काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका २ हजार विषय र उजुरीमाथि विस्तृत अनुसन्धान थालिएको जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले हाल आयोगले भ्रष्टाचारका २ हजार विषयमाथि अनुसन्धान अधिकृतहरू नै तोकेर विस्तृत अनुसन्धान जारी राखिएको जानकारी दिए । २ हजार विषयमाथि छानबिन गरिरहँदा हजारांै व्यक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आयोगको निगरानीमा रहेको बताइएको छ ।
प्रमुख आयुक्त घिमिरेका अनुसार आयोगप्रति जनअपेक्षा बढेकाले उजुरी आउने क्रम पनि ह्वात्तै बढेको छ । घिमिरेले आयोगमा बर्सेनि ३० हजार उजुरी पर्ने गरेको जानकारी दिए । गम्भीर प्रकृतिका उजुरीमाथि विस्तृत अनुसन्धान थालिने कानुनी प्रावधानअनुसार हाल अख्तियारले भ्रष्टाचारका २ हजार विषय र उजुरीमाथि एकैपटक छानबिन थालेको हो । आयोगका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै आयोगले २ सय ६९ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ । ‘२०७६ साउन १ गतेदेखि हालसम्म १ सय ६९ दिन कार्यसञ्चालन भएकामा सो अवधिमा २ सय ६९ वटा मुद्दा दायर गर्न सफल भएका छौं,’ प्रमुख आयुक्त घिमिरेले भने । घिमिरेका अनुसार सोही अवधिमा गरिएको १ सय ३५ स्टिङ अप्रेसनमा सयौं व्यक्ति पक्राउ परेका छन् ।
आयोगको २९ वर्षको अवधिमा गत वर्ष सबैभन्दा बढी ३ सय ५१ वटा भ्रष्टाचार मुद्दा दायर र १ सय ४७ वटा स्टिङ अप्रेसन गरिएको थियो । आयोग स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त घिमिरेले आयोगको मुद्दा सफलता दर ८८ प्रतिशतभन्दा बढी रहेको बताए । चालू आवको हालसम्मको मुद्दा दायर र स्टिङ अप्रेसनको दर हेर्दा यो वर्ष झनै उल्लेखनीय सफलता हासिल हुन सक्ने विश्लेषण आयोगले गरेको छ ।
घिमिरेले भ्रष्टाचारी उम्कन नपाओस् भन्ने उद्देश्यले आयोगले निरोधात्मक र प्रवर्धनात्मक रणनीतिमा जोड दिएको जानकारी दिए । हाल आयोगले देशभरमा विशेष निगरानी तथा दु्रत निगरानी टोली (¥यापिड एक्सन फोर्स) परिचालन गरी भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउने क्रम उच्च पारिएको जनाएको छ ।
प्रमुख आयुक्त घिमिरेले संवैधानिक दायित्वले मात्रै आयोगलाई निर्देशित गर्ने भएकाले आयोग कुनै आग्रह–पूर्वाग्रहबिना अघि बढिरहेको बताए । आयोगले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउन आवश्यक भूमिका खेलिरहेको जनाउँदै देशभरका रुग्ण ठेक्का सम्बन्धमा अध्ययन गरी सुधार्न निर्देशन दिएपछि सुधार भएको जनाएको छ । यसैगरी, आयोगले निर्धारित समयभित्र विकास निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई संवेदनशील बनाउँदै आएको छ । स्थानीय तहमा सुशासन कायम गराउनसमेत आयोगले आवश्यक पहलकदमी लिँदै आएको प्रस्ट पारेको छ ।
भ्रष्टाचारी राष्ट्रकै महाशत्रु : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका महाशत्रु भएकाले दुवै पक्षलाई कडा कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता आंैल्याएकी छन् । अख्तियारको २९आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नैतिकवान्, मर्यादित र सभ्य समाज निर्माणका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचारको स्वरूप र शैलीमा परिवर्तन हुँदै गएकाले वैज्ञानिक विधि र स्रोतसाधनको उच्चतम प्रयोगद्वारा नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । भण्डारीले भ्रष्टाचार नियन्त्रणमा आयोगले उल्लेखनीय भूमिका खेलिरहेको स्मरण गर्दै राज्यबाट प्रदान गर्ने सेवा–सुविधा जनताले सहजै प्राप्त गर्न एवं सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र संवद्र्धन गर्न आयोगको भूमिका अझै सशक्त हुने अपेक्षा गरिएको बताइन् । उनले भ्रष्टाचारमा संलग्न हुनेलाई निरुत्साहित गर्न आयोगले सफलता हासिल गर्दै जाने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएकाले ती पात्र र प्रवृत्तिलाई परास्त गरी राज्यले परिकल्पना गरेको ‘समृद्ध नेपाली सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्नुपर्ने बताइन् ।
