिकाले अगाडि बढ्न मार्गनिर्देश गर्दै उनले विद्यालय र विश्वविद्यालयहरुलाई उत्पादन श्रमसँग जोड्नु आवश्यक रहेको बताए ।

अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण निन्दनीय रहेको बताउँदै सुवालले अमेरिकाले भेनेजुयलामाथि गरेको साम्राज्यवादी आक्रमणले युन चाटर्ड र अन्तर्राष्ट्रिय कानुन समेत उल्लंघन भएको बताए ।
नयाँ पुस्तालाई नयाँ विचार, सूचना र प्रविधिसँग जोड्दै लानुपर्ने बताउँदै उनले विद्यालयमा पाठ्यक्रमअनुसार विद्यालय शिक्षकको बन्दोबस्त गर्नुपर्ने, समय समयमा खाद्य अनुगमन गर्नुपर्ने, सांस्कृतिक नगर बनाउन प्रयास जारी राख्नुपर्ने, सडकहरुमा हरियाली कायम गर्नुपर्ने, युवाहरुलाई कुलतबाट टाढा राख्नुपर्ने र नयाँ पुस्तालाई खेलकुद, संगित, वाद्यवादन, नृत्य, चित्रकलालगायत अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउनुपर्ने बताए ।
नगरसभा उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८२/८३ मा पारित बजेटको आधारमा साउनदेखि पौष २० गतेसम्म भएका कार्यहरुलाई संक्षेपमा प्रस्तुत गरे । उनले ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको यस भक्तपुर नगरपालिकाको नेतृत्वमा बसेर काम गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै जनताको बलियो साथ र सहयोगविना भक्तपुरको यो स्तरको विकास सम्भव नभएको बताए ।
उनले स्थानीय तहहरु अधिकारसम्पन्न र स्वायत्त भएमात्रै जनताका आवश्यकताहरु छिटो–छरितो पूरा गर्न सकिन्छ भन्ने मान्यताअनुसार भक्तपुर नगरपालिकाले पूर्ण स्वायत्तताको अभ्यास गरिरहेको बताउँदै स्थानीय तहहरुलाई अधिकारसम्पन्न बनाउन समय–समयमा सरकारको ध्यानाकर्षण गरिरहेको बताए ।

भक्तपुरलाई पारदर्शी, भ्रष्टाचारमुक्त र सम्पदा संरक्षित तथा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न कटिबद्ध भएर लागिरहेको बताउँदै उनले जनप्रतिनिधि, स्थानीय जनता र राजनैतिक कार्यकर्ताहरुको एकमनको एकतालाई अझ बलियो बनाउनुपर्ने आवश्यकता महसुस भएको बताए ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक समृद्धि र आधुनिक विकासले भक्तपुरको विकास ‘एकादेशको कथा’ जस्तै बनेकोे छ भन्दै पुराना सम्पदा र नयाँ विकासका प्रयासहरुले आजको भक्तपुर निर्माण भएको बताए ।
त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई नमुना नगरको रुपमा अघि बढाउन योगदान पु¥याउनुहुने सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्दै जनताको निःस्वार्थपूर्वक सेवा गर्ने अठोटका साथ भक्तपुरका जनप्रतिनिधिहरु अगाडि बढिरहेको बताइन् ।
भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भक्तपुर नगरपालिकाले प्रगतिउन्मुख काम गरिरहेको बताउँदै देशकै सानो नगरपालिका भएर पनि देशलाई दिशानिर्देश गर्ने उदाहरणीय काम भक्तपुर नगरपालिकाले गरेको बताए ।
कार्यक्रममा ख्वप अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल अस्पतालका सेवा र प्रगतिहरु’bout र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कलेजबाट प्रवाहित सेवा सुविधा’bout अवगत गराए ।