जनताको सेवालाई मूल लक्ष्य बनाएका राष्ट्रसेवकले व्यक्तिगत स्वार्थबाट माथि उठी राष्ट्रहितलाई सर्वोपरी राखी कामा गर्नुपर्ने उनको भनाइ थियो । भ्रष्टाचारको बहुआयमिक दुश्चक्र न्यूनीकरण नगरिँदा सार्वजनिक सेवा दुरुह बन्ने र समृद्धिको मार्ग अवरुद्ध हुन सक्ने भन्दै राष्ट्रपति भण्डारीले चिन्तासमेत व्यक्त गरिन् ।
मिलभगतमा हुने भ्रष्टाचार रोकिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिकर्मी, कर्मचारीतन्त्र र व्यापारीको मिलिभगतमा हुने सबै प्रकारका भ्रष्टाचारको अन्त्य हुनुपर्ने आवश्यकता औंल्याएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९आंै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेता, कर्मचारी र व्यापारीले मिलेमतो गरी गर्ने भ्रष्टाचार खतरनाक हुने भएकाले त्यसको अन्त्य नभई देशले विकास र समृद्धि हासिल गर्नै नसक्ने बताए । प्रधानमन्त्री ओलीले उच्च तहका व्यक्तिले पहुँचको दुरुपयोग गरी गर्ने भ्रष्टाचार अन्त्य अहिलेको आवश्यकता भएको बताए ।
अधिकारप्राप्त अधिकारीदेखि समाजका सबै पक्षमा इमानको खाँचो रहेको बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारी प्रवृत्तिले सिंगो समाज र मुलुकको इमानमा गम्भीर चोट पु¥याउने जनाए । ‘भ्रष्टाचार रोकिन सकेन भने त्यसले विकास र समृद्धिमा गम्भीर अवरोध सिर्जना गर्छ त्यसैले हामी सबैले भ्रष्टाचार रोक्ने सामूहिक अठोट गर्नु अहिलेको आवश्यकता हो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अख्तियारले आगामी दिनमा नयाँ रणनीतिका साथ अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता आंैल्याए ।
ओलीले अहिले पनि सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति रहेकाले त्यस्तो प्रवृत्तिको पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताए ।
‘राज्य वा देशलाई घाटा पारेर आफूले नाफा लिने प्रवृत्तिबाट देश मुक्त हुनुपर्छ । यसो भएमा मात्रै विकासको गतिले तीव्रता लिन सक्छ,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले भ्रष्टाचारविरुद्धको अभियान जारी रहे पनि समाजमा भ्रष्टाचार घट्न नसक्नु दुःखद भएको बताउँदै नेपाली समाज स्वच्छ भएकाले भ्रष्टाचारका घटनाले थप चुनौती थपिदिएको जनाए । ओलीले समाजमा भ्रष्टाचारीले नै सबैभन्दा बढ्दा सदाचारी कुरा गर्ने गरेको बताउँदै उनीहरूलाई कसैले पनि काखी च्याप्न नहुने बताए । ‘समाजलाई स्वच्छ र भ्रष्टाचारमुक्त बनाउने विषयमा वैयक्तिक र सामूहिक स्वार्थ हेर्नुहुँदैन । ‘यो मेरो, यो तेरो’ भन्न थालियो भने भ्रष्टाचार रोकिँदैन, समाज थला पर्न सक्छ । त्यसकारण, हामीले भ्रष्टाचारको पक्ष लिनुहँुदैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले अख्तियारलगायतका संवैधानिक निकायमा सरकारको कुनै प्रकारको हस्तक्षेप नरहने भएकाले ती निकायले स्वतन्त्र र निर्भीकतापूर्वक काम गर्नुपर्ने बताए । संवैधानिक निकायमा सरकारले हस्तक्षेप ग¥यो भनेर हल्ला फिँजाइएको असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता हावादारी हल्लाले संवैधानिक निकाय, सरकार वा देश र जनता कसैको पनि हित नहुने स्पष्ट पारे । ‘म सरकारको कार्यकारी प्रमुखको हिसाबले भन्दै छु कि सरकार संवैधानिक निकायलाई स्वतन्त्र ढंगले काम गर्न दिन्छ, त्यसमा कुनै हस्तक्षेप गर्ने मनसाय नै राख्दैन,’ प्रधानमन्त्री ओली भने ।
प्रधानमन्त्री ओलीले विकास र समाज निर्माणको आकांक्षालाई खाने महारोग भ्रष्टाचार अन्त्य गर्न सामूहिक अभियान र प्रतिबद्धता आवश्यक रहेको बताए ।